बैशाख ७, २०८१ शुक्रबार

मेरो कार्यकालको विकास निर्माण सम्झन लायक छ : उपाध्यक्ष राजवंशी

संघीयता लागु भएपछिको पहिलो कार्यकाल सकिनै लागेको छ । सरकार र पदाधिकारी दुवै पक्ष पहिलो कार्यकालको अभ्यासमा जुटे । कतिपय ठाउँमा उल्लेख गर्न योग्य काम भए, कतिपय ठाउँमा खासै प्रगति हुन सकेन । यद्धपि, विकास निर्माणको हकमा भने यो पाँच वर्ष सम्झन लायक बित्यो । अधिकांस ठाउँमा मुख्य जिम्मेवार पदमा पुरुष आए । सरकारको ऐन अनुरुप न्याय सम्पादन गर्न भने महिलाले ठाउँ पाए । सबै स्थानीय तहको उप–प्रमुखको भूमिका महिलालाई दिइयो । धेरै ठाउँमा महिलाको भूमिका पुरुषको भन्दा कम छैन ।
यसपटक हामी बाह्रदशी गाउँपालिका पुगेका छौँ । गाउँपालिकाको बस्तु स्थिति बुझ्न पुगेको इजलासको टोलीको आँखामा बाह्रदशीकी उपाध्यक्ष रत्नाकुमारी राजवंशी परिन् । यसै पनि महिलालाई कार्य सम्पादनमा समस्या हुने गरेको सुनेका थियौँ, त्यसमा पनि राजवंशी समुदायको प्रतिनिधित्व रत्नालाई कति गाह्रो छ त ? बजारमा चल्ने हल्ला मिथ्या हुन् कि साँचो हो ? हामीले उनै उपाध्यक्ष रत्नालाई सोधेका छौँ । प्रस्तुत छ बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष रत्ना कुमारी राजवंशीसँग गरिएको कुराकानीको सम्पादित अंश :

सञ्चै ?
अँ, एकदम ठीक छु ।

के चलिराछ हिजोआज ?
राज्यले जिम्मेवारी दिएको छ, जिम्मेवारी उठाउने हिम्मत गरेर आएकी हुँ । यही त हो, जनतासँग हातेमालो, उहाँहरुका गुनासा र पिर मार्का सुन्ने र समाधान गर्ने काम चलिराछ भनौँ ।

झण्डै पाँच बर्ष भएछ, चुनाव सकिएको । चुनावमा देखेको सपना मरिसक्यो कि अझै उर्जा बाँकी छ ?
यति छिटो गल्थे भने राजनीतिमा किन आउथेँ र ? धेरै गर्ने रहर थियो सबै त गर्न सकिनँ, जति गरेँ निकै गरेँ भन्ने लाग्छ । अझै थुप्रै गर्न बाकी छ । राजनीतिमा यति छिटो हारेर हात धुन्न ।

गर्ने रहर चाहिँ के ले रोक्यो ?
यसमा दुई–तीन वटा कुरा । पहिलो त राज्यले नीति निर्माण, ऐन निर्माण नै ढिलो ग¥यो । हामीका प्रष्ट ऐन त अहिले पनि छैन । दोस्रो हामीले गरेको अभ्यास पनि नयाँ थियो । मलाई सबै कुरा बुझ्न नै झण्डै दुई वर्ष लाग्यो । अरु महिला हुँ समाजमा थुप्रै समस्या भोग्नु पर्छ, चुनौतीसँग लड्नु पर्छ । ठ्याक्कै भनेजस्तो सबै नहुदो नै रहेछ ।

तपाईंको कार्यालय पुरुषवादी चिन्तनबाट निर्देशित छ कि महिलावादी ?
यसलाई ठ्याक्कै तेसो पनि नभनौँ । हो, महिला भएका कारण मैले पनि धेर–थोर समस्या भोगेँ । तर, बाह्रदशी गाउँपालिका अन्य क्षेत्र भन्दा फरक विचारधारामा चलेको छ । काम गर्न कतिपय ठाउँमा समस्या पनि भयो, तर यो सबै पुरुषवादी चिन्तनले मात्र भएको भने थिएन ।

