जेष्ठ ५, २०८१ शनिबार

निर्वाचन कार्यालयद्वारा झापामा नमूना मतदान अभ्यास

भद्रपुर – स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यालय झापाले आज मेची क्याम्पस भद्रपुरमा नमूना मतदान अभ्यास गराएको छ । जिल्लामा पहिलोपटक गरिएको नमूना मतदान अभ्यास कार्यक्रममा ३५ जना विद्यार्थी सहभागी भएका थिए ।

नमूना मतदानस्थलमा जिल्लाका मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले निर्वाचन अधिकृतको भूमिका निर्वाह गर्नुभएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल सहायक मतदान अधिकृतका रूपमा रहनुभएको थियो । नमूना मतदानस्थलमा मतदाताको नाम रुजु गर्नेमा आन्तरिक लेखा नियन्त्रण कार्यालयका प्रमुख मधु पोखरेलले भूमिका निर्वाह गर्नुभएको थियो ।

मतपत्र दिनेमा आन्तरिक राजस्व कार्यालयका प्रमुख शुभ रिजाल, कर्मचारीका रूपमा जिल्ला हुलाक कार्यालयका प्रमुख दामोदर घिमिरे र पूर्वाधार विकास कार्यालयका प्रमुख रमेश श्रेष्ठ रहनुभएको थियो । सुरक्षा निकायका प्रमुख र म्यादी प्रहरीसमेत राखेर गरिएको मतदान केन्द्रमा अपाङ्गता भएका, ज्येष्ठ नागरिक, महिला र पुरुषका लागि छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको थियो ।

निर्वाचनमा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेर सुरु गरिएको कार्यक्रममा निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले मतदान कुन पदमा कसरी गर्ने भन्नेबारेमा जानकारी दिनुभएको थियो । राजनीतिक दलका रूपमा पनि विद्यार्थीलाई राखेर गरिएको कार्यक्रममा मतदानपछि मतपेटिकालाई सिलप्याक गरेर निर्वाचन कार्यालयमा ल्याएर गणना गरिएको थियो । मतगणनामा ३५ मध्ये पाँच मत बदर रहेको निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेम न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार  ८ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]