माघ १०, २०७८ सोमबार

मकै जोन कार्यक्रमबाट किसान उत्साहित

ताप्लेजुङ – ताप्लेजुङका विभिन्न स्थानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम लागू भएको छ । सो कार्यक्रम लागू भएपछि यहाँका किसान उत्साहित भएका छन् । चालु आर्थिक वर्षदेखि जिल्लाको ६१ वडामध्ये २० वटामा यो कार्यक्रम पहिलोपटक लागू भएको हो ।

यो कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सन्तोष भट्टराईको संयोजकत्वमा नौ सदस्यीय सञ्चालन समन्वय समिति गठन गरिएको छ । समितिको सदस्यमा बालकुमारी कार्की भट्टराई, यज्ञकुमारी पौडेल, कुमारी न्यौपाने, जीवन सिग्देल, दीपक थापा, रञ्जित माबो लिम्बू र कमलकुमार राई रहनुभएको छ । जिल्लाको नौ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिकासहित सिदिङ्वा गाउँपालिका, मिक्वाखोला, पाथीभरा याङ्वरक र सिरिजङ्घा गाउँपालिकासमेत पाँच स्थानीय तहका २० वटा वडामा मकै जोन कार्यक्रम कार्यान्वयन गरिने छ । पहिलो वर्ष उक्त वडाका ४७५ हेक्टर क्षेत्रफलमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालयले जनाएको छ ।

यस्तै अलैँची जोन कार्यक्रम भने आव २०७५÷७६ देखि नै लागू भएको हो । फुङ्लिङ नगरपालिकासहित मैवाखोला गाउँपालिका, मिक्वाखोला, फक्ताङ्लुङ, आठराई त्रिबेणी, पाथीभरा याङ्वरक, मेरिङ्देन र सिरिजङ्घा गाउँपालिकाका ३९ वडामा यो कार्यक्रम लागू गरिएको छ । अलैँची जोन कार्यक्रमअन्तर्गत क्षेत्र विस्तार गरेर हालसम्म एक हजार २३८ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ । उक्त क्षेत्रमा गरिएको अलैँची खेतीबाट ७३०.५ मेट्रिक टन अलैँची उत्पादन हुने गरेको जोन कार्यालयका प्रमुख निमित्त वरिष्ठ कृषि अधिकृत काशीराम पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास