बैशाख ७, २०८१ शुक्रबार

शिवसताक्षीले थाल्यो आवासविहीनलाई घर हस्तान्तरण

शिवसताक्षी । झापाको शिवताक्षीमा जनता आवास कार्यक्रम अन्तर्गत बनाएको घर विहीन सुकुम्बासीलाई हस्तान्तरण गरिएको छ । आइतबार शिवसताक्षीका आवासविहीन पाँच परिवारलाई नगरप्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपालले घरको चावी हस्तान्तरण गरेका हुन् ।

घर प्राप्त गर्ने आवासविहीनहरुमा शिवसताक्षी न.पा. ११ का धनबहादुर गुरुङ्ग, रामकुमारी मण्डल, प्रेम भेट्वाल, होमबहादुर सार्की र शिवसताक्षी न.पा. ८ की फूलमाया सार्की रहेकी छिन् ।

शिवसताक्षी नगरपालिकाका ११ वटै वडाले सिफारिस गरेका घरविहीन नागरिकलाई आवासको व्यवस्था गरिएको नगरप्रमुख चन्द्रकुमार शेर्माले जानकारी दिए । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशका कुनै पनि नागरिक घर विहीन हुनुु हुँदैन भन्ने उद्देश्यका साथ ल्याएको जनता आवास कार्यक्रमले शिवसताक्षीका सुकुम्बासीलाई राहत मिलेको बताए । उनका अनुसार पहिलो चरणमा पाँच परिवारलाई हस्तान्तरण गरिएको हो ।

आगामी दिनमा जनता आवासको घर क्षेत्रमा बालबालिकालाई खेल्ले मैदान, स्वास्थ्यका लागि व्यवस्था, खानेपानीको व्यवस्था र आवास क्षेत्र घेराबारा गरिदै लैजाने मेयर शेर्माको भनाई थियो ।

त्यस्तै घर हस्तान्तरण कार्यक्रममा बोल्दै नगर उपप्रमुख भोजकुमारी नेपालले घर प्राप्त गर्ने परिवारलाई सबै छर छिमेकसँग मिलेर बस्न सुझाइन् । आवस क्षेत्र सबै जातजाति मिलेर बसेको समाजको रुपमा विकास गरी उदारणीय समाज बनाउन आवासमा बासोबास गर्ने परिवारलाई उपप्रमुख नेपालले आग्रह गरिन् ।

उक्त आवास ९ कठ्ठा क्षेत्रफलमा हाल १६ घर तयारी अवस्थामा रहेका छन् । त्यसमा एउटा घर मेची अभियानले बनाएका हो । नगरपालिकाले १ घर बराबर ९ लाख खर्च गरेको बताइएको छ । ३ कोठा र शौचालय सहितको चिटिक्क परेको घर पाएपछि घर प्राप्त गर्ने पाँच परिवारले खुसी व्यक्त गरेका छन् ।

घर प्राप्त गर्ने शिवसताक्षी ११ का धनबहादुर गुरुङ्गले अर्काको घरमा बसेर जीवनको आधा दशक पुरा गरी आज नगरपालिकाले घर उपहारको रुपमा दिदाँ जीवनको सबै भन्दा खुसीको क्षण भएको बताए । सरकारले यसरी घरै बनाइदिएर दिन्छ भन्ने लागेकै थिएन । उनले भने, हामी गरिब दुःखीका पनि दिन फर्किदो रहेछ । उनले घरको सरसफाई गरेर तीन दिनपछिबाट बस्न आउने बताए ।

त्यस्तै शिवसताक्षी ८ की फुलमाया सार्कीले आफुले घर पाएको खुसी व्यक्त गरिन् , उनले भनिन् सरकारले घरदिन्छ भन्थे विश्वास लागेको थिएन । तर नगर सरकारले त गरिबलाई नै हेर्दाे रहेछ ।

घर प्राप्त गर्ने सुकुम्बासी परिवार सबै कृषि मजदुर हुन् ।उनीहरु अर्काको घरमा बसेर मजदुरका रुपमा काम गर्दै आएका छन् । उनीहरुलाई रोजगारको ग्यारेन्टी गर्ने नगरपालिकाले जनाएको छ ।

घर हस्तान्तरण कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष कुलबहादुर बस्नेत, वडा नं. ११ अध्यक्ष भैरवकुमार श्रेष्ठ, नेकपा एमाले जिल्ला कमिटी सदस्य डिल्ली रमण खतिवडा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिवसताक्षी नगरपालिका प्रशासन प्रमुख डिल्ली नेपालले गरेका थिए ।

प्रकाशित मिति : चैत्र २०, २०७८ आईतबार  ७ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]