जेष्ठ ५, २०८१ शनिबार

चुनावमा भाग लिन झापामा ३६ दल दर्ता

बिर्तामोड । जिल्ला निर्वाचन कार्यालय झापामा आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि मङ्गोल नेशनल अर्गनाइजेसनसहित ३६ वटा दल दर्ता भएका छन् ।

कार्यालयका सूचना अधिकारी प्रेम न्यौपानेका अनुसार छ वटा राष्ट्रिय दल र ३० अन्य गरी ३६ वटा दल कार्यालयमा आइतबारसम्ममा दर्ता भएका हुन् । विसं २०७४ को स्थानीय निर्वाचनमा ३२ वटा दल दर्ता भएर निर्वाचनमा सहभागी भएका थिए । यसपटक थप चार नयाँ दल थपिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।

उनले मङ्गोल नेशनल अर्गनाइजेसन, मौलिक जरोकिलो पार्टी, जनमत पार्टीलगायत थपिएको बताए । कार्यालयले जिल्लामा चुनावमा भाग लिन इच्छुक दललाई दर्ता प्रक्रियाका लागि चैत २ देखि चैत ६ गतेसम्म समय दिएको थियो । निर्वाचन गराउन जिल्लामा छ हजार ६०० कर्मचारी परिचालन गरिने जनाउँदै धमाधम सरकारी कार्यालयसँग कर्मचारीको विवरण लिने काम भइरहेको उनले बताए ।

कार्यालयले निर्वाचन आयोगद्वारा निर्धारित मापदण्डअनुसारको जनशक्ति नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट काजमा झिकाइ निर्वाचनसम्बन्धी काममा खटाउने भएको छ । सरकारी कार्यालयबाट आएको विवरणको आधारमा जिल्ला जनशक्ति व्यवस्थापन समितिले आवश्यक कर्मचारीलाई कार्यालयमा काजमा ल्याई निर्वाचन प्रक्रियामा खटाइने उनको भनाइ छ ।

प्रकाशित मिति : चैत्र ९, २०७८ बुधबार  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]