एमालेको अनुशासन आयोगले सातै प्रदेशमा प्रशिक्षण दिने
काठमाडौं – नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण चलाउने निर्णय गरेको छ ।
आज पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बसेको आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको अध्यक्ष केशव बडालले बताउनुभयो ।
पार्टीभित्र देखा परेका अनुशासनहीनतालाई वैचारिक रुपमा परास्त गर्ने मूल उद्देश्यका साथ साउन महिनाको दोस्रो साताबाट अन्तिम सातासम्म प्रदेश स्तरीय प्रशिक्षण गर्ने उहाँले जानकारी दिनुभयो ।
‘हाम्रो आयोगले सातै प्रदेशमा अनुशासनसँग सम्बन्धित विषयवस्तु, पार्टीको सिद्धान्त, कार्यक्रम र कार्यनीतिका बारेमा प्रशिक्षण कार्यक्रम राख्ने निर्णय ग¥यो । श्रावण महिनाको दोस्रो हप्तादेखि चौंथो हप्तासम्म सक्ने गरी सो प्रशिक्षण कार्यक्रम राखिनेछ’ उहाँले भन्नुभयो ।
अध्यक्ष बडालले भन्नुभयो, ‘शिक्षणको विषयवस्तुमा मुख्यतः केन्द्रिय अनुशासन आयोगको अधिकार, कर्तव्य, दायित्व र केन्द्रिय अनुशासन आयोगलाई सबै केन्द्रिय कमिटी, प्रदेश कमिटी, पार्टी जिल्ला कमिटी, सम्पर्क कमिटीहरुले हेर्ने दृष्टिकोण सम्बन्धि सवालमा र सहकार्य अघि बढाउने सवालमा अनुशासन आयोग र पार्टी कमिटीको बीचमा हातेमालो गरेर अघि बढाउने विषयहरु नै प्रशिक्षणका बिषयबस्तु हुन जान्छन् ।’
प्रशिक्षण कार्यक्रममा केन्द्रिय अनुशासन आयोगको अधिकार, कर्तव्य, दायित्व र केन्द्रिय अनुशासन आयोगलाई सबै केन्द्रिय कमिटी, प्रदेश कमिटी, पार्टी जिल्ला कमिटी, सम्पर्क कमिटीहरुले हेर्ने दृष्टिकोण सम्बन्धि विषयवस्तु हुने पनि आयोगले जनाएको छ । त्यसैगरी बैठकले उमानाथ ओली, प्रदिप प्याकुरेल, लालमणि चौधरी, दिपक देवकोटा र पूर्णशोभा चित्रकारलाई आयोगको सदस्य थप गर्ने निर्णय पनि गरेको छ ।