बैशाख २५, २०८१ मंगलबार

एटीएम प्रकरण : भारतबाट १ करोड ७० लाख निकालिएको खुलासा

१९ भदौ, काठमाडौं । एटीएम ह्याकिङ प्रकरणको जाँचबुझका लागि राष्ट्र बैंकले बनाएको समितिले प्रतिवेदन बुझाएको छ । प्रतिवेदनअनुसार चिनियाँ ह्याकरहरुले ३ करोड ५८ लाख रुपैयाँ विभिन्न बैंकबाट निकालेका छन् । यसअघि १ करोड ६८ लाख रुपैयाँ निकालेको भनिएको थियो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो । उक्त समितिले मंगलबार साँझ राष्ट्र बैंकलाई प्रतिवेदन बुझाउदै ३ करोड ५८ लाख ८४ हजार २० रुपैयाँ बराबरको रकम झिकिएको बताएको हो ।

भारतबाट मात्र करिब एक करोड ७० लाख रुपैयाँ निकालिएको प्रतिवेदनमा उल्लेख छ । भदौ १४ गते शनिबार बिहान ११ बजेदेखि साँझ ४ः३० बजेसम्म भिजा इन्टरनेशनलसँग आबद्ध नेप्सका सदस्य बैंकहरुको डेबिट कार्ड प्रयोग गरी रकम निकालिएको थियो । नेपालमा १७ बैंकका ६८ एटिएम कार्डहरुबाट १ करोड ८९ लाख ४४ हजार ५ सय रुपैयाँ निकालेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अध्ययन प्रतिवेदनले नेपालमा निकालिएकै हाराहारीमा भारतबाट समेत निकालिएको देखाएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । उनका अनुसार ६ वटा नेपाली वाणिज्य बैंकहरुको विभिन्न कार्डहरु प्रयोग गरी भारतका २४ बैंकका १३२ एटिएमबाट १ करोड ५ लाख ८७ हजार २ सय भारतीय रुपैयाँ निकालिएको पुष्टि भएको छ ।

मिश्र नेतृत्वको समितिले प्रतिवेदनमा अल्पकालिन र दीर्घकालीन गरेर २ किसिमका सुझावहरु दिएको छ । हाल घटेको घटनाहरुको विज्ञद्वारा सुक्ष्म अध्ययन तथा विश्लेषण गर्न भनिएको छ । कार्डसँग सम्बन्धित नेटवर्क र सिस्टमको सुपरिवेक्षण नियमित रुपमा गर्न समितिले राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरु, पीएसपी र पीएसओलाई आ–आफ्नो सूचना प्रविधि तथा इलेक्ट्रोनिक माध्यमबाट हुने भुक्तानी प्रणालीको जोखिम मूल्यांकन गरी जोखिम न्यूनीकरणका उपायहरु अवलम्बन गर्न निर्देशन दिइएको छ ।

यसअघि राष्ट्र बैंकले विभिन्न बैंकको एटीएम प्रणाली ह्याक गरी १ करोड ६८ लाख रुपैयाँ चोरिएको जनाएको थियो । प्रहरीले गत शनिबार मध्यराति चलाएको अपरेशनबाट एक करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ, हङकङ डलर ८०, चाइनिज युआन ११ सय ९१, केही अमेरिकी डलर, युरो र कम्बोडियाको मुद्रा पनि बरामद गरेको थियो ।

जय नेपालको होटल माया मनोहर बुटिकबाट पक्राउ परेका चिनियाँ नागरिक झु लियांग, विक विन, क्यु याङयिङ, लु जियालिङ र लिन जिनमिङले सुटकेश र झोलामा बोकेको अवस्थामा ती रकम बरामद भएका थिए ।

आइतबार साँझ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट समूहका अर्का सदस्य सु लुसली पक्राउ परेका थिए । उनलाई पक्राउ गर्ने क्रममा पनि ६ हजार अमेरिकी डलर बरामद भएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटी बताउँछन् । बयानका क्रममा ठमेलको सटही केन्द्रबाट रकम साटेको भेटिएपछि ३ जना नेपाली नागरिकलाई पनि पक्राउ गरिएको थियो ।

पक्राउ पर्नेमा ठमेलको डेक्सो मनी एक्सचेन्जका सञ्चालक सञ्चालक देवनाथ लामिछाने, नेपालय मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडी छन् ।

प्रकाशित मिति : भाद्र १९, २०७६ बिहीबार  ३ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]