बिर्तामोडका दलहरुलाई आचारसंहिता पालना गर्न आग्रह
बिर्तामोड । बिर्तामोडमा रहेका राजनीतिक दलहरुलाई आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको कार्यालयले आग्रह गरेको छ । शुक्रवार बिर्तामोड नगरपालिकामा आयोजित सर्वदलीय बैठकमा दलहरुलाई आचारसंहिता पालना गर्दै मर्यादित रुपमा निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरिएको हो ।
बिर्तामोडका निर्वाचन अधिकृत डम्बर प्रसाद काफ्लेले सबै दलहरुलाई मर्यादित रुपमा निर्वाचन कार्यक्रममा सहभागी हुन आग्रह गरेका हुन् । काफ्लेले दलहरुले आचारसंहिता पालना गरेमा निर्वाचन मर्यादित हुने उनको भनाई थियो ।

राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा अधिकारी र सञ्चारकर्मीहरु समेतको सहभागितामा सर्वदलीय बैठक आयोजना गरिएको थियो । निर्वाचनमा सहभागी दलहरुले पालना गर्नुपर्ने आचारसंहिता, मनोनयन दर्तामा ख्याल गर्नुपर्ने विषय वस्तु र आवश्यक कागजातका बारेमा सचेत गराइएको छ । राजनीतिक दलहरुले निर्वाचन लक्षित आयोजना गर्ने कार्यक्रमहरु , प्रचार सामग्री निर्माण र प्रयोगका बारे जानकारी गराइएको थियो । प्रचार सामग्री सहित सवारी प्रयोगका सम्बन्धमा दलहलाई आयोगले तयार गरेको आचारसंहिता पालना गर्न आग्रह गरिएको थियो ।
मनोनयन दर्तामा दलहरुले समयको चापलाई ख्याल गर्दै सहभागी हुन समेत आग्रह गरिएको थियो । बैशाख ११ र १२ गते हुने उम्मेद्वार मनोनयनमा ठुलो र्यालीसहित कार्यक्रम गर्दा हुने जोखिमलाई समेत ख्याल गर्न आग्रह गरिएको छ । यस्तै, दलित महिला सदस्य उम्मेद्वारहरुले अनिवार्य रुपमा दलित भएको प्रमाणित गर्नुपर्ने र अन्य उम्मेद्वारहरुले स्वघोषणा पत्रसहित मनोनयन गर्नुपर्ने काफ्लेको भनाई छ ।