बैशाख २९, २०८१ शनिबार

झापाका २९२६ उम्मेद्वार चुनावी मैदानमा

बिर्तामोड । देशभर आज स्थानीय तहको निर्वाचन हुदैछ । विहान ७ बजेदेखि साँझ ५ बजेसम्म जनप्रतिनिधि छान्नका लागि मतदानको समय तोकिएको छ ।

मतदानका लागि सवै तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । झापाको १५ स्थानीय तहमा हुने निर्वाचनका लागि मतदाता उत्साहित देखिएका छन् । जिल्लाको १३१ वडामा ६ लाख ५० हजार २५८ जनाले मतदान गर्न पाउने छन् ।

झापाको १५ स्थानीय तहमा नगरपालिकाको मेयर, उपमेयर, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुई खुल्ला सदस्य निर्वाचित हुनेछन् । मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमका अनुसार झापामा २९२६ जनाले उम्मेद्वारी दिएका छन् । त्यसमध्येबाट ६८५ जना निर्वाचित हुने छन् ।

१५ पालिकामा २९२६ जनाको उम्मेद्वारी
झापामा मेयर–अध्यक्षमा १३०, उपमेयर–उपाध्यक्षमा १११ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । झापाको १३१ वडामा ६८१ जनाले वडाध्यक्ष पद्मा उम्मेद्वारी दर्ता गएका छन् । महिला सदस्यहरुमा ५०७ जना, दलित महिला सदस्यहरुमा ४१०, खुल्ला सदस्यमा १०८९ जनाले उम्मेद्वारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।

यस्तै, भद्रपुरमा २५४, मेचीनगरमा ३३६, बिर्तामोड २२३, बुद्धशान्तिमा १५४, अर्जुनधारामा १९५,हल्दिवारीमा ११५, कचनकवलमा १७७, बाह्रदशीमा १४६, झापा गाउँपालिकामा १७५, कनकाईमा २०४, शिवसताक्षीमा २४४, कमल गाउँपालिकामा १४०, गौरादहमा १८३, गौरीगञ्जमा १८८ र दमक नगरपालिकामा १९४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भद्रपुरको मेयरमा ८, उपमेयरमा ७, मेचीनगरको मेयरमा १०, उपमेयरमा ८, बिर्तामोडको मेयरमा १०, उमपेयरमा ९, बुद्धशान्तिको अध्यक्षमा ७, उपाध्यक्षमा ११, अर्जुनधाराको मेयरमा ४, उपमेयरमा ५ , हल्दिवारीको अध्यक्षमा ४, उपाध्यक्षमा ६, कचनकवलको अध्यक्षमा १०, उपाध्यक्षमा ६, बाह्रदशीको अध्यक्षमा १०, उपाध्यक्षमा ५, झापाको अध्यक्षमा ८, उपाध्यक्षमा ६, कनकाईको मेयरमा ८, उपमेयरमा ८, शिवसताक्षीको मेयरमा १०, उपमेयरमा ६, कमल गाउँपालिकाको अध्यक्षमा ७, उपाध्यक्षमा ८, गौरादहको मेयरमा ११, उपमेयरमा ७, गौरीगञ्जको अध्यक्षमा ७, उपाध्यक्षमा ८ र दमक नगरपालिकाको मेयरमा १६ , उपमेयरमा ११ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
पाँच वर्षे कार्यकालका लागि हुन लागेको निर्वाचनमा पाँच दलीय गठबन्धन एमालेका विरुद्ध एक भएका छन् । गठबन्धन र एमाले बिचमा प्रतिष्पर्धा हुदैछ ।

०७४ मा एमालेको बहुमत
अघिल्लो स्थानीय चुनावमा नेकपा एमाले झापामा पहिलो भएको थियो । एमाले एक्लैले ७ पालिकामा जीत हासिल गरेको थियो भने ५ पालिकमा नेपाली कांग्रेस र ३ पालिकामा राप्रपाले जितेको थियो । एमालेले बिर्तामोड, भद्रपुर, अर्जुनधारा, कनकाई, शिवसताक्षी, कमल र दमक नगरपालिकामा जितेको थियो । यस्तै, नेपाली कांग्रेसले मेचीनगर, बुद्धशान्ति, बाह्रदशी, गौरादह र झापा गाउँपालिकामा जीत हासिल गरेको थियो । राप्रपाले गौरीगञ्ज, हल्दिवारी र कचनकवलमा जीत हासिल गरेको थियो । जिल्लाको जनप्रतिनिधि संख्यामा एमाले बहुमतमा थियो ।

मतदान स्थलको तयारी
झापामा २८६ मतदान स्थलमा रहेका मतदान केन्द्रहरु पूर्ण रुपमा तयारी गरिएको छ । मतदानका लागि जिल्लाका ७५५ मतदान केन्द्र तयारी अवस्थामा रहेको बताइएको छ । यस्तै, बिर्तामोडमा १८ मतदान स्थल र ६४ मतदान केन्द्र रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिर्तामोड नगरपालिकाको प्राङ्गणसहित १८ स्थानमा मतदान स्थल तोकिएको छ ।

यस्तै, मतदान पश्चात गणनाका लागि गणनास्थल पनि तयारी गरिएको सहायक निर्वाचन अधिकृत जय तिम्सिनाले जानकारी दिए । बिर्तामोड नगरपालिकाको माथिल्लो सभाहलमा मत गणना हुने छ । सोही अनुसार आवश्यक तयारी गरिएको तिम्सिनाको भनाई छ । गणनास्थलमा ४ वटा सीसी क्यामेरा जडान गरिएका छन् भने बक्सा राख्ने कोठामा समेत सीसी क्यामेरा जडान गरिएको छ । उनका अनुसार बिर्तामोड नगरपालिकाको सभाहलमा ३ ठाउँ र आवश्यक परेको खण्डमा अर्को थप १ कोठा प्रयोग गर्ने तयारी गरिएको छ ।

बिर्तामोड नगरपालिकामा ५७ हजार ४ सय ९ जना मतदाता रहेका छन् । उनीहरुले यस पालिकामा प्रमुख÷उपप्रमुखसहित ५२ जनालाई निर्वाचित गर्नेछन् ।

प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार  ६ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]