अनी त तपाईं त राजवंशी वृत्तको पनि प्रतिनिधित्व गर्ने त्यसमा पनि महिला कतिको सहज छ ?
चुनौती अवश्य छ, तर निराश नै हुने अवस्था चाहिँ छैन ।
यसलाई यसरी सजिलो बनाउँ न त, बजेट तर्जुमा गर्दा महिलाको पक्षमा वा राजवंशी समुदायको पक्षमा तपाई कति उदार हुन सक्नु भयो ?
यो विषय नै अप्ठ्यारो हो । व्यवहारमा कतिपय प्रश्नको ठ्याक्कै उत्तर नहुन सक्छ । त्यसभित्र कार्यसम्पादन गर्न दिइएको जिम्मेवारीको जटिलता, ऐन नियमको जटिलता धेरै कुरा छन् । तर म गर्वका साथ भन्न सक्छु मैले धेरै काम गरेँ ।
म पहिलैदेखि अलि सक्रिय नै थिएँ । विभिन्न क्षेत्रमा काम गरिरहेको थिएँ । त्यसोहुँदा पनि मलाई यस्ता चिजमा अलि सहज भयो । अर्को कुरा मेरो वरपरका साथीभाई, परिवार अलि बुझ्ने र राम्रै भएको कारण पनि मलाई त्यति गाह्रो भएन । अर्को कुरा चाहिँ सबैको सहयोग, उर्जा र हौसलाले म यहाँ आइपुगेकी हुँ । त्यसकारण गाह्रै छ, तर सबैथोक त्यति मात्र होइन ।

अब मलाई यो भनिदिनु न त, तपाई आएकै कारण मात्र सम्भव भएका शिर्षकहरु के के हुन् ?
यो प्रश्नले दुई वटा अर्थ लाग्न सक्छ । बाटा, बिजुली र पुल जस्ता शिर्षक भन्ने बुझिन सक्छ । तर मेरो जिम्मेवारी अनुसार भएका धेरै काम छन् । जस्तो, महिलामा देखिएको आँट वा हिम्मत् । यो गाउँपालिकामा महिलाहरु निर्धक आफ्ना कुरा राख्न सक्ने भएका छन् । खुलेर बोल्न नसक्ने तर अन्यायमा परेका महिलाको पक्षमा लडेकी छु । अति विपन्न महिलालाई लक्षित गरेर कार्यक्रम ल्याएकी छु । विपन्नलाई आवासको कार्यक्रम पनि विर्सन हुन्न । नाला बनाउने, बजार व्यवस्थापनका लागि काम गरेकी छु । अति बिपन्न ३५ वटा परिवारलाई सहयोग गरेकी छु ।

तपाईंको बुझाईमा कमजोरी के भयो ?
धेरै त्यस्तो कमजोर त होइन । तर, महिलालाई लक्षित धेरै कार्यक्रमहरु कार्यान्वयनमा केही समस्या देखिए ।

समग्रमा तपाईको यो कार्यकाल कस्तो रह्यो त ?
काम गर्ने रहर भए पनि चुनौति धेरै थिए । नयाँ अभ्यास थियो । महिला त्यसमा राजवंशी थिएँ, धेरै गर्न सकिनँ तर धेरै गरेँ । चुनावी माहोलमा जुन हौसला थियो त्यो सबै चाहिँ भएन । तर मुल कुरा छुट्न दिएकी छैन ।
रहर, हौसला, उर्जा यी सबै एकातिर राखिदिने हो भने, जटिलता धेरै छन् । कार्यविधि ढिलो आयो । नियम, कानून वा हिड्ने बाटो नै प्रष्ट नहुँदाका कठिनाई भन्नै पर्दैन । सुरुसुरुमा बुझ्नै जटिल थियो । अहिले पछिल्लो समय कोभिड आयो । उपाध्यक्षले सातवटा क्षेत्राधिकार भित्र रहेर काम गर्नु पर्ने हुन्छ । यी क्षेत्राधिकार भित्र चाहिँ राम्रै रह्यो भन्नु पर्छ ।

अब अर्को पाटोमा कुरा गरौँ । यो गाउँपालिकामा कस्ता कस्ता घटना बढि भए ?
मुल त, घरेलु हिसां नै हो । अन्य घटनामा लेनदेनको विवाद, साँध–सिमानामा भएका विवाद आदी हुन् ।

कसरी समाधान गर्दै हुनुहुन्छ ?
समाधान पनि अबस्था हेरी गर्ने हो । मैले मेलमिलापकै माध्यमबाट निरुपण गर्ने गरेकी छु ।

काम गर्ने सन्दर्भमा केही अनौठा घटनाहरु पनि भए होला । केही सम्झना छ ?
छन्, धेरै छन् । मैले कति सम्म ‘रिस्क’ मोलेर काम गरेकी छु भन्ने एउटा उदाहरण यहाँ सुनाउँछु । हुनैलाई चाहिँ मैले यो केही नगरेको भए पनि हुने थियो होला, यद्धपि बाह्रदशीका जनताको सुख र सुविधाको लागि मैले हद नाघेँ । मिडियालाई त झन् नभनेको भए हुने थियो, तपाईंले सोधेपछि झट्ट सम्झिए ।
एकपटक लेनदेनको विषयलाई लिएर दुई परिवारमा विवाद भएछ । आफै समाधान खोज्नु भएछ, पार लगाउन नसकेपछि म कहाँ कुरा आयो । म सम्म घटना आइपुग्दा तीन जनामा विवाद भइसकेको थियो । मैले मिलाउन धेरै प्रयास गरेँ । अन्नतः समस्या समाधान गरी छाडेँ । तर, मैले एउटा गल्ति पनि गरेँ । मैले विवादित पक्षको रकम मेरो खातामा जम्मा गर्न लगाएँ, पछि फेरि अर्को पक्षलाई त्यो रकम ‘ट्रान्सफर’ गरिदिएँ ।

