जेष्ठ ३, २०८१ बिहीबार

संकटाको फराकिलो जीत

मेचीनगर गोल्डकप

काँकडभिटा । मेचीनगर गोल्डकपको चौथो संस्करण अन्तर्गत शनिबार भएको खेलमा आयोजक काँकडभिटा फुटबल ट्रेनिङ सेन्टरलाई फराकिलो अन्तरले हराउँदै संकटा क्लब काठमाडौं सेमीफाइनलमा प्रवेश गरेको छ । काँकडभिटालाई ४−१ गोलको अन्तरले हराउँदै संकटा सेमीफाइनलमा पुगेको हो ।

खेलको २२ औं मिनेटमा संकटाका लागि बिदेशी खेलाडी फोफोना फोडेले गोल गर्दै टीमलाई अग्रता दिलाए । डि बक्सभित्र पाएको पासलाई काँकडभिटाका गोलरक्षक किशोर गिरीलाई बीट गर्दै सुन्दर गोल गरेका थिए । २९ औं मिनेटमा फोडेले नै गोल गर्दै टीमको अग्रता दोब्बर बनाए । अर्का बिदेशी खेलाडी इकेन क्रिश्टियनको क्रस पासमा हेड मार्फत गरेको प्रहारले जाली चुमेको थियो ।

खेलको ४४ औं मिनेटमा फोडेले गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । क्रिश्टियनले डि बक्सभित्र गरेको पासमा फोडेले गरेको प्रहार काँकडभिटाका गोलरक्षक गिरीको हातमा लाग्दै गोल भएको थियो । ५५ औ मिनेटमा क्रिश्टियनले गाृल गरेका थिए । बिपक्षी मैदानको मध्यभागमा अनमार्क रहेका क्रिश्टियनले २० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

काँकडभिटाका लागि खेलको ८० औं मिनेटमा बिमल घर्तीमगरले डि बक्स नजिकैबाट गरेको फ्रि किक गोल भएको थियो । निशान्त लिम्बुलाई संकटाका खेलाडीले फल गरेपछि पाएको फ्रि किक मार्फत मगरले सान्त्वना गोल फर्काएका हुन् । खेल अवधिभर काँकडभिटाबिरुद्ध हावी भएको संकटाले बिपक्षी पोष्टमा एक दर्जन जति प्रहार गरेको थियो । ९ मिनेटमा संकटाका सुवास गुरुङले वान भर्सेस वान गोल गर्न सकेनन् । १० मिनेटमा डि बक्स नजिकै पाएको फ्रि किकलाई लक्ष्मण रुचालले गरेको प्रहार पोष्टमा लागेर बाहिरियो । ४३ औं मिनेटमा सुवासको पासमा गुरुङले गोल गर्न सकेनन् ।

खेलको ३० औं मिनेटमा काँकडभिटाका बिमल घर्तीमगरले बिपक्षी गोलरक्षक बीट भइसकेको अवस्थामा गरेको प्रहार आकासियो । ७४ औ मिनेटमा डि बक्सभित्र अनमार्क रहेका दिलेन लोक्तामले गोल गर्ने अवसर गुमाए ।

खेलको म्यान अफ द म्याच बिजेता टीमका लागि ह्याट्रिक गरेका फोफोना फोडे भए । उनले नगद ११ हजार रुपैंयाँ पुरस्कार पाए । आइतबारको खेल त्रिभुवन आर्मी क्लब र धरान फुटबल क्लब सुनसरीबीच हुने छ । प्रतियोगितामा बिजेता टीमले १० लाख १ हजार र उपबिजेता टीमले ५ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने छ ।

प्रकाशित मिति : बैशाख १४, २०७६ शनिबार  १० : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]