झापाका नयाँ सिडिओको प्रथमिकता : बजार अनुगमन र सीमा सुरक्षा
बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्व सम्हाल्न आएका नयाँ प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बजार अनुगमन मुख्य प्राथमिकतामा रहेको बताएका छन् । बिहीवार पत्रकारसँगको भेटघाटमा उनले बजार अनुगमनलाई प्राथमिकता दिने बताएका हुन् ।
प्रजिअ रिजालले जिल्लाको प्रशासनलाई नागरिकमैत्री बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले झापामा सीमा सुरक्षा नै चुनौतिको विषय भएकाले त्यहाँबाट हुने चोरी, तस्करी, लागूऔषध, कालाबजारीजस्ता अपराध नियन्त्रणमा ध्यान केन्द्रित गरी सुरक्षा प्रवन्ध मिलाउने बताएका छन् ।

कोभिड संक्रमण दर बढिरहेको बताउँदै उनले जिल्लालाई थप सुरक्षित बनाउन पनि सीमा क्षेत्रमा कडाई गर्ने बताएका छन् । रिजाल झापामा पुस २८ गते हाजिर भएका हुन् । उनी सुर्खेतबाट सरूवा भई जिल्ला प्रशासन कार्यालय झापा आएको जानकारी दिए ।