जेष्ठ ४, २०८२ शनिबार

अव्यवस्थित पार्किङले कुरुप बिर्तामोड

बिर्तामोड । झापाको बिर्तामोडमा भद्रपुर रोड बनेपछि बिर्तामोडको रुप बदलिएला भन्ने आम बुझाई थियो । चारलेनको सडक र बिचमा फुलबारी हुँदा बिर्तामोडको सुन्दरता नबद्लिने कुरै भएन । सबैले बिर्तामोडको मुहार नै बदलिने अपेक्षा गरेका थिए । तर, रोड निर्माण पश्चातको अव्यवस्थित पार्किङले बिर्तामोड झनै कुरुप भएको बनिरहेको छ ।

भद्रपुर रोडमा दुई लेनलाई पार्किङले नै ढाकेको छ । बैंक तथा वित्तिय संस्था धेरै रहेको भद्रपुर रोडमा पार्किङ व्यवस्थापन नहुँदा चार लेनमध्येको दुई लेन प्रयोग विहीन बनेको छ । बिर्तामोडमा घरधनीहरुले घर भाडामा लगाए पनि त्यसको उपभोग गर्न आउनेहरुका लागि पार्किङ उपलब्ध गराएका छैनन् । ठुला बैंकका सवारी समेत रोडमा राखिएको देख्न पाइन्छ ।

झापाको ठुलो बजार बिर्तामोडको मुख्य समस्यामध्येको एउटा समस्या पार्किङ हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निमेश चापागाईले अलग्गै पार्किङ नहुँदा सडक मै पार्किङ गर्नुपर्ने अवस्था रहेको बताए । उनले सवारी धनीहरुले बाध्यता कै कारण सडक छेउमा पार्किङ गरेको बताएका छन् । चापागाईले भने, बिर्तामोडमा पार्किङका लागि छुट्टै व्यवस्था नभएकाले पार्किङमा समस्या भएको हो । पार्किङ गर्ने निश्चित ठाउँ छैन भन्दैमा अव्यवस्थित पार्किङ गर्ने छुट नभएको उनको भनाई छ । विशेष गरि बिर्तामोडमा कृषि थोक र भद्रपुर रोडमा पार्किङको समस्या छ, उनले भने – अव्यवस्थित पार्किङ गर्नेलाई सम्झाई बुझाई गरिरहेका छौं । अटेरी गर्नेलाई ५ सय देखि १५ सयसम्म जरिवाना गरिदैछ । झापा ट्राफिकले अव्यवस्थित पार्किङ गर्ने चारपाङ्ग्रेमा व्हील लक गर्दै आएको छ भने मोटरसाइकलको हेलमेट लगिरहेको छ । ‘हामी अव्यवस्थित पार्किङ गरेर राखिएको सवारीको फोटो खिचेर सवारी धनीलाई देखाइरहेका र्छौ’ उनले भने ।

बिर्तामोडको पार्किङका बारेमा मेयर धु्रव कुमार शिवाकोटीसँग समेत कुरा गरिरहेको चापागाईको भनाई छ । उहाँको कुरा सकारात्मक छ, म अलिदिन पछि सबै सरोकारवालालाई राखेर यस विषयमा जानकारी गराउँछु । चार महिनादेखि झापामा ट्राफिक कार्यालयको नेतृत्व गरिरहेका चापागाईले अहिलेसम्म व्यवस्थान किन गर्नुभएन भन्ने जिज्ञासामा भने, – लकडाउन र झरीका कारण काम गर्न समस्या भइरहेको छ । केहि दिनपछि पक्कै खुल्ला होला । त्यसपछि यो काममा लाग्नेछु । म विर्तामोडबाट विदा भएर जाँदा यो काम सकेर मात्रै जानेछु । ट्राफिक प्रमुख चापागाई यहाँ पार्किङको दीर्घकालिन समाधान गर्नुपर्ने बताउँछन् ।

बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नी पाण्डेले कृषि थोक बजारमा कम्प्लेक्स बनाएर पार्किङको समेत व्यवस्थापन मिलाउने जानकारी दिए । उनका अनुसार सो बजारलाई नगरको मातहतमा ल्याएर व्यापारिक मल बनाउने र त्यसको मुनीको भागमा पार्किङ गर्ने ठाउँ बनाउने योजना छ ।

प्रकाशित मिति : भाद्र २०, २०७८ आईतबार  ८ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]