झापाका गाउँगाउँ पुग्न थाले कृषि गणक
बिर्तामोड । झापामा कृषि गणना शुरु गरिएको छ । जिल्लाका १५ वटै पालिकामा कृषिगणनाको लागि सुपरिवेक्षक र गणक गरी १६६ जनालाई खटाइएको छ ।
कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार भन्ने मूल नाराका साथ राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागले झापासहित देशभर वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म कृषिगणना गर्न शुरु गरेको हो । कृषि गणनाका लागि झापामा चैत १ गते जिल्ला कृषि गणना कार्यालयको स्थापना गरिएको थियो ।

झापामा ३३ जना सुपरिवेक्षक र १३३ जना गणक खटाइएको कृषि गणना अधिकृत चूडामणि लुइँटेलले जानकारी दिए ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार झापामा ९ हजार ४ सय कृषि परिवार रहेको छ । सोही तथ्यांकलाई आधार मानेर जिल्लाको १३१ वडामा ३७६ वडाखण्ड विभाजन गरी सुपरिवेक्षक र गणक खटाइएको बताइएको छ ।
करारमा नियुक्ति भएका सुपरिवेक्षक र गणकलाई चैत २७ देखि बैशाख ५ गतेसम्म मेची क्याम्पसमा तालिम दिइएको थियो । त्यसपछि तथ्यांक संकलनका उनीहरुलाई पठाइएको छ । ४५ दिनसम्म घरदैलोमा गएर गणकले तथ्याङक संकलन गर्ने लुइँटेलले जानकारी दिए ।
कृषि मन्त्रालयले आगामी १० वर्षमा कृषि क्षेत्रमा गरेको लगानी कतिको सदुपयोग भन्ने उद्देश्यले पनि गणना गर्न शुरु गरेको उनको भनाई छ । कृषक परिवार भन्नाले तराईका जिल्लामा कम्तीमा ८ धुर क्षेत्रफलमा बाली लगाएको हुनुपर्ने, जुनसुकै उमेरका कम्तीमा एक वटा गाईभैसीं जस्ता ठुला चौपाया पालेको हुनुपर्ने, कम्तीमा ५ वटा भेडा बाख्रा जस्ता साना चौपाया पालेको हुनुपर्ने, माउ चल्ला गरी कम्तीमा २० वटासम्म पाल्तु पंछी कुखुरा वा हास भएमा तथ्यांक संकलन गरिने छ ।
२०१८ सालदेखि हरेक १०-१० वर्षमा कृषि गणना गर्न थालिएको हो । तथ्यांक विभागले यस वर्षको कृषि गणना भने १ चैत २०७८ देखि ७७ वटै जिल्लामा कृषि गणना कार्यालय स्थापना गरी गणना सुरु गरेको थियो । विगतका कृषि गणनाहरुमा जिल्लास्तरीय कृषि तथ्यांक मात्रै प्रकाशन गर्दै आएकोमा यस पटक ७५३ वटै गाउँपालिका÷नगरपालिका सम्मको कृषि तथ्यांक संकलन हुनेछ ।
वैज्ञानिक विधि प्रयोग गरी करिव ३ लाख ५० हजार कृषक परिवार छनोट गरेर कृषक परिवार प्रश्नावलीमार्फत कृषि तथा पशुपन्छीपालनसम्बन्धी विस्तृत विवरण संकलन गर्ने लक्ष्य लिइएको छ ।