जेष्ठ ६, २०८१ आईतबार

व्हील चियर दौडमा पवन अधिकारी प्रथम

इन्द्रकुमार राई

अर्जुनधारा । अर्जुनधारा अपाङ्गता स्वावलम्बन समाजले विविध खेलकुद प्रतियोगिता शनिबार स्थानीय अरुणोदय आधारभूत विद्यालयको खेलमैदानमा गरेको छ ।

स्वावलम्वन समाजको आयोजना तथा अर्जुनधारा नगरपालिकाको सहयोगमा नगर क्षेत्रभित्र अपाङ्गता भएका व्यक्तिहरुको शारीरिक विकास गराउने उद्धेश्य राखी खेलकुद प्रतियोगिता गरिएको हो । खेलकुद कार्यक्रमका प्रमुख अतिथि एवम् अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले प्रतियोगिताको उद्घाटन गरेका थिए । हिड्न नसक्नेहरुको व्हील चियर दौड प्रतियोगितामा पवन अधिकारी प्रथम , केबल बानियाँ दोस्रो र बोध बहादुर तामाङ तेस्रो भएका छन् ।

त्यस्तै, बहिरा तथा लाटाहरुको दौड प्रतियोगितामा युवराज खनाल प्रथम ,लोकेन्द्र श्रेष्ठ द्वितीय र केन्द्र श्रेष्ठ तृतीय भएको खेल निर्णायक संयोजक पुष्पलाल गिरीले जानकारी दिए । गिरी अनुसार म्यूजिकल चियर प्रतियोगिता विजेता समीक्षा कार्की र छेलो प्रतियोगिता विजेता टीका कट्टेल रहेका छन् । म्यूजिकल चियर र छेलो विजेता प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ दरले नगद पुरस्कार प्रदान गरिएको बताइएको छ । दुवै दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः १ हजार ५ सय , १ हजार र ५ सय रुपैयाँ नगद प्रदान गरिएको समाजका सहसचिव दिपेन्द्र काफ्लेले जानकारी दिए ।

स्वावलम्वन समाजका खेम रेग्मीको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि राना, अर्जुनधारा नगरपालिकाका उपमेयर कमला खतिवडा आचार्य , नगरपरिषद् सदस्य देवकुमार राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । सोही अवसरमा शुक्रबार भएको वक्तृत्वकला र कविता वाचन प्रतियोगितामा प्रथम , दोस्रो र तेस्रो हुनेहरुलाई नगद पुरस्कार वितरण गरिएको समाजका उपाध्यक्ष हरिप्रसाद चिमरियाले जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन १४, २०७८ शनिबार  ७ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]