बैशाख २९, २०८१ शनिबार

विरामी कमलले भने : ‘दुर्गा सर प्लिज मलाई बचाइदिनुहोस’

विर्तामोड । ताप्लेजुङ आठराई त्रिवेणी गाँउपालिका १ का २४ वर्षीय कमल श्रेष्ठको उपचारमा १ लाख ८४ हजार अपुग भएको छ । श्रेष्ठ बचाउ अभियानले उनको उपचारका लागि ४ लाख ५० हजार संकलन गरेको थियो । उक्त रकम अभाव भएपछि उनले पाएको पैत्रिक संम्पतीले झापामा किनेको १ कठा जग्गा पनि ३ लाखमा बिक्री गरेका थिए ।

उपचारमा ९ लाख ३४ हजार खर्च भएपछि चन्दा संकलन र जग्गा बेचेर जम्मा भएको ७ लाख ५० हजारले पुगेन । उनी पुर्णरुपमा निको भएपनि आर्थिक रुपमा निको हुन सकेनन् । यतिबेला उनी मानसिक पढामा अस्पतालको बेडमा छटपटाइरहेका छन् ।बिएण्डसी अस्पतालमा टाउको र आँखामा लागेको गम्भीर प्रकृतीको चोटको उपचार गराइरहेका श्रेष्ठको चन्दा संकलन गरेर उपचार सुरु भएको थियो ।

अस्पताल र फार्मेसीमा उनीहरुसँग भएको रकम सबै बुझाइसेका छन् । अब १ लाख ८४ हजार बुझाए उनलाई अस्पतालको मेडिकल डिपार्ट र प्रशासनले डिस्चार्ज दिने छ । अस्पताललाई तिर्ने रकम नहुँदा उनी अस्पतालको बेडमा अनिद्रामा छन् । उनले अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईँलाई भने ‘दुर्गा सर प्लिज मलाई बचाइदिनुहोस ।’

अति विपन्न परिवारका उनी म्याग्दीको एक हाइड्रोपावरमा काम गर्थे । गरिवीको पिडा खप्न नसकेर उनि काम खोज्दै गएको वर्ष मात्रै म्याग्दी पुगेका थिए । काम सकेर फर्कदै गर्दा पहिरो खसेको ढुँगाले लागेर उनको आँखा र टाउकोमा गम्भिर चोट लागेको थियो । श्रेष्ठका अनुसार हाइड्रोपावरले स्थानीय अस्पतालमा उपचार गरेको थियो । तर, उनको आँखा निको हुन सकेन । उनले उपचार गरेको अस्पतालले काठमाण्डौको बाँसबारी स्थित न्युरो अस्पतालमा रेफर गर्यो । उनलाई सो अस्पतालले करिव ११ लाख रुपैयाँ उपचारमा खर्च हुने तर, निको हुने ग्यारेन्टी नगर्दा उनको होस्हवास नै उडेजस्तो भयो । उनले भने, ‘जवानी मै गरिवीले कानोमात्र होइन मर्नु न बाच्नु बनायो ।’

बाँसबारी न्युरो अस्पतालले उनलाई भनेको कुरा उनले बडिबाको छोरा झापा शिवसताक्षीका अनिल कुमार श्रेष्ठलाई सुनाए । अनिलले घटनाको बारेमा पुर्ण जानकारी लिए । उपचारमा गरिवी नै मुख्य बाधक बनेपछि स्थानीय सामाजिक अगुवा फुर्वा तामाङ्ग, भाग्य सुब्बा, झमक गौतम र पत्रकार विनोद सापकोटालाई अनिलले कमलका बारेमा सुनाए । कमलले भने,‘दाई अनिलले झिलझिलेका सामाजिक अगुवालाई मेरो र मेरो परिवारको आर्थिक अवस्थाको बारेमा जानकारी गराएपछि उहाँहरु मलाई भेट्न अनिल दाईको घरमा आउनुभयो । म काठमाण्डौबाट एउटा आँखामा पट्टीबाँधेर झिलझिले आएको थिए ।’उहाँहरु म बसेको ठाँउमा आएर मेरो अवस्थाको बारेमा जानकारी लिएपछि कमल श्रेष्ठको उपचारमा सहयोग समिति नै बनाएर चन्दा संकलन गर्ने निर्णय भएको उनले सुनाए ।

रकम संकलन सुरु भएपछि पत्रकार विनोद सापकोटाको पहलमा कमललाई झापाको विएण्डसी अस्पतालमा मंसीर १२ गते भर्ना गरेर उपचार सुरु गरिएको थियो कमलका दाजु अनिलले बताए । उनको उपचारमा डा करुणा ताम्राकारको नेतृत्वमा ३ सदस्यीय चिकित्सकको टोली संलग्न थियो । कमलको बिना अप्रेशन आँखाको उपचार सफल भयो । उपचारमा संलग्न न्यूरो डिपार्टका प्रमुख डा.करुणा ताम्राकारले बिएण्डसीले शुरू गरेको न्यूरो सम्बन्धी नयाँ पद्दतीको कारण बिना चिरफार कमलको आँखाको उपचार सफल भएको जानकारी दिइन् । डाक्टर करुणाका अनुसार ११ दिनको उपचार पश्चात कमल डिस्चार्जको तयारीमा छन् । डा. करुणाको साथमा डा.रबिन भट्टराइ र डा.दिनेश थापा पनि उपचारमा सम्लग्न रहेका थिए ।
बिरामीको बिना चिरफार सफल उपचार भएकोमा डक्टरको सिंङगो टिमलाई बधाइ दिदै अभियानका सदस्यले कमलको आर्थिक अवस्थालाई मध्यनजर गर्दै तिर्न रहेको बाँकी रकममा छुटको ब्यवस्था मिलाउन अस्पताल प्रशासन संग आग्रह गरेका छन् । अभियानलाई सुकुम्बासी, निर्माण मजदुर, शरणार्थी, उध्योगी व्यवसायी लगायतले सहयोग गरेका थिए ।

विएण्डसी अस्पतालमा न्युरो सम्बन्धी विना अपे्रशन उपचार गर्ने उपकरण पछिल्ला दिनमा भित्रिएका छन् । न्यूरो र आँखा सम्बन्धी उपचार गर्ने अर्बो रुपैयाँका उपकरण उपत्यकाका केही अस्पतालमा भए पनि मोफसलमा विएण्डसी नै पहिलो भएको अस्पतालले दावी गरेको छ । उपकरण खरिद र दक्ष चिकित्सकमा अस्पतालले गरेको लगानीको फाइदा मोफसलका सेवाग्राहीले लिन थालेको अस्पतालका जनसंम्पर्क अधिकारी प्रमिस गिरीले बताए । उनले भने,‘उपचारका लागि झापा बाहिर हुँदै मुलुक बाहिर नै जानुपर्ने झण्झटबाट मुक्त गराउन अस्पतालले अत्याधुनिक उपकरण भित्र्याएको छ ।’

प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार  ९ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]