जेष्ठ ७, २०८१ सोमबार

झापाका सरकारी शैक्षिक संस्थामा यातायात सुविधा

बिर्तामोड । सरकारी शैक्षिक संस्थामा पनि विद्यार्थीले यातायात सुविधा पाउन थालेका छन् । नीजि शैक्षिक संस्थामा मात्र पाइने सुविधा सरकारीले पनि दिन थालेपछि विद्यार्थीलाई आवातजावतमा सहज हुन थालेको छ ।


कनकाई बुहमुखी क्याम्पस सुरुङाले शनिवार नया बस आयात गरेको छ । भन्सार छुट गरेर क्याम्पसले २५ लाखमा विद्यार्थी बोक्ने बस ल्याएको हो । क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीको संख्या दक्षिण क्षेत्रबाट धेरै भएपछि बसको व्यवस्था गरिएको हो ।


सुरु¨ादेखि दक्षिण २४ किलोमिटर टाढा झापा गाउँपालिकाको सडकवारी, कामाटोली, कुवाडी र शरणमतिबाट अध्ययनका लागि विद्यार्थी आउने गरेका छन् । उनीहरुको सहजताका लागि क्याम्पसले बस सञ्चालन सुरु गरेको विद्यार्थी नेता उत्सब बाँस्तोलाले जानकारी दिए । उनका अनुसार यसअघि क्याम्पसले भाडामा बस लिएर विद्यार्थीलाई सुविधा प्रदान गर्दै आएको थियो ।

इन्धन बाहेक बस मालिकलाई दैनिक २२ सय भाडा र चालकलाई छुट्टै तलव गरेर विद्यार्थी ओसारपसार गरिरहेको क्याम्पस प्रशासनले जानकारी दिएको छ । अहिले कनकाई बहुमुखी क्याम्पसको बस पूर्वमा लक्ष्मीपुर,पश्चिममा डुडावारी र दक्षिणमा झापा गाउँपालिकाको विभिन्न स्थानबाट विद्यार्थीलाई सुविधा प्रदान गर्दै आएको छ ।


विद्यार्थीसँग सुलभ शुल्कमा यातायात सुविधा प्रदान गरिएको क्याम्पस प्रमुख विकास उप्रेतीले जानकारी दिए । उनले विधार्थीलाई घरमै बसेर अध्ययन गर्ने वातावरण भएको बताए । डेरा बसेर अध्ययन गर्नुपर्ने विद्यार्थीको समस्या यातायातको व्यवस्थासँगै समाधान भएको छ ।


यस्तै, अर्जुनधारा–६ मा रहेको लक्ष्मी माध्यमिक विधालयले पनि विद्यार्थी सुविधाको लागि ०७५ जेठ देखि यातायातको व्यवस्था गर्दै आएको छ । युएनसीएचआरको सहयोगमा लक्ष्मी माविले १ थान बस ल्याएको थियो । शुरुआतमा कक्षा १ देखि कै विद्यार्थी ओसारपसार गरेपनि हाल बस सञ्चालनमा नरहेको बताइएको छ ।

विद्यार्थीसँग विद्यालयका प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ताले मनपरी बसभाडा उठाएपछि अभिभावकले बसको प्रयोग गर्न मानेका थिएनन् । अभिभावकसँग ६ महिनाअघि नै पुरै शुल्क उठाउन खोजेपछि भाडा नदिएको जानकारी पाइएको छ । विधालयका पूर्व प्रअ गंगा भट्टराईले बस व्यवस्थापन नगर्दा अहिले सञ्चालनमा नरहेको बताए ।


मेची बहुमुखी क्याम्पस भद्रपुरमा पनि यातायात सुविधा दिने तयारीमा रहेको विद्यार्थी नेता अशोक खतिवडाले जानकारी दिए । उनका अनुसार विद्यार्थीले यातायातको माग गरेपछि क्याम्पस प्रशासनले बस ल्याउने सोच बनाएको छ ।


झापाको दमकस्थित हिमालय मावि दमक, काँकरभिट्टाको काँकरभिट्टा क्याम्पसले पनि विद्यार्थीलाई यातायात सुविधा दिइरहेको छ । सडकमा नीजि शैक्षिक संस्थाको मात्र बस देखिरहेको समयमा विस्तारै सरकारी शैक्षिक संस्थाहरुले पनि बाक्लै गरी यातायात सुविधा दिने सोच बनाएको पाइएको छ ।

प्रकाशित मिति : श्रावण १९, २०७६ आईतबार  ७ : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]