रकम नै लिनुपर्ने चाहिँ किन भएको थियो ?
होइन, रकम लिएको होइन । विवादमा परेका दुई जनामा रकमको कुरा नमिलेको कारण त्यो रकम मेरो खाता मार्फत तिरिदिएको हो । रकम लिएको भन्ने भ्रम नपरोस् । अर्को घटना थियो, श्रीमान् श्रीमतिको । उनीहरु कुनै पनि हालतमा मिलेर बस्न नसक्ने भन्दै हामीकहाँ आएका थिए । हामीले झण्डै महिना मेहनत ग¥यौँ । अहिले उहाँहरु मिलेर बसिराख्नु भएको छ ।

एकपटक एउटा केस यहाँबाट अदालत गएको सुनेको थिएँ, त्यो के थियो ?
म मार्फत अथवा हाम्रो कार्यालय मार्फत कुनै पनि घटना अदालत पुगेको छैन । हामीले कसैलाई अदातल पठाएका छैनौँ ।

तपाईहरुको छलफल सकिएपछि पछि फेरि अदालत पुगेको भन्ने सुनेको थिएँ । उनीहरुलाई तपाईंले दिएको न्याय चित्त नबुझेको कि न्याय दिन नसकेको ?
मलाई थाहा भएन । मैले सुने अनुसार एउटा–दुईटा डिबोर्सको केस अदालत गयो होला । तर, हामीले पठाएर गएको होइन । अदालतको निर्णय पछि कुनै पनि जानकारी हामी कहाँ आएको छैन ।

कार्य सम्पादनमा अथवा न्याय सम्पादनको छलफलमा तपाईको पालिकाले हस्तक्षेप गर्छ कि गर्दैन ?
गर्दैन । ऐनले प्रष्ट आ–आफ्नो काम तोकेको छ । म मेरो जिम्मेवारी निभाउने हो, अरुले अरुकै । मलाई मेरो काम गर्न कसैले रोकेको छैन ।

तपाई न्यायको क्षेत्रमा नयाँ मान्छे । कतिको अप्ठ्यारो भयो ?
यो क्षेत्र नै जटिल हो । हुनैलाई चाहिँ दुवै पक्षलाई जितेको भान गराउन सजिलो छैन । कतिपय ठाउँमा एउटालाई न्याय दिने क्रममा दोस्रो स्वभाविक निरास हुन्छ । यो विषयलाई ‘ब्यालेन्स’ गर्न सोचेजति सजिलो छँदै छैन । यो क्षेत्र एकदम सम्बेदनशिल क्षेत्र हो । जटिल छ, तर निभाइरहेको छु । हाम्रो गाउँपालिका अझै ग्रामीण क्षेत्र हो । यहाँ विभिन्न समुदायका विभिन्न खाले मान्छे छन् । त्यसमा पनि कति त अत्यन्तै न्यून आर्थिक अबस्था भएका पनि छन् । उनीहरु अदालत जान समेत सक्दैनन् । त्यस्ता मानिसहरुलाई भेटेर, बोलाएर गफ गरेर, छलफल गरेर पनि निकास दिने कोसिस गरेको छु ।

तपाईंको कार्यकाल सकिनै लाग्यो, तपाईं ‘बटम लाइन’मा हुनुहुन्छ । फेरि पनि यही ठाउँमा आउने सोच छ ?
छ । किनकी, मैले अझै धेरै गर्न बाँकी छ । धेरै कुरा सिके, धेरै जाने पनि । अब गर्न नसकेका वा गर्नु पर्ने धेरै काम गर्न म फेरि पनि आउन सक्छु ।

मानिलिनुहोस्, तपाईं फेरि जितेर यो कुर्सिमा आउनु भयो । अब तपाई के गर्नु हुन्छ ?
जुन हौसला र भरोसाका साथ मलाई जिताउनु हुनेछ म त्यो खेर जान दिने छैन । सबैको घरघरमा पुगेर सबैका समस्या नोट गर्ने छु । त्यसलाई कसरी समाधान गर्न सकिन्छ पालिकामा कुरा उठाउने छु । र, मेरै कार्याकालमा उहाँहरुको अनुहारमा चमक हेर्नेछु । उहाँहरुको आवश्यता के हो त भन्ने बुझेरै म बजेट बनाएर कार्यान्वयनको पक्षमा लाग्छु ।

प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार  ९ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]