बैशाख ४, २०८१ मंगलबार

विगतभन्दा बलियो एमाले

चेतन अधिकारी

नेकपा एमालेविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एस) र राष्ट्रिय जनमोर्चा स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने तयारीमा छन्। एमालेविरुद्ध एकजुट हुन खोजेका यी पार्टी अदालतको परमादेशबाट नौ महिनादेखि सरकारमा छन्। राजनीतिमा सामान्यतः एउटा अभ्यास के हो भने सत्ताका विरुद्ध विपक्षीहरू गठबन्धन गर्छन् नै। तर, नेपालमा एउटा यस्तो अपवाद छ, जहाँ विपक्षी दलका विरुद्ध सत्ता गठबन्धन संघर्ष गरिरहेको छ। पाँच वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा एमालेले ४१ प्रतिशत सिट जितेको थियो।

सूर्य चिह्नबाट विजयी भएका करिब १४ हजार जनप्रतिनिधिले स्थानीय सरकार पाँच वर्ष सञ्चालन गरे। त्यतिबेला पनि एमाले प्रतिपक्षी भूमिकामा नै थियो। संयोग त्यसबेला पनि कांग्रेस माओवादीको सत्ता गठबन्धन थियो र प्रधानमन्त्री पनि शेरबहादुर देउवा नै थिए। अहिले पनि एमाले विपक्षमै छ, सत्तामा प्रधानमन्त्री देउवा नै छन्। सत्ता गठबन्धनमा कांग्रेस माओवादी जनता समाजवादी र एमालेबाट फुटेको नेकपा (एस) संलग्न छन्। २०७४ को र अहिले समानता त्यति मात्र होइन, त्यसबेलाको निर्वाचनमा पनि कांग्रेस माओवादी ठाउँठाउँमा गठबन्धन भएकै हो। एमालेले भने विपक्षी दलको हैसियतमा निर्वाचन लडेरै भए पनि शानदार विजय हासिल गरेको थियो। २०७४ को स्थानीय तहको निर्वाचन एमालेका लागि नयाँ इतिहास रच्ने अवसर बन्यो। जसमा एमालेले २३ वर्ष पछि ठूलो दलको मान्यता प्राप्त गर्‍यो। त्यसकै निरन्तरता स्वरूप अहिले माधव नेपालहरू चोइटिएर गए पनि फराकिलो अन्तरका साथ एमाले नेपालको ठूलो दल हो। 

एमाले कमजोर होइन थप बलियो बन्दै

अवस्थामा ठूलो बदलाव नआए २०७९ वैशाख ३० नेपालमा स्थानीय तहको निर्वाचन हुनेछ। त्यसको अर्थ अहिले नेपालका सबै राजनीतिक दललाई निर्वाचनको चटारो हुनुपर्ने हो, छ त ?आमजनताले भन्लान्। भन्लान्, एमालेबाहेक अरू दललाई निर्वाचनको चटारो देखिँदैन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दैनिक सातवटासम्म आमसभालाई सम्बोधन गर्दै देश दौडाहामा छन्। यो क्रम केही दिनयता मात्र सुरु भएको होइन। माघदेखि नै उनको सक्रियता बढेको बढ्यै छ। माओवादीका अध्यक्ष वा कांग्रेसका सभापति देउवा यसरी निर्वाचनका आमसभामा हिँडेका छैनन्। उनीहरूका नेता कार्यकर्ता निर्वाचनमा यसरी खटेका छन् त ? छैनन्। त्यसो भए उनीहरू के गर्दैछन् त ? उनीहरू गठबन्धनको मोडालिटी बनाउन विज्ञप्ति ड्राफ्ट गर्दैछन्। अनि कार्यकर्ता ? कार्यकर्ता केन्द्रको निर्णय पर्खेर कोठे बैठकहरूमा सीमित छन्। अर्कोथरी केन्द्रको निर्णय मान्ने र नमान्ने विवादमा पालिका पालिकामा वक्तव्यबाजी गर्नमै व्यस्त छन्। तेस्रोथरी आफू खुसी पालिकामा उम्मेदवारी घोषणा गरेर गठबन्धनलाई नै चुनौती दिँदैछन्। एमालेका पालिका कमिटीहरू धमाधम आफ्ना उम्मेदवारहरू सिफारिस गर्दैछन्। कतिपय ठाउँमा सर्वसम्मत भइसके। यसका लागि एमालेले चैत ३० गतेको समयसीमा तोकेको छ। गठबन्धनका दलहरू कुन पालिका कसको भागमा पर्ने हो भनेर अहिले पनि रनभुल्लमा नै छन्।

