झापाको गठबन्धनमा सहमतिको संभावना
बिर्तामोड । नेपाली कांग्रेसका नेता सुधिर शिवाकोटीले गठबन्धनमा सहमतिका लागि छलफल जारी रहेको बताएका छन् । दुई दिनअघि स्थिति विग्रिएको गठबन्धनमा फेरि आन्तरिक छलफल शुरु भएको नेता शिवाकोटीको भनाई छ ।
नेता शिवाकोटीका अनुसार गठबन्धनका बिचमा बुधबार साँझसम्म भागवण्डा टुङ्गो लगाउने तयारी भएको छ । उनले भने, सहमतिका लागि कोशिस जारी छ । दलहरु अडानमा केहि लचक भएका कारण सहमति हुने संभावना बढेर गएको छ ।

झापामा तीनदिन देखि गठबन्धनको औपचारिक बैठक बस्न सकेको छैन । यसविचमा कार्यदलमा अनौपचारिक छलफल चलिरहेको उनको भनाई छ । गठबन्धनभित्र रहेका दलहरुलाई मिलाउन नेपाली कांग्रेसले अलग–अलग भेटघाट गरिरहेको छ । कांग्रेस बाहेकका दलहरु समेत आपसी छलफल गरिरहेको बुझिएको छ ।
गठबन्धनमा समस्या जटिल भइसकेको थियो, फेरि समालिएको छ, कांग्रेसका पूर्व केन्द्रीय सदस्य शिवाकोटीले भने – सबैले एक कदम पछि हट्ने अवस्था बन्यो भने सहमति नजिक छ । सबै दललाई मिलाएर लैजान विगतको मतभार, पार्टीको संगठन संरचनालाई आधार मानिने र लेनदेन मिलाइने उनको भनाई थियो ।
यस्तै, दमकको मेयर राप्रपालाई दिएको हो भन्ने जिज्ञासामा जवाफ दिदैं उनले भने – प्रस्ताव आएको छ । निर्णय नै चाँही भइसकेको छैन । राप्रपालाई पनि सँगै लिएर जाने कुरा चलिरहेको छ । त्यसका लागि छलफल चलिरहेको छ ।