निशान कालिकाधाम र याङ्वरक पोखरी संरक्षण आयोजना निर्माण सुरु
पाँचथर – पाँचथरको याङ्वरक गाउँपालिकास्थित निशान कालिकाधाम र याङ्वरक पोखरी संरक्षण आयोजना निर्माण गर्न थालिएको छ । याङ्वरक–४ स्थित धार्मिक एवं ऐतिहासिक क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले आवश्यक पूर्वाधार निर्माण गर्न लागिएको हो । कूल रु छ करोड ९४ लाख ६१ हजारको लागतमा निर्माण हुन लागेका ती आयोजना सांसद योगेश भट्टराईले शुक्रबार शिलान्यास गर्नुभयो । ती आयोजनाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७० प्रतिशत तथा गाउँपालिकाको ३० प्रतिशत रकम ब्यहोरेका छन् ।
आयोजनाअन्तर्गत निशान कालिकाधाम र याङ्वरक पोखरीे विस्तार एवं निर्माणसँगै बालउद्यान, विश्रामस्थल, धार्मिक तथा सांस्कृतिक महत्वका मूर्ति, माछा पोखरी र धारा, विश्रामस्थल तथा सेल्फी खिच्ने ठाउँ, स्थानीय संस्कृति, परम्परा तथा जनजीवन झल्कने मूर्ति, घण्टी, फूलबारी र पोखरीको दृश्य, नागको मूर्ति, मुख्य प्रवेशद्वार, याङ्वरक स्तम्भ, हतियारका आकृतिलगायत संरचना निर्माण हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले जानकारी दिनुभयो । सांसद भट्टराईले निशान कालिकाधाम तथा याङ्वरक पोखरी ती संरचनाको निर्माणपछि यहाँ नयाँ पर्यटकीय गन्तव्य थपिने भएकाले पूर्वाधारको विकाससहित प्रचारप्रसारमा पनि ध्यान दिन सुझाव दिनुभयो ।
पर्यटकीय क्षेत्रलाई स्थानीयवासीको आयआर्जनको माध्यम बनाउन सकेमात्रै सरकारी लगानीले उचित प्रतिफल दिने उहाँको भनाइ थियो । नेपाल एकीकरणका क्रममा तत्कालीन पल्लोकिराँत लिम्बुवानअन्तर्गतका सुब्बाले प्राप्त गरेका श्रीजङ्गी र श्रीकम्फू निशान प्रदर्शन तथा संरक्षण गर्ने स्थल रहेको निशान कालिका धाम धार्मिक महत्वको क्षेत्र मानिएको छ । याङ्वरक पोखरीलाई लिम्बु समुदायले साँस्कृतिक एवं धार्मिक आस्थाको केन्द्रको रुपमा लिने गर्दछन् । ‘याङ’को अर्थ पैसा र ‘वरक’को अर्थ पोखरी हो ।
भगवान् (तागेरा निङ्वाभुमाङ)ले स्नान गरेको विश्वास गरिने यो स्थानमा याङ र वरक झल्कने प्रतिमा विशेष आकर्षणका रुपमा रहने गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङ्हाङको भनाइ थियो। यहाँ पर्यटकीय पूर्वाधार निर्माणका लागि दुई वर्षअघि नै विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण गरिएको थियो । विसं २०८१ भित्र निर्माण गर्ने समझदारीसहित निर्माण कार्यको ठेक्का सम्झौतासमेत सम्पन्न भइसकेको गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बताउनुभयो । उहाँका अनुसार ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा देवी, तिम्बु पोखरी, मध्यपहाडी लोकमार्गको उद्गमबिन्दु चिवाभञ्ज्याङलगायत क्षेत्र पुग्ने पर्यटकलाई यहाँ आकर्षित गर्ने गाउँपालिकाको योजना छ ।