के यतिले मात्र एमाले पहिलेभन्दा बलियो पार्टी बनेको हो त ? होइन अरू धेरै कारणले एमाले विगतको निर्वाचनमा भन्दा बलियो बनेको छ। जस्तै त्यसबेला नेकपा एमालेका करिब ८ लाख संगठित सदस्य थिए। अघिल्लो महिनाको तथ्यांक अनुसार एमालेमा ११ लाख संगठित सदस्य छन्। पाँच वर्षमा कम्तीमा ३ लाख पार्टी सदस्य एमालेमा थपिए। त्यसो त माधव नेपालले पनि संगठित सदस्यहरू लगे होलान् भनेर प्रश्न उठ्न सक्छ। उत्तर पनि सजिलो छ। एमालेबाट जम्मा ९ प्रतिशत नेता माधव नेपालसँग गए। यो क्रम सांगठनिक संरचनामा जति तल झर्‍यो त्यति खस्कँदो छ। कार्यकर्ता तहमा जम्मा ४ प्रतिशत एमालेका संगठित सदस्य माधव नेपालसँग गएको एमालेको हिसाब छ। मतदाताको तहमा करिब ३ लाख मतदाता नेपालको पार्टीमा मत हाल्ने अनुमान एमालेको छ। यसको क्षतिपूर्ति कसरी हुन्छ त भन्ने प्रश्न आम मानिसले उठाउन सक्छन्। त्यसका लागि अहिलेको नेकपा एमालेको संरचनालाई हेरे माधव नेपालको पूरताल कहाँबाट हुन्छ भन्ने स्पष्ट हुन्छ।

२०७७ फागुन २३ पछिको एमाले नेकपाको निरन्तरता हो। किनकि त्यसयताको एमालेमा पूर्वमाओवादीका वरिष्ठ नेताहरू पनि छन्। रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहरूलाई हेर्ने हो भने एमाले नेकपाको निरन्तरता हो भन्ने कुरामा कसैले प्रश्न उठाउन सक्दैन। उनीहरू चितवनमा मंसिरमा सम्पन्न पार्टीको दसौं महाधिवेशनबाट उपाध्यक्षदेखि सचिव र स्थायी कमिटीसम्मका कमिटीमा आबद्ध छन्। यसैगरी प्रदेश, जिल्ला, पालिका र वडातहसम्म माओवादीको ठूलो पंक्ति एमालेमा समाहित भएको छ।

सर्वोच्चले नेकपा विभाजन गरेर पार्टीको पूर्ववत् अवस्थामा फर्काइ दिएपछि माओवादी केन्द्रमा एमालेको कोही नेता समाहित भएको छ ? माधव नेपालको पार्टीमा माओवादीका कोही नेता गए त ? न माओवादीको स्थायी कमिटीमा एमाले छोडेर गएका कोही नेता छन् न त एस पार्टीमा माओवादी छोडेर कोही नेता आएका छन्। त्यसैले एमाले २०७४ सालको निर्वाचनमा भन्दा थप बलियो बनेको छ। त्यसलाई पुष्टि गर्ने धेरै तर्कहरू छन्। स्वयं प्रधानमन्त्री देउवाले पार्टीको केन्द्रीय कमिटीको बैठकमा वा अन्य फोरममा पनि ‘ओलीको पार्टी कमजोर भएको छैन, थप बलियो भएको छ’ भनेर स्विकारेका छन्। एमाले थप बलियो भएको अर्को आधार २०७४ को निर्वाचनमा एमालेविरुद्ध कांग्रेस माओवादी गठबन्धन थियो। अहिले दुई पार्टीले मात्र एमालेलाई हराउन सकिँदैन भनेर त्यसमा तीन थपेर पाँचवटा पार्टीको गठबन्धन भएको छ।

एमालेले १०औं महाधिवेशनमार्फत केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्र, पोलिटब्युरो र स्थायी कमिटी गठन गर्‍यो। मंसिरयता केन्द्रीय कमिटीका तीनवटा बैठक भइसके। माओवादीले पनि महाधिवेशन त गर्‍र्यो अध्यक्षमा प्रचण्डलाई छान्यो तर पदाधिकारी छान्न अझै सकेको छैन। स्थायी कमिटी पनि बनेको छैन। मौसमले रोकेको अवस्थाबाहेक एमालेले एकैदिन पुस २३ गते ७७ वटै जिल्लाका अधिवेशन गर्‍यो। त्यसअघि सबै वडा र पालिकाका अधिवेशन पनि पार्टी उत्सवका रूपमा एकैदिन गर्‍यो। यत्रो ठूलो पार्टीमा देशैभरिका संरचनामा एकैपटक नयाँ नेतृत्व चुन्ने काम पक्कै सहज होइन। एमालेबाहेक अरू पार्टीले अहिले यो कामलाई असम्भव ठानेका छन्। 

