बैशाख २०, २०८१ बिहीबार

झापामा गठबन्धनभित्र खटपट

बिर्तामोड । नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेको अन्तरवार्ता र सचिव कृष्ण हुमागाईको फेसबुक स्टाटसले झापाको गठबन्धनमा तरंग ल्याएको छ । निरन्तर वार्ता संवाद गर्दै भागवन्डाका लागि छलफल गरिरहेको गठबन्धनमा आइतवार दिनभरको गतिविधिले अघि नबढ्ने संकेत गरेको छ । तथापि, गठबन्धनमा रहेका केहि दलका नेताले गठबन्धन नतोडिने दावी गरेका छन् ।

सभापति देउमान थेवेले एक टेलिभिजनमा अन्तरवार्ता दिदैं अन्य दलले अव्यवहारिक माग दावी गरिरहेको र यसैगरी गठबन्धन अघि बढ्न नसक्ने संकेत गरेका थिए । नेपाली कांग्रेस झापाका नेताहरुले कार्यकर्तालाई रुखमा मतदान गर्न तयारी रहनका लागि आग्रह गरेपछि गठबन्धनमा हलचल मच्चिएको छ ।

झापा कांग्रेसका सचिब कृष्ण हुमागाईले कांग्रेसले ‘बोल्ड’ निर्णय गर्ने तयारी गरेको सामाजिक सञ्जाल फेसबुकमा स्टाटस नै लेखे । उनको लेखाईपछि धेरै कार्यकर्ताले खुशी व्यक्त गरेका छन् भने कतिपयले गठबन्धन तोड्न नहुने प्रतिक्रिया दिएका छन् ।

गठबन्धनभित्र तीब्र खटपट बढेपछि कांग्रेसका नेताहरुले सार्बजनिक रुपमै एक्लाएक्लै चुनाबामा जाने अभिव्यक्ति दिन थालेका छन् । अन्तरवार्तामा सभापति थेवेले गठबन्धनभित्र रहेका अन्य दलहरुले अब्यवहारिक माग गरेका कारण अघि बढ्न नसकिने संकेत गरेका थिए ।

कांग्र्रेस कार्यकर्ताको व्यग्र चहाना र इच्छा बमोजिम एक्लै चुनाबमा गएर रुखमा मतदान गर्ने तयारी गर्न नेताहरुले आग्रह गरेका गरिसकेका छन् । झापामा गठबन्धन भित्र ठुलो शक्ति रहेको कांग्र्रेसले नै पालिकामा प्रमुख- उपप्रमुख नपाउने अवस्था बनेपछि चिडिएको बुझिएको छ ।

झापाका सभापति थेवे भन्छन् – सबै पालिकामा माओवादी र समाजबादीको माग छ । साना दललाई पनि केही ठाउँ दिनैपर्यो, हामी चै खाली हात हुने कुरा हुँदैन । इजलाससित कुरा गर्दै उनले भने– ठुलो समूह भएपछि समाधान खोज्न नसकेकै कारण ४ सदस्यीय कार्यदल बनाएका छौं । उनले गठबन्धन छलफल मै रहेको समेत जानकारी दिए ।

कार्यदललाई सोमवार ११ बजेसम्मको समय दिइएको बताउँदै उनले भने, हामी हदैसम्म लचक भइरहेको छौं । लचक हुँदा पनि मिलेन भने विकल्प सबैका लागि छदैंछ । केन्द्रीय सर्कुलरको विधि अनुसार सहमति हुन सकेन भने आआफ्नो पार्टीबाट निर्वाचनमा जाने विकल्प रहेको उनको भनाई छ । अव्यवहारिक माग रहेसम्म सहमति हुन नसक्ने थेवेको प्रतिक्रिया थियो ।

समाजबादी र माओबादीले १० पालिका दाबी गरेपछि कांग्रेस गठबन्धनबाट बाहिर निस्किन अन्तिम तयारीमा छ । अनौपचारिक रुपमा बाहिरिएको बताए पनि औपचारिक निर्णय गरिसकेको छैन । सभापति थेवेले अझै समय बाँकी रहेकाले छलफल र वार्ता गरेर समाधान गर्ने तर्फ केन्द्रीत हुने बताएका छन् । कांग्रेस गठबन्धनबाट बाहिरिने खबरले कांग्रेस कार्यकर्ताभित्र मिश्रित प्रतिक्रिया आइरहेको छ ।

नेकपा समाजवादीका प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले झापामा गठबन्धनभित्र कुनै पनि सहमति हुन नसकेको बताएका छन् । उनले कांग्रेस र माओवादीको घमण्डका कारण सहमति जुट्न नसकेको प्रतिक्रिया दिए । आइतवार विहान बसेको बैठक विना निष्कर्ष टुङ्गिएको सिग्देलको भनाई छ ।

झापाका सबै उपमेयर र उपाध्यक्ष माओवादीले दावी गरिरहेको छ, सिग्देलले भने – मतभारका आधारमा बढि मत ल्याएका वडाहरु समेत माओवादीले मागेपछि सहमति हुन सकेको छैन । उनले नेकपा समाजवादीको ठुलो अपेक्षा समेत नभएको प्रतिक्रिया दिएका छन् । हाम्रो धेरै अपेक्षा छैन, कांग्रेसले माओवादीलाई व्यवस्थापन गर्न नसक्दा समस्या भइरहेको छ, उनले थपे ।

यस्तै, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सचिवालय सदस्य सिपी कडरियाले ०७४ को निर्वाचनमा कांग्रेस माओवादीको पोजिशन ५८-४८ भएको जानकारी दिए । उनले गठबन्धनलाई अघि बढाएर लैजाने सवालमा सहमतिका लागि ७०-३० को अडान राखेको बताए । झापामा गठबन्धनलाई बलियो बनाएर लैजाने सवालमा सबै प्रतिबद्ध भए पनि सार्वजनिक भएका अभिव्यक्तिले समस्या हुने उनको तर्क थियो ।

सबैका आ–आफ्ना अडान छन्, कडरियाले भने – गठबन्धनलाई अघि बढाएर लैजान सबैले पुर्नविचार गर्नुको विकल्प छैन । माओवादी हिजोकै अवस्थामा नरहेका कारण आफुहरुको माग व्यवहारिक भएको दावी गरेका छन् । स्थानीय चुनावका लागि मात्रै गठबन्ध नगरिएको स्मरण गर्दै माओवादी झापाका सहइञ्चार्ज समेत रहेका कडरियाले सबैले सबैलाई सम्मान गरेर जाने अवस्था भएमा सहमति टाढा नभएको उनको भनाई छ । ०७४ को निर्वाचनमा माओवादीले जितेको वडाभन्दा अहिले एक्लै चुनाव लढ्दा पनि तीन गुणा जीत हासिल गर्ने अवस्था छ, उनले थपे – त्यसैले हाम्रो माग अव्यवहारिक छैन ।

केन्द्रीय कार्यदलको ७ बुँदे निर्देशन बमोजिम अघि बढ्ने हो भने समस्या रहँदैन, तर कांग्रेसले एउटा बुँदा मात्रै समातेका कारण सहमति हुन सकिरहेको छैन, कडरियाले थपे ।

प्रकाशित मिति : बैशाख ५, २०७९ सोमबार  ६ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]