बिर्तामोडमा ४ गतेदेखि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान
बिर्तामोड । बिर्तामोड नगरपालिकाले डेंगु लगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टे बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने भएको छ ।
नगरका सबै वडामा असार ४ गतेदेखि १७ गतेसम्म अभियानका रुपमा लार्भा नष्ट गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको हो । यसका लागि विषादी छर्किने तालिम प्राप्त २५ जनाको टोली तयार रहेको नगरका जनस्वास्थ्य निरिक्षक ओमबहादुर खड्काले जानकारी दिए । विषादी छर्कीएको ठाउँमा रहेका फलफुल तथा तरकारी ७ दिनसम्म प्रयोग गर्न नहुने र त्यसपछि पनि १४ दिनसम्म काँचै खान नमिल्ने, राम्रोसँग पकाएर मात्रै खानु पर्ने खड्काले बताएका छन् ।
एक पटक छर्किएको विषादीले ३ महिनासम्म प्रभावकारी रुपमा काम गर्ने छ । लामखुट्टेबाट उत्पादन हुने रोगहरु निमुर्ल गर्नका लागि यो अभियान सुरु गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले लार्भा नष्ट गर्ने विषयमा सोमबार अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा जनप्रतिनिधि तथा सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले लामखुट्टेको कारण सर्ने रोगहरुबाट बच्न यस अभियानलाई सबैजना लागेर प्रभावकारी बनाउनु पर्ने बताइन् । उनले मानव स्वास्थ्यमा केहि हानिकारक रहेकोले विषादीलाई सुरक्षित ढंगले छर्किनु पर्ने बताएकी छन् ।
यस्तै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले अभियान सफल बनाउनका लागि जनप्रतिनिधि, टोलविकास संस्था, प्रहरी प्रशासन सबै लाग्नु पर्ने बताए । यस्तै प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले नगरमा श्रोत न्यून रहेकोले ग्रामीणक्षेत्र भन्दा जनघनत्व बढी भएको ठाउँमा प्राथमिकता दिने बताए । एक हजार ४ सय ६८ ट्याकींमात्रै विषादी रहेकोले यसले १ लाख ४६ हजार ७९५ वर्गफिटमा मात्रै पुग्ने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।