एमाले विगतभन्दा बलियो भएका अरू पनि आधार छन्। २०७४ को स्थानीय तहको निर्वाचनका बेला केपी शर्मा ओलीलाई मधेस विरोधी नेता र एमालेलाई मधेस विरोधी पार्टीको विम्बको रूपमा प्रयोग गरिएको थियो। साँँच्चै भन्ने हो भने त्यसबेला एमाले मधेस पस्ने सम्भावना नै थिएन। मधेसमा एमालेविरुद्धको जनमतको बिगबिगी थियो। त्यति बेला देशका विभिन्न ठाउँमा भएका सयौं आमसभामा अध्यक्ष ओलीले सम्बोधन गरे पनि मधेसका दुईवटा आमसभामा मुस्किलले पुग्ने वातावरण बनेको थियो। राजमार्ग छेउका क्षेत्रहरू बर्दिबास र चन्द्रनिगाहपुरमा मधेसवादी दलको अवरोधका बीच अध्यक्षले आफ्नो उपस्थिति देखाएका थिए। 

  • २०७४ मा भन्दा एमाले थप बलियो भएका केही आधार
  • अध्यक्ष ओलीप्रति आम जनताको भरोसा
  • पार्टी सदस्य ८ लाखबाट ११ लाख पुगेको
  • ओली सरकारले गरेका दूरगामी कामहरूको प्रभाव 
  • माधव नेपालले लिएर गएका नेता कार्यकर्ताको पुर्ताल पूर्वमाओवादीबाट
  • स्थानीय तहका जनप्रतिनिधिको निरन्तर एमाले प्रवेश
  • दैनिक हजारौंको संख्यामा सशरीर अन्य पार्टी त्यागेर एमाले प्रवेश
  • गतिशील संगठन, जनतामा घुलनशील नेता कार्यकर्ता

अहिले मधेसमा एमालेको स्थिति के छ ? मधेसमा केपी ओलीप्रतिको धारणा के छ ? मधेसमा एमाले प्रवेशको लहर के छ ? यो जगजाहेर नै छ। वीरगन्जका मेयर विजय सरावगी हुन् वा जगन्नाथपुर गापाका अध्यक्ष जालिम मियाँ, एमाले प्रवेशको होडबाजी नै छ। त्यति मात्र होइन, मधेसका पालिकाहरूबाट अध्यक्ष ओलीलाई सम्बोधनका लागि मागहरू उसैगरी आउने गरेका छन्। ओली पुगेका ठाउँको जनलहर र अन्य पार्टी त्यागेर एमाले प्रवेशका लागि सशरीर उपस्थित भएकाहरूबाट के स्पष्ट हुन्छ भने एमाले अब मधेसमा पनि ठूलो दल हो। ठूलो जनसंख्या, धेरै स्थानीय तह र उच्च मतभार बोकेको मधेस प्रदेशमा एमाले अहिलेसम्म तेस्रो, चौथो पोजिसनमा थियो। तर अबको हुने निर्वाचनले एमालेले अब पहिलो हुनबाट रोकिने स्थिति देखिँदैन।

ओली समकालीन नेपाली नेताहरूभन्दा कयौं गुणा बढी सक्रिय छन्। आफूले भन्न खोजेको कुरा सहजै बुझाउन सक्ने र जनमानसलाई सजिलै आकर्षण गर्न सक्ने नेताका रूपमा चिनिन्छन्। जसले गर्दा हिमाल, पहाड वा मधेस जहाँ पुगे पनि ओलीको कुरा सुन्न, प्रत्यक्ष हेर्न आउनेको भीड बढिरहेकै छ। त्यसका लागि थोरै जनसंख्या भएका हिमाली जिल्ला जुम्ला र कालीकोटमा चैत्र १७ गतेको आमसभामा भेला भएका मान्छे हेरे पुग्छ।

एमाले महासचिव शंकर पोखरेल विगतमा भन्दा पाँचवटा कारणले एमाले जनता माझ लोकप्रिय भएको दाबी गर्छन्। पोखरेलको भनाइमा ओली प्रधानमन्त्री भएका बेला सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध, मधेसी दल, सीके राउत र विप्लवसहितको संविधानको सर्वस्वीकार्यता, ओली सरकारका लोकप्रिय काम, दीर्घकालीन विकासको लहर एवं नेपाल र नेपालीको भविष्यमा एमालेको दृष्टिकोण। यिनै कारण नयाँ मतदाता एमालेको पक्षमा भएको उनी दाबी गर्छन्। यी सबै आधार हेर्दा अब एमालेको पक्षमा जनलहर देखिनेमा संशय छैन। – अन्नपूर्णबाट

प्रकाशित मिति : बैशाख १, २०७९ बिहीबार  १ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]