आश्विन ६, २०७८ बुधबार

हरितालिका तीज : पहिले र अहिले

निरा गौतम

‘तीज आयो छमछमी नाची देउन,

आँगनीमा कम्मर भाँची देउन’

तीज नेपाली महिलाको महत्वपूणर् पर्व हो । विशेषगरी हिन्दू महिलाका माझ प्राचीनकालदेखि नै निकै लोकप्रिय रहेको तीज पर्व पछिल्लो समयमा सबै जाति र वर्गमा पनि प्रसिद्ध बनेको छ । सबै चेलीहरु जम्मा भएर सुखदुःख साटासाट गर्ने यो पर्व महिलाका लागि निकै रमाइलो चाड हो । पछिल्लो समयमा तीज आधुनिकतातर्फ गए पनि यसको मौलिक संस्कृति आफैँमा महत्वपूणर् छ । पछिल्लो समय कोरोना महामारीले तीजको रौनक केही कम भए पनि यसको महत्व भने घटेको छैन । हिन्दू धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । उनले शिवलिङ्गको स्थापना गरी पानी पनि नपिइकन लामो समय निराहार व्रत बसिन् । यसरी पार्वतीको कठोर व्रतका कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो ।

सोही तिथिदेखि हिन्दू नारीहरूले उत्सवका रूपमा मनाउन थालेको संस्कृतिविद् राजेन्द्र आचार्यले बताउनुभयो । उहाँका अनुसार संस्कृत शब्दको तृतीयाबाट बोलीचालीको भाषामा तीज हुन गएको हो । तीजलाई हरितालिका पनि भनिन्छ । ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी हुन्छ । भाद्र शुक्ल तृतीयाको दिन पार्वतीलाई विष्णुसँग निश्चय गरिएको विवाहबाट जोगाउन उनका साथीहरूले हरण गरेर लुकाएका कारण यस दिनलाई हरितालिका भनिएको हो । शिव पार्वतीको यसै दिन विवाह भएका कारण तीजलाई प्रणय दिवसका रूपमा लिइने संस्कृतिविद् आचार्यको भनाइ छ । हिन्दू कथामा आधारित तीज अहिले पर्वका रूपमा विकसित भएको छ । पार्वतीको सिको गर्दै आफूले रोजेको वा असल पति पाउन बिहे नभएका महिला व्रत बस्न थाले । आफ्ना पतिको दीर्घायुका लागि विवाहिता महिला व्रत बस्ने गर्छन् । तीजको सम्बन्ध माइती पक्ष र गीतसँग पनि गाँसिएको छ । तीजलाई सुखदुःख साट्ने, मीठो खाने, राम्रो लगाउने, माइती तथा आफन्तसँग जमघट गरी रमाइलो गर्ने पर्वका रुपमा लिने गरिएको बुटवल उपमहानगरपालिका-१३ जितगढीकी सिर्जना भुसालले बताउनुभयो । तीज नजिकिएसँगै माइती पक्षले आफ्ना चेली माइत बोलाउँछन् ।

माइती नहुनेका दिदीबहिनीलाई मावली र आफन्तले बोलाउने गर्छन् । चेलीबेटी बोलाउने र खुवाउने क्रम जनै पूणर्िमादेखि सुरु हुन्छ । नाचगानको क्रम भने साउने सङ्क्रान्तिबाटै सुरु हुन्छ । त्यसपछि नागरपञ्चमी, जनैपूणर्िमा, कृष्ण जन्माष्टमीमा पनि विशेष नाचगान गर्ने परम्परा छ । कृष्ण जन्माष्टमीको अघिल्लोे दिन पनि चेलीबेटीलाई माइती पक्ष तथा आफन्तले बोलाउने र दर खाने प्रचलन छ । विशेषगरी हरितालिका तीजमा चेलीबेटीको जमघट हुने गर्छ । पहिलेपहिले चेलीबेटी जम्मा भएर आफना पीर, ब्यथा, वेदनाहरु गीतको माध्यमबाट यसरी व्यक्त गर्ने गर्थे । ‘हाम्रा बाबाले दिएको दाइजो थाल र कचौरा झालेमाले गाई, कहिलेकाहीँ म माइत आउँदा हाँसेर बोले है कान्छा मेरा भाइ’ जन्मघर छोडेर माइतीमा जम्मा भएका चेलीले आफ्नो सुखदुःख गीतबाटै व्यक्त गर्ने रमाइलो पर्व हो, हरितालीका तीज । जन्मघर छाडेर कर्मघर जाँदाको अनुभव तथा माइतीप्रति गुनासा तथा अपेक्षा पनि गीतबाटै यसरी प्रस्तुत गरिन्थ्यो । ‘लाग्दैन नि आश मलाई एउटा सारी चोलीको, लाग्छ नि आश मलाई मीठो बोलीको । हुँदैन नि छोरीलाई माइतीले दिएर, आउनुपर्छ छोरीले भाग्य लिएर’ तीज गीतमार्फत अवस्था, परिवेश, सुखदुःख, स्वतन्त्रता, अधिकार र सशक्तीकरणका कुरा बाहिर ल्याउन पाउने अवसरसमेत हो । अरुबेला नजर जुधाएर हेर्न नसक्ने महिला पनि तीजमा सयौँको मासमा छमछम नाच्न सक्छन् ।

