बैशाख ८, २०८१ शनिबार

आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् राजगढबासी

खानेपानी आयोजना निर्माणमा ढिलाई

बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका वडा नं. ३ राजगढबासीको घर पहेँलपुर छ । हरेक घरमा ट्युवेल वरिपरि पहेलो भएको देख्न पाइन्छ । घरमा पानी पुग्ने ठाउँहरु प्रायः पहेलो छन् । ट्युवेल वरपर, शौचालय, कपडा धुने ठाउँमा जताततै पहेलो छ । स्थानीयवासी त्यहि पानी पिउन बाध्य छन् ।

राजगढका व्यवसायी गायक राजवंशीका अनुसार पानीमा अत्याधिक आर्सेनिक भएकाले पानी प्रयोग भएको ठाउँमा पहेँलो भएको छ । उनले वर्षौदेखि त्यहि पानीको प्रयोग गर्दै राजगढबासी जीवन विताइरहेको बताएका छन् । राजवंशीका अनुसार हातका नङहरु, दाँत, कपडा, घरको भुई भाग नै पहेँलो हुन्छ । घर बनाउँदा पानीले भिजाउने गरिन्छ, उनले भने – त्यसरी पानी प्रयोग गरिएको घर नै पहँेलो हुन्छ ।
बाह्रदशीको वडा नं. ३ मा पनि राजगढ क्षेत्रमा आर्सेनिकयुक्त पानी भएको स्थानीयबासी बताउँछन् । खानेपानी आयोजना छिट्टै बनेमा शुद्ध र स्वच्छ खानेपानी प्रयोग गर्ने स्थानीयको आशा छ ।

राजगढ खानेपानी आयोजनाका अध्यक्ष तोयानाथ पोखरेलले खानेपानीमा आर्सेनिक भएको स्वीकार गरेका छन् । उनले ओर्सेनिकयुक्त पानीबाट छुटकारा दिन आयोजना अन्तिम चरणमा पुगेको बताए । २०७२ सालदेखि निर्माण शुरु गरिएको खानेपानी आयोजना सञ्चालन हुने मिति पर्खिरहेको छ । १६ करोड लागतको आयोजना सम्पन्न गर्न बजेट समस्यामा कारण सम्पन्न हुन नसकेको अध्यक्ष पोखरेलको भनाई छ । उनका अनुसार निरन्तर बजेट प्राप्त भइरहेको छैन । बजेट कै ढिलासुस्तीले यहाँका नागरिक आर्सेनिकयुक्त पानीको प्रयोग गर्न बाध्य छन् । प्रदेश सरकार मातहतमा निर्माण भइरहेको आयोजनाले चालु आर्थिक वर्षमा ३० लाख प्राप्त गरेको थियो । सो बजेटबाट पाइप खरिद भएको पोखरेलले जानकारी दिए ।

खानेपानीको ट्याङ्की, फिल्टर, कार्यालय भवन,पर्खाल र एक थान वोरिङ निर्माणको काम सकिएको छ । ३५ सय घरधुरीमा सहजै पानी पुराउन सकिने आयोजनाका अध्यक्ष पोखरेलले जानकारी दिए । कहिलेबाट पानी पिउन पाइएला अध्यक्ष ज्यू भन्ने जिज्ञासामा पोखरेलले जवाफ दिदैं भने, – त्यो राज्यसँग भर पर्छ । जति छिटो बजेट आउँछ, त्यति नै छिटो पानी वितरण हुन्छ । आयोजना सम्पन्न भएपछि पहिलो प्राथमिकतामा राजगढ क्षेत्रमा पानी वितरण गरिने उनको भनाई छ । पाइप भएर मात्रै हुदैन, उनले भने – पाइप विस्तार गर्ने काम बाँकी नै छ । सरकारले नागरिकको स्वास्थ्य जीवनप्रति संवेदनशील भएमा तत्कालै बजेट व्यवस्थापन गरि पानी वितरणमा सहयोग गर्नुपर्ने उनको धारणा छ । चिकित्सकहरुका अनुसार आर्सेनिकयुक्त पानी मन्द विष हो । त्यसले मस्तिष्कमा असर गर्ने गर्छ ।

प्रकाशित मिति : माघ ९, २०७८ आईतबार  १० : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]