जेष्ठ ५, २०८२ आईतबार

बिर्तामोडका अस्पतालले भने : ‘अस्पतालको फोहोर माछा पालक किसानलाई दिदैनौं’

बिर्तामोड । बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले झापाका माछा पोखरीमा अस्पतालहरुबाट उत्पादित मानव सिनो चारोको रुपमा खुवाइने गरेको विषय सामाजिक संञ्जालमा सार्वजनिक गरेपछि उपभोक्ता त्रसित भएका छन् । माछाका उपभोक्ताले यो विषयलाई गम्भीर रुपमा लिए ।

बिर्तामोड–२ का वडाध्यक्ष संग्रौलाले सुनेको भरमा फेसबुकमा माछा पोखरीमा झापाका अस्पतालहरुको मानव सिनो राती–राती हाल्ने गरिएको लेखेका थिए । सो अभिव्यक्तिले संगा्रैला आलोचित बन्न पुगेका छन् । उनले विज्ञप्ति जारी गर्दै आफ्नै स्टाटसका बारेमा स्पष्ट पार्नु परेको थियो । उनले लेखेको स्टाटसप्रति माछा पालक किसानले समेत सार्वजनिक रुपमा आपत्ति नै जनाइसकेका छन् ।

वडाध्यक्ष संग्रौलाले फेसवुकमा चिया पसलमा सुनेको भन्दै माछा पोखरीमा झापाका अस्पतालहरुको मानव सिनो राती–राती हाल्ने गरिएको लेखेका थिए । उनले सो स्टाटस हटाइसकेका छन् । सार्वजनिक ठाउँमा कसैले गरेको गफलाई (गम्भीर विषय) जनप्रतिनिधि जस्तो जिम्मेवार व्यक्तिले फेसबुकमा लेखेको विषय अहिले चर्चामा छ । माछा पालक किसानले मानव सिनो हाल्ने विषय गम्भीर हो, त्यसलाई वडाध्यक्ष संग्रौलाले लेखेपछि उनी विरुद्ध माछा पालक किसान आक्रोसित भएका छन् । उनलाई किसानले प्रमाणित गर्न चेतावनी समेत दिएका छन् । वडाध्यक्षको चौतर्फी आलोचना भएपछि उनले आफुलाई बचाउन सचेतनाको लागि लेखेको भनेका छन् ।

उनले लेखेको विषयलाई लिएर बिर्तामोडका अस्पतालहरुले समेत आपत्ति जनाएका छन् । बिर्तामोडस्थित विएण्डसी अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले वडाध्यक्ष संग्रौलले कपोकल्पित भ्रम छरेको बताए । उनले गलत कुरा गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । इन्सिनेटर पद्धतिबाट विएण्डसी अस्पतालले फोहोर व्यवस्थापन गर्दै आएको गिरीको भनाई छ । ७ करोड लागतमा खरिद गरिएको प्रविधिबाट फोहोर व्यवस्थापन गर्छौं, गिरीले भने– ‘मानव सिनो कसैले माछालाई दिन्छ भने त्यो अपराध बराबर हुन्छ ।’

यस्तै, विर्ता सिटी अस्पतालका सूचना अधिकारी बम बहादुर बस्नेतले संग्रौलाको कुरा सुनेर आफु अचम्ममा परेको सुनाए । यति हदसम्म झरेर जनप्रतिनिधिले कुरा गर्नु बेठिक भएको बस्नेतको तर्क छ । उनका अनुसार विर्ता सिटीको फोहोर मासिक ५० हजार तिरेर विराटनगर पठाइन्छ । विराटगरको एक कम्पनीले फोहोर उठाउने ठेक्का लिएको छ । हरेक दिन हस्पतालबाट उत्पादित फोहोर प्लाष्टिकमा संकलन गरेर राखिने र हप्ता–हप्तामा ट्रकमा पठाइने गरेको बस्नेतको भनाई छ ।

मनमोहन अस्पताल बिर्तामोडका सञ्चालक समिति सदस्य डिआर कडरियाले अस्पतालको फोहोर कुनै माछा पालक किसानलाई नदिएको जानकारी दिए । उनले अस्पतालको सबै फोहोर व्यवस्थापनको जिम्मा निराकार सरसफाई सेवा प्रालिले लिएको बताए । अस्पतालको फोहोरमा कसैले लापरबाही गर्दैन, कडरियाले भने – त्यसको उचित व्यवस्थापन भइरहेको छ ।

प्रकाशित मिति : कार्तिक २७, २०७८ शनिबार  ७ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]