बैशाख २९, २०८२ सोमबार

काँग्रेस महाधिवेशन मङ्सिर अन्त्यमा

काठमाडौँ । पटक पटक सर्दै आएको नेपाली काँग्रेसको १४औँ केन्द्रीय महाधिवेशन आउँदो मङ्सिरको अन्तिम साता गरिने भएको छ । पूर्व निर्धारित मङ्सिर ९ देखि १३ गतेसम्मको कार्यतालिकालाई संशोधन गर्दै पार्टीको केन्द्रीय निर्वाचन समितिले आउँदो मङ्सिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको हो । निर्वाचन समितिका संयोजक तथा वरिष्ठ अधिवक्ता महादेव यादवले मङ्सिरभित्रै महाधिवेशन सक्ने गरी कार्यतालिका तयार पारेको जानकारी दिनुभयो ।

कात्तिक दोस्रो साता गर्ने गरी तय गरिएको प्रदेश अधिवेशन अब आगामी मङ्सिर १६ र १७ गते हुने भएको छ । यसका साथै पार्टीले प्रदेश अधिवेशनअघि नै सबै जिल्लामा जिल्ला अधिवेशन गरिने जनाएको छ । धेरैजसो जिल्लामा मङ्सिर १० गतेसम्म जिल्ला अधिवेशन सम्पन्न हुने अवस्था रहेको जानकारी समितिका संयोजक यादवले दिनुभयो ।

जिल्लाको अवस्था फरक फरक भएकाले मङ्सिर १० गतेसम्म सबै जिल्लाको जिल्ला अधिवेशन पूरा गर्ने र केन्द्रीय निर्वाचन प्रतिनिधिलाई पनि सोहीअनुसार निर्देशन दिइएको जनाइएको छ । पार्टीले हालसम्म १३ जिल्लाको जिल्ला अधिवेशन पूरा गरिसकेको छ । बाँकी जिल्लामा कतै वडा, पालिका, प्रदेशसम्मको अधिवेशन गरिएको र सबै जिल्लाको अवस्था फरक फरक रहेको जनाइएको छ ।

काँग्रेसले कात्तिक २७ गतेदेखि वडा अधिवेशनको प्रक्रिया पुनः सुरु गरिने जनाएको छ । हालसम्म १३ जिल्लामा वडा अधिवेशनको प्रक्रियासमेत सुरु हुनसकेको छैन । ती जिल्लामा पनि २७ गतेदेखि वडा अधिवेशन सक्ने गरी निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइएको छ । हिमाली जिल्लामा निर्वाचन अधिकृतलाई खटाइसकिएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक ११, २०७८ बिहीबार  ९ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]