सहाराद्वारा सदस्यलाई १ करोड ९३ लाख कोभिड सहायता प्रदान
बिर्तामोड । सहारा नेपाल साकोसले कोभिड सहायता कार्यक्रम मार्फत सहयोग हस्तान्तरण गरेको छ । आज बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरि कोभिडबाट पीडित सदस्यहरुलाई १ करोड ९३ लाख ४६ हजार रुपैया हस्तान्तरण गरेको हो ।
सहाराका १३ जना सदस्यहरुको कोरोनाका कारण मृत्यु भएको थियो । यस्तै, सहाराले २३ सय कोभिड संक्रमित सदस्यलाई घरघर मै पुगेर प्रतिव्यक्ति २ हजारका दरले ४६ लाख बराबरको पोषण सामग्री वितरण गरेको छ । कोरोना संक्रमित भई होम आइसोलेशनमा बसेका ९७८ जना सदस्यलाई १४ दिनको ५ सयका दरले ६८ लाख ४६ हजार रकम उपलब्ध गराएको छ ।

यस्तै, संस्थाले कोभिड संक्रमित भई अस्पताल भर्ना भएका ३९ जना सदस्यहरुलाई ५२ लाख रुपैयाँ उपचार खर्च भुक्तानी गरेको छ । संक्रमणपपछि मृत्यु भएका १४ जना सदस्यलाई सहाराले २७ लाख हस्तान्तरण गरेको सहाराका कार्यकारी प्रमुख महेन्द्र गिरीले जनाकारी दिए ।
कोभिड सहायत कार्यक्रममा विर्तामोड नगरपालिकाको उपप्रमुख पवित्रा महतराले सदस्यहरुलाई प्रतिनिधि मुलक तरिकाले रकम हस्तान्तरण गरेकी हुन् । उनले सहारा अन्य सहकारी भन्दा भिन्न र रचनात्मक भएको बताइन् । सदस्यहरुको मनोवल बढाउने काममा सहाराको सक्रियता धेरै भएको उनको भनाई छ । सबै सदस्यको समस्यामा सहारा बनेको संस्थाले आगामी दिनमा राम्रा राम्रा काम गर्दै जाने विश्वास व्यक्त गरिन् ।
सहयोग प्राप्त गर्ने सुरुङा सेवा केन्द्रका शेयर सदस्य गोपाल संग्रौलाले संस्थाको गतिविधिले सदस्यहरुमा उत्साह, हौसला र जाँगर प्राप्त भएको प्रतिक्रिया दिए ।