जेष्ठ २, २०८१ बुधबार

बिर्तामोडमा लार्भा नष्ट गर्ने अभियान सुरु

बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रमा लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । डेंगुलगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टे बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु भएको हो । वडा नम्बर १ को कार्यालयमा शनिबार विहान आयोजित एक कार्यक्रमका विच अभियानको सुरुवात गरिएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले विषादी छर्किने प्राविधिकहरु तालिम प्राप्त रहेकोले सिकेको सिपलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव दिइन् । लापवाही ढंगले काम गर्दा आफ्नो स्वास्थ्यमा समेत क्षति पुग्ने भन्दै उनले सिपलाई इमान्दारीताका साथ पालना गर्नुपर्ने बताइन् ।

यस्तै वडाध्यक्ष अग्निप्रसाद पाण्डेले प्राविधिकहरुले निर्देशनअनुसार काम गर्न आग्रह गरे । उनले विषादी छर्किने स्थलमा टोल विकास संस्थाका पदाधिकारी तथा वडाका जनप्रतिनिधिहरुले सहयोग गर्ने बताए ।

यो अभियान असार १७ गतेसम्म सञ्चालन हुनेछ । अभियानमा विषादी छर्किने तालिम प्राप्त २५ जनाको टोली खटिएको जनस्वास्थ्य निरिक्षक ओमबहादुर खड्काले जानकारी दिए । वडा नम्बर १ मा ४ र ५ गते,वडा नम्बर ५ मा ६ र ७ गते,वडा नम्बर ३ मा ८ र ९ गते,वडा नम्बर ४ मा १० र १५ गते,वडा नम्बर २ मा १२ गते, वडा नम्बर ६मा १३ गते,वडा नम्बर ७ मा १४ गते,वडा नम्बर ८ मा १५ गते, वडा नम्बर ९ मा १६ गते र वडा नम्बर १० मा १७ गते विषादी छर्किने तालिका रहेको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । एक पटक छर्किएको विषादीले ३ महिनासम्म प्रभावकारी रुपमा काम गर्ने छ ।
अभियान उद्घाटन कार्यक्रममा नगरका स्वास्थ्य शाखा प्रमुख राजिव विष्ट लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : असार ५, २०७९ आईतबार  ९ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]