अवकासपछि सामाजिक सेवामा कार्की
बिर्तामो । बिर्तामोड नगरपालिकाको शाखा अधिकृत पदबाट स्वेच्छिक अवकास लिएका देवराज कार्कीले अबको यात्रा समाज सेवा र राजनीति भएको बताएका छन् ।
उनले गत कात्तिक १ गते देखिनै लागु हुने गरी राजीनामा दिएर ३१ वर्ष लामो सरकारी जागिरे जीवनबाट विदा लिए । अधिकृत स्तरको आठौँ तहको सेवाबाट अझै करीब २ वर्षको समय हुँदाहुँदै पनि विदा लिएका कार्की सामाजिक गतिविधिमा सक्रिय छन् ।
कार्कीले नेपालको निजामति सेवामा २०४७ साल साउन ८ गते मुखिया पदमा जिल्ला जनस्वास्थ्य कार्यालय ताप्लेजुङ्गबाट सरकारी सेवा सुरु गरेका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सेवाको अवधीमा सेवाग्राही समक्ष कुनै गल्ती कमिकमजोरी भएको भए क्षमा समेत मागेका छन् ।
कार्कीले बिर्तामोड नगरपालिका अघि जिल्ला जनस्वास्थ्य कार्यालय ताप्लेजुङ्ग, शिक्षा कार्यालय धनकुटा,जिल्ला शिक्षा कार्यालय झापा,शैक्षिक तालिम केन्द्र भोजपुर, जिल्ला बन कार्यालय झापा लगायत विभिन्न सरकारी कार्यालयमा रहेर काम गरिसकेका छन् ।
निडर,निष्पक्ष र स्पष्टवक्ताको रुपमा चिनिएका कार्कीले नेपाल निजामती कर्मचारी संगठनको केन्द्रिय कमिटी सल्लाहकार तथा नेपालका २६ वटा पेसागत संघ संस्थाको छाता संगठन पेसागत महासंघ नेपालमा समेत रहेर अनुभव हासिल गरेका छन् । कार्की हाल पेसागत महासंघ नेपाल प्रदेश नम्बर १ को अध्यक्षको जिम्मेवारीमा छन् ।
प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनको समयमा समेत विशेष भुमिका निर्वाह गरेका कार्की २०६२÷६३ को जनआन्दोलनमा घाइते भए । अहिले नेकपा एमाले झापा जिल्ला कमिटीको सचिवालय सदस्य छन् ।
आफुलाई सुशासनको अभियान्ता,बिकास र आर्थिक सम्वृद्विको संवाहकका रुपमा उभ्याउँदै आएका कार्कीले अवको आफ्नो योजना मुलुकको सामाजिक,आर्थिक र साँस्कृतिक रुपान्तरणको निम्ति सक्रियतापूर्वक सामाजिक गतिबिधिमा लाग्ने बताए । हाल बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थायी निवासी कार्कीले जनसंख्या बिषयमा डिग्रीसम्मको अध्ययन तथा प्रशासन र बिकास सम्बन्धि देश बिदेशको तालिम प्राप्त गरेका छन् ।