बैशाख १९, २०८१ बुधबार

सरकारले किसानको वर्गीकरण गर्ने

झापा / कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले कृषि क्षेत्रको विकास र कृषिमा गरिने लगानी प्रतिफल मुखी बनाउन सरकारले किसानको वर्गीकरण गर्ने योजना बनाएको बताउनु भएको छ ।

कृषि तथा पशुपालन क्षेत्रको अध्ययन अवलोकन गर्न झापा आउनु भएकी राज्यमन्त्री चौधरीले आइतबार भद्रपुर–१ स्थित साना किसान कृषि सहकारी संस्थाले आयोजना गरेको एक कार्यक्रमका बीच उक्त कुरा बताउनु भएको हो ।

सरकारको सहयोगमा स्थानीय साना किसानहरुले नै सञ्चालनमा ल्याएको साना किसान चिया प्रशोधन उद्योगको अवलोकनपछि आयोजित संक्षिप्त कार्यक्रममा राज्यमन्त्री चौधरीले मन्त्रालयले किसानलाई साना, मध्यम र ठूला गरी तीन तहमा वर्गीकरण गर्ने गरी तयारी अगाडि बढाएको उल्लेख गर्नुभयो ।

हाललाई नमूनाको रुपमा सातवटै प्रदेशका एक–एक वटा जिल्ला छनोट गरी किसानको वास्तविक विवरण संकलन गरी सोहीअनुसार वर्गीकरण गर्न मन्त्रालय जुटिसकेको उहाँको भनाइ थियो । प्रदेश १ बाट झापा नै छनोटमा पर्ने भन्दै उहाँले किसानको यथार्थ विवरण संकलनका लागि सहयोग गर्न स्थानीय तहहरुलाई आग्रह पनि गर्नुभयो ।

कृषिप्रधान देश भएर पनि नेपाल कृषिवस्तुमै आत्मनिर्भर बन्न नसक्नु बिडम्बनापूर्ण रहेको भन्दै राज्यमन्त्री चौधरीले कृषि क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको बताउनु भयो । उहाँले जमीनको चक्लाबन्दी, किसानलाई दिइने अनुदानको सदुपयोग, मल, बीउको समुचित उपलब्धता, आधुनिक कृषिप्रविधिको प्रयोगबाट मात्र कृषि क्षेत्रको विकास गर्न सकिने  भन्दै वर्तमान सरकार ती विषयमा गम्भीरतार्पूक लागिपरेको बताउनु भयो ।

संस्थाकी उपाध्यक्ष इन्दिरा निरौलाले किसानहरु मिलेर सञ्चालनमा ल्याएको उद्योगले निजी क्षेत्रका ठूला उद्योगसँग प्रतिस्पर्धा गर्न निकै कठिन रहेकोले ब्राण्डिङ र प्याकेजिङका लागि पूर्वाधार विकासमा सहयोग पुर्याइदिन राज्यमन्त्री चौधरीसँग आग्रह गर्नुभएको थियो ।

प्रकाशित मिति : भाद्र १६, २०७६ सोमबार  ९ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]