अन्य बेला विद्रोहको शब्द उच्चारण गर्न नसक्ने महिला तीजमा तिनै विरह, विद्रोह र दमनविरुद्धका आवाज गीत बनाएर उठाउन सक्छन् । अरु बेला सुनाउन नपाएका खुशी, सुख र आनन्दका उद्वेग पनि गीत बनाएर सुनाउँछन् । यसो गर्र्दा वर्ष दिनभरिको कामको बोझ, थकान र व्यथा मेटिएजस्तो लाग्ने महिला अहिले पनि समाजमा धेरै छन् । “अरुबेला माइत जान नपाउने परनिर्भर महिलालाई तीज महिलाको लागि माइतीसँग भेट गराउने स्वतन्त्रता, मनोरञ्जन र अधिकारको उपयोग गर्न पाउने ठूलो अवसर हो”, राजनीतिकर्मी सावित्रा अर्यालले भन्नुभयो, “तीज पनि महिला अधिकारको आन्दोलनको पाटो हो, मनका पीडाको गाँठो फुकाउँदै आफ्ना अधिकार माग्ने पर्व हो ।” पहिले तीजमा गाइने गीतले चेलीका भावाना र वेदनालाई समेटेका हुन्थे । माइतीप्रति चेलीको बिलौना र पीडालाई समेटेका हुन्थे । तीजका गीतले महिलामाथिको अन्याय र अत्याचारका पीडालाई यसरी समेटेका हुन्थे । ‘मखमली चोली मेरो मिसिनैले सिउनी बरीलै, सौतामाथि दियौ बाबा कति लेख्यौ जिउनी बरीलै’ अरु बेला आफ्नो कला र गला लुकाएका महिला तीजको अवसरमा कला र गला जुधाएर नाच्न र गाउन सक्ने यो महिला सशक्तीकरणको पर्व पनि हो । गाउँघरमा अहिले पनि यसैगरी तीज मनाइन्छ । एकअर्काको घरमा जम्मा भएर गीत गाउने र नाच्ने गरेर रमाइलो गरिन्छ । जन्मघर छाडेर कर्मघरमा गएकी चेलीका श्रीमान्, सासु, ससुरा र उनको व्यवहार कस्तो छ भन्ने कुरा गीतबाटै प्रस्ट हुन्थ्यो । कर्मघरमा चेलीमाथि भएको हिंसा र दमन गीतमा झल्किन्थ्यो ।

‘सासु मुख हेरौँ भने खुन खाएका बाघ झैँ, स्वामीमुख हेरौँ भने बोल्ने आगो झैँ रुखो बचन स्वामीज्यूको सधँै टेढा ससुरा, के गरेँ र आमा मैले त्यस्तो कसुर’ महिलालाई आफ्नो दुःख पोख्न, मीठो खान रमाउन तीज पर्व नै कुर्नुपर्ने बाध्यता भएकाले तीज चोखो मिठो खाने पर्वका रूपमा पनि प्रचलित छ । तर, त्यही तीजमा पनि माइत जान नपाउँदा चेलीहरुले यसरी दुःख पोख्थे । ‘तीजमा माइत नपठाउने कस्तो पर्‍यो घर पनि, नरोइनरोइ खाए आमा राति दर पनि सधँैभरि दुःखी आमा कहिल्यै भइन् हुनी म, बाँचे भेट हुम्ला आमा अर्को जुनीमा’ । त्यतिबेलाका महिलाले आफूमाथि भएको अन्यायको जहाँ पनि जतिबेला पनि विरोध गर्न सक्ने अवस्था थिएन । ती विरोध र अन्यायलाई तीजका समयमा गीत बनाएर सुनाउँथे । विस्तारै महिलाले दुःखसुखका मात्रै होइन, समय परिवर्तनका गीत गाउन थाले । देशको राजनीतिक अवस्था, छोरीलाई शिक्षा, सम्पत्तिमा अधिकार, दाइजो प्रथा, बालविवाह, बहुविवाह जस्ता विषयलाई पनि गीतमा समेट्न थाले । ‘एउटै बाउको सम्पत्तिमा दाजुभाइलाई चयन, त्यही धनमा छोरीलाई सिन्को छइन अवसर छैन, हक छैन नत माइत न घर, पराईको अधिनमा काटी कहर’ सबै चेलीहरु माइतीमा जम्मा भएर आफ्ना मनका पीर ब्यथा पोख्ने पर्वको रुपमा मानिएको हरितालीका तीज पछिल्लो समयमा भने परिवर्तन हुँदै गएको छ । महिलामाथिको हिंसा र दमनको स्वरुप बदलिएसँगै गीतका भाका र शब्द फेरिनु नौलो होइन तर बजारमा आएका केही गीत र कलाकारको प्रस्तुतिले तीजको मौलिकतालाई बिगारेको लेखक माया गौतमले बताउनुभयो ।

