बैशाख १३, २०८१ बिहीबार

झापामा कर सप्ताहको समापन

भद्रपुर । ‘स्वेच्छिक कर सहभागिता अभिबृद्धि : सुशासन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ शुरु भएको यस वर्षको कर सप्ताह झापामा सम्पन्न गरिएको छ । यही मंसिर १ गते विर्तामोडमा विशेष समारोह आयोजना गरी कर दिवस मनाउनुका साथै कर सप्ताहको उद्घाटन गरिएको थियो । आन्तरिक राजश्व कार्यालय भद्रपुरको आयोजनामा शुरु भएको कर सप्ताह आज भद्रपुरको जिल्ला समन्वय समितिको हलमा कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको हो ।

आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत शुभ रिजालको अध्यक्षता एवम् झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको प्रमुख आतिथ्यमा कर सप्ताह समापन गरिएको आन्तरिक राजश्व कार्यालय भद्रपुरका जनक बस्नेतले जानकारी दिए ।
कर सप्ताहभरि झापालगायत इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न स्थानका कर शिक्षा कार्यक्रम तथा उद्योगी –व्यवसायीहरुबीच अन्तरक्रिया गरिएको थियो ।

बस्नेतका अनुसार १ गते कर दिवससँगै कर सप्ता शुभारम्भ गरियो भने २ गते मेची उद्योग वाणिज्य संघको समन्वयमा मेचीनगरमा करदाता शिक्षा कार्यक्रम गरियो । ३ गते कनकाई उद्योग वाणिज्य संघको समन्वयमा सुरुंगामा कार्यक्रम गरिएको थियो भने ४ गते बुद्धशान्ति उद्योग वाणिज्य संघको समन्वयमा बुधबारेमा कार्यक्रम गरिएको थियो । ६ गते झापा उद्योग वाणिज्य संघको समन्यवयमा भद्रपुरमा कार्यक्रम गरिएको कार्यालयले जनाएको छ ।

समापनका अवसरमा वक्ताहरुले करको दरभन्दा दायरा बढाउन सुझाव दिँदै करदाताहरुमा अझै पनि करको बारेमा ज्ञानको अभाव रहेकाले करदाता शिक्षा कार्यक्रम वर्षैभरि समय–समयमा सञ्चालन गर्न कार्यालयलाई सुझाव दिए ।

कर अधिकृत सुरेश महतोले सञ्चालन गरेको समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का सदस्य कुमार भट्टराई, विर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, बुद्धशान्ति उद्योग वाणिज्य संघका उपाध्यक्ष दीपक सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यालय प्रमुख रिजालले कार्यक्षेत्र रहेको झापाको माईपूर्व, इलाम, पाँचथर र ताप्लेजुङको समग्र करदाताहरुको अवस्थाको बारेमा प्रकाश पारेका थिए ।

प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार  ८ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]