बिर्तामोडसहित झापाका ६ पालिकाले लगाए कोभिडविरुद्धको पूर्ण मात्रा खोप
झापा । झापाका ६ वटा स्थानीय तहले १२ वर्षभन्दा माथिको उमेरका सबैलाई कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार झापाका ६ पालिकामा १२ वर्षमाथिका नागरिकले कोभिडको पूर्ण मात्रा खोप लगाएका छन् ।
झापाको बुद्धशान्ति गाउँपालिका, कन्काई नगरपालिका, कमल गाउँपालिका, दमक नगरपालिका, गौरीगञ्ज गाउँपालिका र विर्तामोड नगरपालिकाले खोप लगाइसकेको दाहालको भनाई छ ।
सरकारले हालसम्म ११ जिल्लाका १२ वर्षभन्दा माथिको उमेरका सबैलाई कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाखभित्र सबै नागरिकलाई खोप लगाइसक्ने प्रतिवद्धता जनाएको छ ।
सोलुखुम्बु, काठमाडौँ, ललितपुर, भक्तपुर, मुस्ताङ, मनाङ, कास्की, गोरखा, नवलपरासी पूर्व, स्याङ्जा र रुपन्देहीमा सबैलाई खोपको पूर्ण मात्रा लगाइएको छ । ‘अहिलेसम्म कूल जनसंख्याको ७५.९ प्रतिशतले खोपको पहिलो मात्रा र ६६.४ प्रतिशतले पूर्ण मात्रा लगाइसकेका छन्’, उनले भने । यस्तै १८ वर्षभन्दा माथिका ९४ प्रतिशतले पहिलो मात्रा र ८३.२ प्रतिशतले खोपको पूर्ण मात्रा तथा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामध्ये ९२ प्रतिशतले खोपको पहिलो मात्रा र ७६ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् ।
प्रदेश नं १ मा ७९.२, मधेस प्रदेशमा ७३.३, बागमती प्रदेशमा ९२.३, लुम्बिनी प्रदेशमा ८५.४, कर्णालीमा ७०.१ र सुदूरपश्चिम प्रदेशमा ७५.६ प्रतिशतलाई खोपको पूर्ण मात्रा लगाइएको छ । यस्तै गण्डकी प्रदेशमा १२ वर्षभन्दा माथिका उमेर समूहका शतप्रतिशतलाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
यसैगरी ताप्लेजुङको फुङलिङ नगरपालिका, संखुवासभाको मकालु गाउँपालिका र खाँदबारी नगरपालिका, सोलुखुम्बको खम्बु पासाङ नगरपालिका, महाकुलुङ गाउँपालिका, सोटाङ गाउँपालिका र लिखुपिके गाउँपालिका सतप्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् ।