जेष्ठ ११, २०८२ शनिबार

झापामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान

रोहित काफ्ले

भद्रपुर । झापामा हात्तीपाइले रोगबिरुद्धको आमऔषधि सेवन अभियानका लागि आवश्यक तयारी सुरु गरिएको छ । एक दशकदेखि अभियान सञ्चालन भइरहेको झापामा हात्तीपाइले रोग निवारणको चरणमा नपुगिसकेकोले एघारौं पटक अभियान सञ्चालन हुन लागेको हो ।

झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा बिहीवार जिल्लामै पहिलो पटक अभियान बारे सर्वपक्षीय अन्तरक्रिया गरिएको छ । भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा अभियान बारे सञ्चालन गरिएको योजना तर्जुमा तथा बहुनिकाय गोष्ठीमा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले हात्तीपाइले रोग, यसबाट बँच्ने उपाय, आम औषधि सेवन अभियान र अभियानका प्रभावहरुका बारे जानकारी गराउनुका साथै तयारी बारे स्पष्ट पारेका थिए ।

सन् २०२० मै नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने प्रतिबद्धता नेपाल सरकारले गरे पनि केही जिल्लामा निवारण हुन नसक्दा अभियान थपिएको उनले जानकारी दिए । प्रदेश १ मा झापा र मोरङमा यो कार्यक्रम छ । उनका अनुसार यही फागुन २८ देखि आमऔषधि सेवन अभियान सञ्चालन हुनेछ ।

यसका लागि झापामा ६ सय स्वास्थ्यकर्मी र त्यति नै संख्यामा स्वास्थ्य स्वयम्सेविका परिचालन हुनेछन् भने जिल्लाका ८ लाख ४३ हजार नागरिकलाई औषधि सेवन गराउने लक्ष्य छ । उक्त संख्याका लागि करिब ९ लाख चक्की एडबान्डाजोल र २० लाख चक्की डीइसी औषधिको व्यवस्था गरिएको चौलागाईंको भनाइ छ ।

ब्राक्रोप्टी नामको परजीवीबाट लाग्ने हात्तीपाइले रोग सरुवा रोग मानिन्छ । उक्त परजीवी एक व्यक्तिबाट अर्को व्यक्तिमा लामखुट्टेको टोकाइबाट सर्दछ । यो रोग लागेका व्यक्तिहरुमा खुट्टा हात सुन्निे, पुरुषमा हाइड्रोसिल हुने, महिलामा यौनांग तथा स्तन सुन्निने हुन्छ ।

यो रोग लागिसकेपछि उपचार नहुने हुँदा रोग लाग्न नदिने उपायको रुपमा आमऔषधि औषधि सेवन गर्नुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
पछिल्लो तथ्यांक अनुसार झापामा हात्तीपाइले आशंका गरिएका २९० बिरामी छन् । तीमध्ये १४६ जनामा हाइड्रोसिल, १४० जना खुट्टा सुन्निएको र ६ जना हात र स्तन सुन्निएका बिरामी रहेको चौलागाईंले जानकारी दिए ।

स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईको अध्यक्षतामा स्वास्थ्य शाखाका मनोज भट्टराईले सञ्चालन गरेको सो गोष्ठीका प्रमुख अतिथि जीवनकुमार श्रेष्ठले हहात्तीपाइलेबिरुद्धको औषधिका सम्बन्धमा जनमानसमा अनावश्यक भ्रम रहेको बताउँदै विश्व स्वास्थ्य संगठनले प्रमाणित गरी प्रयोगका लागि पठाइएकोले बिनासंकोच सेवन गर्न आग्रह गरे ।

उक्त औषधि ओछ्यान परेका सिकिस्त बिरामी, दुई वर्षमु्निका केटाकेटी र गर्भवती तथा तीन महिनासम्मका सुत्केरीबाहेक सबैले सेवन गर्न मिल्ने जिल्लाका फोकल पर्सन चौलागाईंले जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन १२, २०७८ बिहीबार  ७ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]