बैशाख ११, २०८१ मंगलबार

एउटै विधालयमा कुरानसँगै अन्य पाठ्यक्रम

बिर्तामोड । मुस्लिम समुदायको अगुवाईमा स्थापना गरिएको मदरसा तालिमुल कुरान प्राथमिक विधालयलाई प्रदशे १ कै नमूना विधालय बनाइने भएको छ । बिर्तामोड–३ बिर्ताबजारमा रहेको विधालयलाई प्रदेशको नमूना विधालय बनाउन आवश्यक भौतिक संरचना निर्माण गर्दै पठनपाठनको योजना अघि बढाइएको छ ।

सो विधालयको नयाँ भवन निर्माणका लागि जग्गा खरिद प्रक्रियालाई अघि बढाएको विधालयका अध्यक्ष अफरोज खानले जानकारी दिए । उनका अनुसार बिर्तामोड–३ को समावेशी टोलमा ८ कठ्ठा जग्गा बहिना गरिएको छ । जग्गा खरिद् र विधालयको भवन निर्माणका लागि आवश्यक सहयोग संकलनको काम भइरहेको खानले बताए । २५ लाख रुपैयाँ कठ्ठाको जग्गामा व्यवस्थित विधालयको संरचना बनाउन सरकारसँग सहयोग माग गरिने छ ।

जग्गा खरिद र भवन निर्माण लागि बिर्तामोडका मुस्लिम समुदायबाटै ५२ लाख संकलन भइसकेको छ भने गैर मुस्लिम समुदायबाट समेत सहयोग जुट्ने क्रम जारी छ । कैलाश प्रसाईले १५ लाख बराबरको जग्गा, पर्वत कार्कीबाट १ लाख २५ हजार, महेन्द्र गिरीबाट ५१ हजार र रामचन्द्र मैनाली, अविरल कृष्ण खरेल, किशोर भट्टराई, युवराज गौतम, एकराज विष्टले ३१-३१ हजार सहयोग गरिसकेका छन् । सो विधालय सञ्चालनका लागि बिर्तामोड नगरपालिकाले वार्षिक ६ लाख अनुदान दिदैं आएको छ ।

हाल विधालयमा १३७ जना मुस्लिम समुदायका विधार्थी अध्ययनरत छन् । उनीहरु कुरानसहित अन्य विषयहरु अध्ययन गर्दै आएका छन् । गरिव विपन्न परिवारका विधार्थी अध्ययनरत विधालयलाई थप व्यवस्थित बनाइने भएको छ ।
अन्य सामुदायिक विधालय सरह सबै विषय पठनपाठन भइरहेको छ, अध्यक्ष खानले भने – अतिरिक्त विषय भनेकै कुरान हो । मुस्लिम समुदायका बालबालिकाले बिहान मस्जिदमा कुरान पढेर दिउँसो अन्यत्रै विधालय जानुपर्ने बाध्यता हटेको छ । एउटै विधालयमा मुस्लिम बालबालिकाले कुरान र नेपाल सरकारका पाठ्यक्रम पढ्न पाउनेछन् ।

विधालयमा १३ जना शिक्षक शिक्षिकमध्ये ३ जना मात्रै मुस्लिम समुदायका छन् । १० जना गैर मुस्लिम समुदायको कार्यरत रहेका छन् । मदरसामा समेत क्रान्ति हुनुपर्छ भन्दै खानले मुस्लिम विधालयलाई समय सुहाउँदो बनाउन आवश्यक रहेको बताए । मुस्लिम शिक्षिका अञ्जुम खातुन सहित तीन जना बुर्खामा सहभागी हुन्छन् भने अन्य शिक्षक, शिक्षिका सामान्य पहिरन मै विधालय जाने गरेका छन् । सो विधालयमा १ जना शिक्षक भारतबाट ल्याइएको छ । पछिल्लो समय स्थानीय स्तरबाटै शिक्षक जुटाउन थालिएको छ । विधालयको नयाँ भवन निर्माण पछि गरिव, विपन्न सबै समुदायका बालबालिकाले अध्ययन गर्न पाउने व्यवस्था मिलाइने खानले बताए ।

प्रकाशित मिति : भाद्र २८, २०७८ सोमबार  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]