बिर्तामोडको पाँच वर्षे प्रगति सार्वजनिक
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले जनप्रतिनिधि आएपछिको ५ वर्षमा भएका कामहरुलाई समेटेर तयार पारिएको प्रगति पुस्तक सार्वजनिक गरेको छ ।
नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै नगरले २०७४ साल असार १४ गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले गरेका कामहरु प्रस्तुत गरिएको थियो ।
सो प्रगति पुस्तकको मेयर धु्रवकुमार शिवाकोटी, उपमेयर पवित्रा देखी महतारा, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने र वडाध्यक्षहरुले सार्वजनिक गरेका थिए ।

पुस्तकमा भौतिक पूर्वाधार विकासतर्फ ६९ किलोमिटर मुख्य सडक कालोपत्रे गरिएको, बिर्तामोड बजार तथा ग्रामीण भेगका अधिकांश टोलहरु जोड्ने १७ किलोमिटर सडकमा पेवर्स तथा ब्लक लगाइएको र नगरभित्र रहेका २ सय २५ किलोमिटर कच्ची सडकमा ग्राभेलिङ गरी स्तरोन्नति गरिएको उल्लेख गरिएको छ ।
नगरका विभिन्न स्थानमा साना ठूला पुल तथा कल्भर्ट गरी १ सय २० वटा निर्माण गरिएको साथै ७ वटा फलामे र एउटा झोलुङ्गे पुल निर्माण गरिएको प्रगति बिवरणमा उल्लेख गरिएको छ । शहरी क्षेत्रका विभिन्न स्थानहरुमा २५ किलोमिटर नाला, ड्रेन तथा प्लम लगाइएको र ग्रामीण क्षेत्रहरुमा पानी निकासका लागि विभिन्न सडकहरुमा २५ सय थान ह्युमपाइप जडान गरिएको बताइएको छ ।
नगरपालिकाको आफ्नो प्रशासनिक भवनसँगै वडा नम्बर १, २, ३ र १० को आफ्नै भवन निर्माण सकिएको छ । त्यस्तै वडा नम्बर ४, ५, ७, ८, ९ भाडामा रहेका छन् भने वडा नम्बर ६ को कार्यालय निर्माणाधीन अवस्थामा रहेको पुस्तकमा उल्लेख छ ।
पर्यटन तर्पm विराट पोखर, सदुमधु पोखरी, सहिद नेत्र पार्क र गरामनीको दुर्गा शक्ति पीठको स्तरोन्नति गरिएको छ भने बिर्ताबजारको काली मन्दिर पुनः निर्माण गरिएको उल्लेख गरिएको छ ।
वडा नम्बरका अति विपन्न ३७ परिवारका लागि आवास निर्माण गरी नगर गौरव भिलेज स्थापित गरिएको छ । त्सस्तै विपन्न आवास अन्तर्गत ५ वर्षको अवधिमा ५ सय ६ वटा आवास निर्माण गरेर विपन्न तथा गरिब परिवारलाई हस्तान्तरण गरिसकिएको छ । वडा नम्बर २ र १० मा १ सय ६२ वटा विपन्न परिवारको घरको फुसको छानो हटाएर जस्तापाता लगाइएको छ ।
शान्ति सुरक्षालाई ध्यनमा राख्दै मुक्तिचोक पूर्व–पश्चिम–उत्तर–दक्षिण ६५ वटा सिसी क्यामेरा जडान गरिएको छ । बैकल्पिक उर्जा अन्तर्गत विपन्न कृषकहरुको घरमा ३ सय ५१ थान गोबरग्यास जडान गरिएको छ । लोक कल्याणकारी विज्ञापनका लागि अनुदान प्रदान गरिदै आएको बताइएको छ ।
शिक्षातर्फ नगरले सबै सामुदायिक संस्थागत विद्यालयहरुमा कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रमका रुपमा आचारण शिक्षा लागु गरिएको र जसबाट बालबालिकाहरुमा स्थानीय स्तरको भौगोलिक, आर्थिक ऐतिहासिक, पौराणिक, पुरातात्विक, संस्कृति, नैतिक मूल्य र मान्यता जस्ता विषयमा जानकारी प्राप्त भएको बिवरणमा उल्लेख गरिएको छ ।
ल्यापटप वितरण गरिएका प्रत्येक विद्यालयमा १ जना शिक्षकलाई तालिमको व्यवस्था, अपाङ्गता भएका बालबालिकाहरुलाई सीपमुलक तालिम, बालविकासदेखि कक्षा ५ सम्मका बिद्यार्थीलाई पोशाकको व्यवस्था लगायतका काम भएको पनि उल्लेख गरिएको छ ।
पशुपंक्षी तथा मत्स्य विकासतर्फ नगरपालिकाका विपन्न तथा साना किसानहरुको गाईगोठ सुधारका लागि अनुदान दिई ३ सय ६ वटा गाईगोठ निर्माण, ४ सय १८ वटा बाख्राको खोर निर्माण तथा ४ सय ९५ वटा बाखा, १४ वटा बोयर जातका बोका समेत वितरण गरिएको, ३ सय ७२ वटा बंगुर खोर निर्माण तथा ३ सय ३० वटा बंगुर वितरण गरिएको र ७५ वटा लोकल कुखुराको खोर निर्माण तथा ७ सय वटा कुखुराका चल्ला वितरण गरिएको उल्लेख छ ।
कृषि विकासतर्फ नगरले विभिन्न वडामा ५ सय ३७ वटा मोटर बोरिङ जडान गरी करिब २ हजार बिघा जग्गामा सिंचाइको व्यवस्था गरिएको र यो वर्ष १ सय ५० वटा मोटर बोरिङ जडान गरी थप ४ सय ५० बिघा जमिनमा सिंचाइको व्यवस्था गरिने बताइएको छ ।
त्यस्तै, कृषकहरुलाई विभिन्न औजार उपकरण हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत ८ वटा पावर टेलर, ९० वटा मकै छोडाउने मेसिन, १७ वटा धान काट्ने मेसिन, ८ वटा चिया टिप्ने मेसिन र ९ वटा मिनी टेलर हस्तान्तरण गरिएको बिवरणमा उल्लेख छ ।
त्यस्तै नगरको न्यायिक समितिमा जम्मा ४ सय ५ वटा मुद्धा दर्ता भएकोमा मेलमिलाप प्रक्रियाबाट ३ सय २९ वटा विवादहरु समाधान भएको जनाइएको छ ।
पत्रकार सम्मेलनमा नगर प्रमुख ध्रुव कुमार सिवाकोटीले आफ्नो पाँच वर्षे कार्यकालमा बिर्तामोडको विकास र समृद्धिका लागि महत्वपूर्ण काम गरेको बताएका छन् । उनले जनताको आर्थिक सामाजिक जीवनस्तर उकास्न नगरपालिकाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
कानुन अभावमा सुरुमा स्थानीय तह सञ्चालन गर्न कठिनाइ भएको जनाउँदै नगर प्रमुख सिवाकोटीले अब सहज हुँदै गएको बताए । नगर उपप्रमुख पवित्रा महतरा प्रसाईले आफुले जिम्मेवारी सम्हालेका विषयगत कार्यालयमार्फत महत्वपूर्ण काम भएको बताइन् ।
शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा पनि महत्वपूर्ण परिवर्तन भएको उनले उल्लेख गरिन् । उनले आफू नेतृत्वको न्यायिक समितिले पनि उत्कृष्ट काम गरेको बताइन् ।