उहाँले भन्नुभयो, “व्यावसायिकताका नाममा संस्कृतिमाथि प्रहार गर्नु हँुदैन । महिला अधिकारको स्थापना, विभेदको विरोध, समानता, स्वतन्त्रताका लागि तीजका गीत गाइनुपर्छ ।” तीजका नाममा निकालिएका सोल्टी राजाको टुमलेटमा पानी, पानपाते ऐना लान्छु भन्ने मायाको बोलीको भर छैन, तोरी पेले तेलजस्ता धेरै गीतमा मौलिकता छैन । कतिपय कलाकारका गीतमा राखिएका शब्द अपाच्य भएपछि विवादित बन्न पुगेका छन् । तीज मनाउने नाममा महङ्गा गहना, कपडा प्रदर्शन गर्ने र रत्यौली पाराका गीतमा नाच्ने संस्कारले तीजको मौलिकता र महत्व घटाएको छ । समान विचार, भावना र स्तरका व्यक्तिले तीज मिलन कार्यक्रम राख्नु भेटघाट गर्नु र नाचगान गरेर रमाइलो गर्नु स्वभाविक हो । यसैले होला पछिल्लो समय महिला समूह, विद्यालय, सामाजिक सङ्घसस्था र विभिन्न कार्यालयले समेत तीज कार्यक्रम राख्न थालेका छन् । कामकाजी महिला जो तीजमा माइत जान पाउँदैनन्, उनीहरुका लागि भने यस्ता कार्यक्रम माइतीको झझल्को मेटाउने साधन हुन सक्छन् । यस्ता कार्यक्रममा गाइने गीत र पोशाकमा भने ध्यान दिन जरुरी रहेको लेखक गौतमको भनाइ छ । अहिलेका महिला पहिलेका जस्ता गीत जुराउने र गाउने अवस्थामा छैनन् ।

कलाकारले निकाल्ने गीतमै रमाउनुपर्ने अवस्था छ । तीजका अवसरमा बजारमा आएका गीत र अभिनय गर्ने अधिकांश कलाकारले भने तीजको वास्तविक अर्थ र महत्वलाई बिर्सिएको पाइन्छ । बजारमा आएका धेरै गीतमा तीजको मौलिकता पाइँदैन । तीज गीतलाई दोहोरी र उत्ताउलो रत्यौली शब्द र लयमा ढालिदिएका छन् । हरिदेवी कोइराला, विष्णु माझी, बिमाकुमारी दुरा, शर्मिला गुरुङजस्ता केही पुराना कलाकारले तीजका पुराना लयमा गीत निकाले पनि अधिकांश कलाकारले निकाल्ने गीत दोहोरी रेस्टुराँमा गाइने खालका छन् । कुन गीत तीजका हुन् र कुन दोहोरी हुन् भनेर छुट्यट्टाउन सकिँदैन । अधिकांश तीज गीतमा तीजको भाका र लय नै छैन, गीतमा परिवर्तन र चेतना छैन । तीजका शब्द महिला अधिकारलाई टेवा दिने खालका हुनुपर्ने अधिकारकर्मी रिमा बिसीले बताउनुभयो ।

महिला सशक्तीकरण तथा अधिकारका पक्षमा वकालत गर्ने महिलालाई सहयोगी बन्ने शब्द समेटेर गाइनुपर्छ । अहिले पनि हाम्रो समाजमा महिला हिंसा घटेको छैन । गीत चेतना प्रवाहको निकै ठूलो र सशक्त माध्यम भएकाले समाजमा हिंसा नियन्त्रणका लागि चेतना फैलाउने खालका शब्दलाई प्राथकिता दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “खाली दुःख र बिरहका भन्दा पनि समन्यायका गीत गाउनुपर्छ । राज्यलाई जवाफदेही बनाउने र अधिकारसँगै नागरिकका दायित्व पनि सँगसगै लैजाने खालका शब्द गीतमा समेटिनु पर्छ ।”

प्रतिक्रिया दिनुहोस्

इजलास डटकम

बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
दर्ता नम्बर : १६९६५४/७३/०७४
टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट