बैशाख २४, २०८१ सोमबार

समृद्धिको आधार शिक्षा : भौतिक संरचना निर्माणसँगै गुणस्तरमा सुधार

शिवसताक्षी सेरोफेरो

झापाको शिवसताक्षी नगरपालिका शिक्षा क्षेत्रको विकासबाट समृद्ध हासिल गर्न सकिने उद्देश्यका साथ काम गरिरहेको छ । ०७४ को निर्वाचनबाट आएका जनप्रतिनिधिले नगरभित्रको शिक्षालाई विशेष प्राथमिकतामा राखेर समग्र शैक्षिक क्षेत्रको विकासमा लागेको तथ्याङकले देखिन्छ । भौतिक पूर्वाधार मात्रै विकास ठान्ने स्थानीय तहहरुले शिक्षालाई प्राथमिकता नदिएको अवस्था छ । तर, शिवसताक्षी नगरपालिकाले शिक्षालाई माथि उठाउन गरेका प्रयासहरु सन्तोषजक छ ।

शिवसताक्षी नगरपालिकामा ३४ वटा सामुदायिक विधालय छन् । ३ धार्मिक विधालय रहेको नगरमा २५ वटा नीजि विधालय छन् । माध्यमिक तहको १२, आधारभुत विधालय ९ र प्रावि तहका १३ विधालयमा जम्मा ११ हजार २० विधार्थी अध्ययनरत छन् । यस्तै, नीजि विधालयमा ९ हजार १ सय ५ जना विधालय अध्ययनरत छन् । शिक्षा तथा खेलकुद शाखाले शैक्षिक संस्थाको भौतिक संरचना निर्माण, मर्मत र गुणस्तरीय शिक्षालाई मुख्य प्राथमिकतमा राखेर काम गर्दै आएको जनाएको छ ।

छविलाल ढकाल – शिक्षा अधिकृत

शिक्षा तथा खेलकुद शाखाका शिक्षा अधिकृत छविलाल ढकालले शिवसताक्षीको मुख्य उद्देश्य शिक्षालाई गरिखान सक्ने , योग्य र प्राविधिक शिक्षा तर्फ उन्मुख गराउने बताएका छन् । उनले सोही आधारलाई शिक्षा शाखाले अंगिकार गरेको बताए ।

केहि वर्षअघिसम्म शिवसताक्षीका विधालयको भौतिक संरचना कमजोर थिए । सबैजसो विधालयका छानामा पुराना जस्तापाता थिए । चर्किएका भवनहरुमा विधार्थीहरु जोखिमपूर्ण अध्ययन गर्नुपर्ने बाध्यता थियो । अहिले नगरपालिकाले अधिकांश विधालयका जस्तापाना बदलेको छ । बजेटको प्रवन्ध र आवश्यकतालाई मध्यनजर गर्दै पक्की भवन निर्माण भएका छन् । छानाहरुमा जस्ता फेरिएका छन् । जनप्रतिनिधि र कर्मचारीको लगनशीलताले शिक्षामा नयाँ आयाम ल्याउने प्रतिवद्धा लगभग पुरा भएको छ । शिक्षा क्षेत्रको विकास एक क्षणमा गर्न नसकिने जनप्रतिनिधिहरुको भनाई छ । हरेक वर्ष शिक्षामा योजना निर्माण गर्दै बजेट विनियोजन गरिएको शिक्षा शाखाले जनाएको छ ।

पाँच वर्षे नगर शिक्षा विकास योजना २०८० को तयारी गरेर शिक्षा क्षेत्रको विकासमा लागेको शिवसताक्षी नगरपालिकाले नगर शिक्षा ऐन २०७६ तयार गरेर लागु गरिसकेको अवस्था छ । अपेक्षाकृत भौतिक संरचनाको विकास गर्न सफल भएको शिवसताक्षीले नियमित रुपमा अनुगमन, कार्यसम्पादन मुल्याङकन गर्दै आएको छ । हरेक विधालयको अनुगमनमा जनप्रतिनिधिको अनिवार्य सहभागिता गरेर शिक्षा शाखा परिणाम खोज्दै आएको छ ।

शिक्षा शाखाका अधिकृत ढकालका अनुसार स्थानीय तहमा शिक्षाको अधिकार आएपछि शैक्षिक संस्थाहरुलाई धेरै नै सहज भएको छ । सदरमुकामबाट टाढा रहेका विधालयहरु आफ्नो सुविधा उपभोग गर्न पनि दुरीका हिसावले समस्यामा थिए । अहिले नगरको केन्द्र भागमा स्थानीय तह छ । आफ्नो कुनै पनि काम गर्न केहि समयको बाटो पुरा गर्दा आइपुगिन्छ । विधालय क्षेत्रलाई हेर्ने जिल्ला स्थित तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट पर्याप्त अनुगमन तथा सुपरिवेक्षणका काम हुन सकेका थिएनन् । जसका कारण सामुदायिक विधालयहरुले परिणाम निकाल्न सकेका थिएनन् । आफ्नौ खुशीमा चलाइएका विधालयहरु जनप्रतिनिधिको मातहतमा आएपछि आमुल परिवर्तन भएको पर्याप्त उदाहरण छन्, शिवसताक्षीमा ।

विधालयलाई सुधार गर्न समुदायसँगको थप सहकार्य गरेर शिवसताक्षी नगरपालिकाले विधालयको शैक्षिक गुणस्तरमा लागेको बताइएको छ । यस्तै, विधार्थीको सिकाई सहजीकरणका लागि आवश्यक योजना निर्माण गर्दै काम गरेको नगरले जनाएको छ । शिक्षकलाई प्रविधिमैत्री बनाउँदै सिकाईमा थप सहजताका लागि हरेक शिक्षकलाई प्रविधि प्रशिक्षण प्रदान गरिएको छ ।

विधालयमा नगरपालिकाले कालोपाटी विस्थापनलाई तीब्रता दिएको छ । अधिकांश विधालयबाट कालोपाटी हटाइएको शिक्षा शाखाले जनाएको छ ।

सामुदायिक विधालयमा विधार्थीको आकर्षण गर्दै विधालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । खासगरी सामुदायिक विधालयमा खाजाको प्रवन्धले बालबालिकालाई विधार्थीमा आकर्षण बढेर गएको छ । खाजा कार्यक्रम प्रभावकारी भएकाले नगरभित्र शतप्रतिशत बाललिका विधालयमा आइसकेका छन् । शिक्षा शाखाका अधिकृत ढकाल भन्छन्, हाम्रो अनुमान अनुसार ०.५ प्रतिशत बालबालिका मात्रै विधालय बाहिर छन् । आगामी वर्षमा छुटेका बालबालिकालाई पनि विधालयको पहुँचमा ल्याइनेछ ।

शिक्षा अधिकृत छविलाल ढकालले गुणस्तरीय शिक्षामा जोड दिएको नगरपालिकाले अंग्रेजी माध्यमको अभ्यास पनि गरिरहेको छ । अंग्रेजी माध्यम पनि भएका विधालयहरु विधार्थीको राम्रो चाप छ । विधार्थीको चापसँगै नतिजा पनि विगतमा भन्दा सुधार भएको उनको भनाई छ ।

शिवसताक्षी नगरपालिको नगरको पहिलो बजेट कै अनुपातमा शिक्षालाई बजेट विनियोजन गरेको छ । सो बजेटबाट शिक्षक तलव, दिवा खाजा, सेनेटरी प्याड र त्यसको व्यवस्थापन, शौचालय तथा खानेपानी व्यवस्थापन, भौतिक संरचना मर्मत, निर्माण गरिरहेको अवस्था छ ।

भौतिक संरचना निर्माण तथा मर्मतका लागि नगरपालिकाले बाल सेवा आधारभुत विधालयलाई ४ लाख ५० हजार, भानु माविलाई २ लाख, बाल निकुञ्जलाई १ लाख ५० हजार, भानु मावि पारावारीलाई १ लाख गरेर बजेटको व्यवस्था गरिएको थियो । नगरमा एक विधालय एक नर्स कार्यक्रम सञ्चालन भइरहेको छ । यस्तै, प्रारम्भिक बाल विकास केन्द्र र कर्मचारीको तलव न्यूनतम १५ हजार बनाउने नगरको घोषणा समेत पुरा भइसकेको छ । संघीय सरकारको बजेटमा नगरले थप गरेर घोषणा अनुसारको तलव उपलब्ध गराइएको छ ।

स्थानीय पाठ्यक्रम निर्माणलाई प्राथमिकता दिएको नगरले स्थानीय आवश्यकता र औचित्यताका आधारमा तयार गर्ने सोच बनाएको छ । त्यसको आवश्यकता महसुस हुनासाथ स्थानीय पाठ्यक्रम निर्माण गरि लागु गरिने बताइएको छ । मुख्य गरेर विगतको संरचना र शिक्षाको गुणस्तरमा व्यापक परिवर्तन ल्याउने उद्देश्यले काम गर्दै आएको शिवसताक्षीले भौतिकपछि शिक्षालाई प्राथमिकतमा राखेको पाइन्छ ।

नगरभित्र ४८ जनाको कोटामा कम्प्यूटर इञ्जिनियरिङ कक्षा समेत सञ्चालन भइरहेको छ । भानु माविमा सञ्चालित सो कक्षामा अपेक्षाकृत सफलता हासिल गर्न सकिएको छ ।

स्थानीय तहको बजेटले विधालयहरुलाई अनुदान सहयोगको काम भइरहेको छ । प्राविधिक धारको विधालयलाई अनुदान, विपन्न तथा गरिव जेहेन्दार विधार्थीलाई छात्रबृत्ति, सिकाई आदान–प्रदान, शैक्षिक व्यवस्थापन तालिम, नमूना विधालय सञ्चालन अनुदान, विपन्न बालबालिकाका लागि शैक्षिक सामग्री प्रदान गर्ने गरिएको छ । शिवसताक्षीले तत्कालै शैक्षिक प्रदर्शनी र सांस्कृतिक कार्यक्रम गर्ने जनाएको छ ।

यस्तै, शिवसताक्षी नगरपालिकाले जिल्लामै ६ लाख रुपैयाँको शिक्षक तथा विधालय कर्मचारी सहयोग बनाएको छ । शिक्षक कर्मचारीलाई सहायता गर्ने उद्देश्यले उक्त कोष स्थापना गरिएको शाखाले जनाएको छ ।

धेरै समस्या समाधान भइसक्यो : प्रअ, चौधरी

सोही नगरमा रहेको भानु मावि पाराबारीका प्रधानाध्यापक विजय कुमार चौधरीले स्थानीय तहको स्थापनापछि शैक्षिक संस्थाले योजना अनुरुपको काम गर्न पाएको बताउँछन् । उनकै विधालयमा पहिले संरचना कमजोर भएको सुनाए । अहिले धेरै जसो समसया समाधान नै भइसकेको छ । सबैभन्दा ठुलो समस्या नै भौतिक संरचना हो, चौधरीले भने – पाँच वर्षमा सबै काम सकिदैन, तर मुख्य समस्याहरु समाधान भइसकेको अवस्था छ । उनले आफ्नो विधालयमा बाल विकासको लागि भौतिक संरचना बनाएको सुनाए । हिजोको दिनमा विधार्थी जोखिम पूर्ण संरचनामा अध्ययन गर्न बाध्य थिए । अहिले त्यस्तो अवस्था चाँहि छैन ।

प्रअ चौधरी कार्यरत विधालयमा कक्षा १ देखि ५ कक्षासम्म अंग्रेजी माध्यमको पठनपाठन सञ्चालन गरिएको छ । यो माध्यमबाट पठनपाठन गर्न पहिले संभव थिएन । नगरपालिका स्थापना भएपछि मात्रै गरिव, विपन्न परिवारका छोराछोरीले पनि अंग्रेजी माध्यमबाट पढ्न पाइरहेका छन् । अंग्रेजी माध्यमबाट पठनपाठक शुरु भएपछि ५० प्रतिशत विधार्थी विधालयमा भर्ना भएको उनको भनाई छ । गुणस्तरीय शिक्षाका लागि नगरको सहयोगले ठुलो योगदान पुगिरहेको छ । शिक्षक, विधालय र अभिभावकको प्राथमिकतामा गुणस्तरीय शिक्षा हुनुपर्छ । सबैको इच्छाशक्ति भएमा साुमदायिक विधालय अव्वब बनाउन सकिने प्रअ चौधरीको भनाई छ ।

कृषि औजार वितरणमा जोड

शिवसताक्षी नगरपालिकाले कृषि क्षेत्रमा कृषि औजार वितरणलाई प्राथमिकता दिएको छ । नगरको बजेटका आधारमा अनुदानमा कृषि औजार सामग्री वितरण गर्दै आएको कृषि विकास शाखाका प्रमुख रविन भट्टराईले जानकारी दिए । उनका अनुसार नगरले स्थापना कालदेखि नै कृषि क्षेत्रमा प्रविधिको सहायता प्रदान गरिरहेको छ ।

नगरको प्राथमिकतमा रहेको कृषि क्षेत्रको विकासमा र कृषिमा आकर्षण गर्न औजार वितरणलाई प्राथमिकतामा राखिएको बताइएको छ । नगरको कृषि विकास शाखाले कृषकलाई माग अनुसार यान्त्रिकरणमा जोड दिएको हो । कृषकलाई पावर टेलर, रिपर, मेसिन, स्प्रे ट्याङकी, सिंचाईका लागि बोरिङ अनुदान मार्फत वितरण गरिएको भट्टराईको भनाई छ ।

रविन भट्टराई – शाखा प्रमुख

नगरभित्रका अगुवा कृषकलाई आवश्यक तालिम प्रदान गरिएको छ भने कतिपय कृषकलाई कृषि औजार मर्मतको सीप सिकाइएको छ । समस्यामा आधारित रहेर घुम्ती शिविर हरु सञ्चालन गरिएको कृषि शाखाले जनाएको छ ।

यस्तै, कृषि उत्पादनलाई जोड दिदैं एक समूह एक उत्पादनमा किसानलाई उत्प्रेरित गरिएको छ । नगरभित्र वडा नं. ३ मा तोरी खेती गरिएको छ । मकैं, खरबुजा, तरबुजा अर्थात बगर खेतीलाई पनि आवश्यक सहयोग उपलब्ध गराएको कृषि शाखाका प्रमुख भट्टराईले जानकारी दिए ।

शिवसताक्षीमा कृषि वस्तुको बजारको समस्या पनि छ । कृषकले उत्पादन गरेको कृषि वस्तुले बजार नपाएको किसानहरुको गुनासो छ । त्यसका लागि आवश्यक व्यवस्थापन गर्न नगरपालिका लागिरहेको जनाएको छ । नगरपालिकाले आफै कृषि थोक बजारको निर्माण थालेको छ । शिवगञ्ज बजार पूर्व शिवगञ्ज कृषिथोक निर्माणको चरणमा छ । त्यो संरचना निर्माण भएपछि कृषकले आफ्नो वस्तुको उचित मुल्य पाउने विश्वास लिइएको छ ।

पारावारीमा पनि कृषि वस्तुको संकलन केन्द्र निर्माण भइरहेको शाखाले जनाएको छ । वडा नं. ३,४,५ र ६ नम्बरको उत्पादनलाई पारावारीमा संकलन केन्द्र स्थापना गरेर कृषकलाई बजारीकरणमा सहयोग गर्ने नगरपालिकाको लक्ष्य छ । यस्तै, तरकारी उत्पादनमा पनि नगरपालिकाले प्रत्यक्ष सहयोग गरेको जनाएको छ । कृषि शाखाले कृषकलाई नगद प्रोत्साहन गर्दै आइरहेको छ ।

यस्तै, साना किसान कृषक समूह पारावारीमा ट्याक्टर र थ्रेसर अनुदानमा प्रदान दिइएको छ । सो सामग्री प्रयोग गर्न पनि कृषकलाई छुटको व्यवस्था मिलाइएको छ ।

नगरस्थित कृषि विकास शाखाले किसानलाई चक्लावन्दी खेती प्रणालीमा समेत प्रोत्साहन गर्दै आएको छ । कृषि उत्पादन बृद्धि गर्न परम्परागत खेती प्रणालीलाई अन्त्य गर्नुपर्ने सूझाव दिने काम पनि भइरहेको छ । यसैगरी माटोको उपचारका लागि हरियो मल वितरणको काम भएको छ । माटोमा देखिने समस्याहरु समाधान गर्न नगरले माटो परीक्षण गर्दै हरियो मल वितरणलाई प्राथमिकतमा दिएको बताइएको छ ।

जाइका नेपालले कनकाई सिँचाई करिडोरमा मर्मतको काम थालेको छ । पुराना २२ शाखामा देखिएका संरचनागत समस्या समाधानमा जाइकाले सहयोग गर्ने जनाएको छ । जाइकाले शिवसताक्षीमा १ नं. शाखाको ६ नं. प्रशाखामा नमूना खेतीका लागि ठाउँ छनौट गरेको कृषि शाखा प्रमुख रविन भट्टराईले जानकारी दिए । बजारमुखी उत्पादनमा जोड दिने उद्देश्यले सो परियोजना सञ्जालनको तयारी थालेको छ । बेच्नका लागि उत्पादन नारा अघि सारेको जाइकाले थालेको काम कृषक र नगरकै लागि फलदायी हुने विश्वास लिइएको छ । नगरभित्र करिव २ सय हाराहारी कृषक समूह कृषि क्षेत्रमा काम गरिरहेका छन् ।

प्रकाशित मिति : चैत्र २०, २०७८ आईतबार  १० : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]