बैशाख २६, २०८१ बुधबार

दमकबाट चोरी भएका मोटरसाइकल पाँचथरमा भेटियो

बिर्तामोड । झापाको दमकबाट चोरी भएका मोटरसाइकल पाँचथरमा फेला परेको छ । झापामा चोरी भएका मोटरसाइकल पहाडीतिर जिल्ला लगेर बेच्ने गरेको पाइएको छ । झापा प्रहरीले चोरी भएका चार वटा मोटरसाइकलसहित घटनामा संलग्न दुई जनालाई पक्राउ समेत गरेको छ ।

दमक नगर क्षेत्रभित्र पार्किङ गरी राखिएका मोटरसाइकलहरू धमाधम चोरी हुन थालेपछि सवारी धनीले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीमा एकपछि अर्को गर्दै उजुरी पर्न थालेपछि चोरी भएका मोटरसाइकल खोजतलास गर्ने क्रममा झापा प्रहरीले चार वटा मोटरसाइकल पाँचथरको मिक्लाजुङबाट फेला पारेको छ ।

मोटरसाइकल चोरीमा संलग्न मिक्लाजुङ गाउँपालिका– ५ निवासी २१ वर्षीय चन्द्रकुमार योङवा र सोही ठाउँका २० वर्षीय सुरेन्द्र भन्ने जीवन कुरुवाङ पक्राउ परेको प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले जानकारी दिए ।

जेठ १३ गते दमक नगरपालिका– ६ स्थित नेपालीरिका होटेल अगाडि पार्किङ गरी राखिएको सुमन खड्काको मे ११ प ५५१२ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको थियो । सोही मोटरसाइकल योङवा र कुरुवाङले पाँचथरमा लगेर चलाइरहेको अवस्थामा प्रहरीले भेटाएपछि उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको डिएसपी पाठकले बताए ।

जेठ ९ गते दमक ६ स्थित गायत्री बोर्डिङ स्कुल अगाडि पार्किङ गरी राखिएको दमकका सविन राईको प्र १–०१–०१५ प ८६९० नम्बरको पल्सर मोटरसाइकल, जेठ ६ गते दमक– ६ स्थित नेपालीरिका होटेल अगाडि पार्किङ गरी राखिएको इलाम चुलाचुलीका भीमा अधिकारीको प्र १–०१– १४ प १२४० नम्बरको पल्सर मोटरसाइकल र जेठ २ गते दमक– ६ स्थित नमुना मार्केटमा पार्किङ गरी राखिएको दमकका खेमराज गुरागाईंको मे ८ प ९२९७ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको थियो ।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा चोरी भएका तीन वटा मोटरसाइकल पनि पाँचथरमै फेला परेको हो । यता, मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ १८, २०७९ बुधबार  ६ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]