डोमालाल रंगशाला बनाइदिने घोषणा गर्दै ओलीले भने – यो जग्गामा कसैले आँखा नलगाउनु
बिर्तामोड । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि डामोलाल राजवंशी रंगशाला बनाइदिने घोषणा गरेका छन् । उनले राजवंशी परिवारले दिएको जग्गामा उनीहरुकै नाममा रंगशाला बनाइने घोषणा गरेका हुन् ।
शनिवारदेखि शुरु भएको पाँचौं झापा गोल्डकपको उद्घाटन गर्दै उनले केहि जग्गा फिर्ता ल्याउन बाँकी रहेको र त्यसलाई पनि छिट्टै फिर्ता ल्याइने बताए । अध्यक्ष ओलीले भने, सजिलोसँग जग्गा फिर्ता ल्याउन नसके कानुनी प्रक्रियाबाट फिर्ता ल्याइनेछ, ढुक्क हुनुहोस् । जग्गादाता परिवारलाई धन्यवाद दिदैं ओलीले रंगशाला डोमालाल राजवंशीकै नाममा बनाइदिने घोषणा गरेका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले खेलकुद क्षेत्रलाई राजनीतिबाट पृथक राख्नुपर्ने बताएका छन् । ‘खेलकुद एउटा पोलिटिकल पार्टी होइन, खेलकुदलाई राजनीतिबाट पृथक राख्नुपर्छ’, उनले भने, खेलकुदको विकासका लागि सबै पार्टी, सबै संघसंस्था र सरोकारवालालाई लाग्न म आग्रह गर्छु ।’
खेलकुद क्षेत्रको विकास सबैको चासो, चिन्ता र उन्नतिको विषय भएको उल्लेख गरेका छन् । अध्यक्ष ओलीले खेलकुद क्षेत्रको विकासमा आफू सदैव लागि परेको र लागिपर्ने धारणा राखेका छन् । झापा गोल्ड कपको सफताको कामना गर्दै अध्यक्ष ओलीले खेलाडीलाई इमान्दार भएर खेल्न आग्रह गरे । उनले भने, ‘खेलमा दक्षता प्रयोग गर्नुहोस्, कपट होइन, दक्षताबाटै खेल जित्न म आग्रह गर्छु ।’ आफ्नो पार्टी नेकपा (एमाले)ले खेल क्षेत्रको विकासलाई विशेष महत्व दिएको उनको भनाइ थियो ।
रङ्गशाला निर्माणका लागि डोमालाल राजवंशीको परिवारले दान दिएको जग्गामा कसैले आँखा नलाउन उनले आग्रह गरेका छन् । ‘म डोमालाल राजवंशी परिवारलाई धन्यवाद दिन्छु, जसले जग्गा दान दिएर रङ्गशाला बनेको छ’, उनले भने, ‘अरुले दान दिएको जग्गामा कसैले आँखा लगाउनु हुँदैन ।’
दमकमा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउन लागिपर्दा युवाहरुबाटै अवरोध भएको भन्दै ओलीले फेरि पनि इच्छुक भएमा बनाइदिने घोषणा गरे । ‘म युवाहरु मै लडाई भइरहेको अवस्थामा रंगशाला बनाउन सक्दिन’ उनले थपे ।