जेष्ठ ५, २०८१ शनिबार

कथा : म ह्याक हुन चाहन्छु

दुवै हात फैलाएर, आकाशतिर फर्किएर, उन्मुक्त हाँसो हाँसेको एउटा तस्वीर । यस्तो तस्वीर खिच्नु मेरो रहर हो । म जब घर छाडेर केही दिन टाढा पुग्छु, अलिकति फुर्सद पाउँछु । तब मैले गर्ने नै यही हो । यसो गर्न पाउँदा आउने मज्जा अरुमा के छ र ?

उसले जब यो तस्वीर देखी । उसलाई पनि यस्तै तस्वीर खिच्ने भूत सवार भएछ । हामी कार्यक्रममै ब्यस्त थियौं । किनकि अरुको मेहमान बन्नु र आफैं आयोजक हुनु फरक कुरा हो ।

ब्यस्तताबीच थोरै समय निकाल्नै नसकिने त कहाँ हो र ? मैले त्यही समयको केवल सदुपयोग मात्र त गरेको हो नि ! तर, त्यो फोटोको विषयमा यत्रो कोकोहोलो मच्चाउनुपर्ने कारण नै के छ र ?

मान्छेको मन न हो । बुझेर बुझिनसक्नुको हुन्छ । चञ्चल हुन्छ, हरपल हरक्षण । चेतन मन र अवचेतन मनबीचका अन्तरविरोधदेखि अवचेतन मनले उत्पन्न गराएका भावहरूले मान्छेलाई कहिलेकाहीँ अस्थिर पनि बनाइदिन्छ । त्यस दिनको उसको क्रियाकलापले यस्तै केही न केही त संकेत गरेकै थियो ।

‘जाऊँ न’ उसले भनी

मैले भनें, ‘कहाँ …?’

‘मलाई पनि त्यस्तै फोटो खिच्नु छ,’ ऊ बोलिरही ।

‘त्यस फोटोमा के छ र त्यस्तो ?’ मेरो प्रश्नको प्रत्युत्तर नआउँदै ऊ बोली, ‘म पनि त्यस्तै उन्मुक्त हाँसो हाँस्न चाहन्छु । आकाशतिर फर्किएर, दुवै हात फैलाएर…। म वास्तवमा यसरी नै हाँस्न चाहन्छु जिन्दगीमा । ठीक यस्तै गरी । आकाश धर्ती जोड्न चाहन्छु । मुक्ति चाहन्छु, सबै खाले बन्धनबाट । म यसरी नै कसैसँग पर्वाह नगरी आकाशसँग मीत लगाउन चाहन्छु र बादलसँग पौंठेजोरी खेल्न चाहन्छु ।’

ब्यस्तताबीच अरुसँग कुरा गर्नु निक्कै जटिल हुन्छ । आज उसको कुराले कताकता अलमल गराइरहेको छ । किनभने कुनै निर्जन जंगलभित्र हुर्केको कुनै सिंहले कहिल्यै पनि आफ्नो शिकार कुन हो भनेर सोध्दैन रे । ऊ त लामै समयदेखिको भोको पनि हुन सक्छ र उसले जतिबेलै जसलाई पनि झम्टिन सक्छ ।

तर, त्यहाँ न कुनै सिंह नै छ, न त कुनै शिकार । त्यहाँ त केवल दुई प्राण छन्, ती पनि अरु कसैका भइसकेका । त्यतिबेला त कमसेकम त्यो सिंहको आत्मा पनि नजाग्न सक्छ र उसलाई भोक पनि नलाग्न सक्छ ।

मलाई थाहा छ । मान्छेहरू मौकाको पर्खाइमा हुन्छन् । कुनै न कुनै त्यस्तो समयको, जुन समयले उनीहरूको सबै इच्छा र चाहना पूरा गरिदेओस् । आफ्ना सबै सपना पूरा गरिदेओस् र जीवनलाई धन्य बनाइदेओस् ।

यी सबै सपना र इच्छाहरू पूरा हुन् वा नहुन्, तर आज म उसको कुनै इच्छा पूरा गर्ने पक्षमा छुइनँ । किनभने सबै इच्छाको एउटा उमेर हुन्छ । जब उसले इच्छा पूरा गर्छ, तब उसमा अरु नै इच्छा जाग्छ । कमसेकम अहिले नै त्यो इच्छा पूरा नभए उसमा नयाँनयाँ इच्छाका पालुवा त पलाउने छैनन् ।

उसले फेरि उही तस्वीर, उही लोकेशन र उही पोजको कुरा झिकी र भनी, ‘वास्तवमा म पहाडसँग जुध्न चाहन्छु, हिमालमा कुद्न चाहन्छु र उन्मुक्त हाँसो हाँस्न चाहन्छु । प्लिज…।’

मैले केही बोल्नु उचित ठानें र भने, ‘सुन…, एउटी नारीले उन्मुक्त हाँसो हाँस्नु हुन्न । किनभने पोथीले बास्नु हुन्न । तिमी आफ्नो परिधिमा बस …।’

मैले थपेर भनें, ‘तिमीले कुन्ता शर्मालाई चिनेकी छ्यौ ? के तिमीलाई उनको पोथी बास्नु हुन्न भन्ने कविताका बारेमा थाहा छ ? छैन भने पहिले त्यो पढेर आऊ, अनि मात्र मसँग कुरा गर…।’

‘कसले के लेख्छ र लेख्दैन भन्ने कुराले मलाई केही फरक पर्दैन, महाशय…’ उसले घुर्की लगाई र भनी, ‘उन्मुक्त हुनु मेरो नैसर्गिक अधिकार हो, मिष्टर … । तिमी मलाई साथ दिन चाहन्छौ, ठीक छ । नत्र मैले मेरो जीवनको परिभाषा बुझेकी छु । नयाँ सोच र खोजबारे म भिन्नै अनुभूति हासिल गर्न चाहन्छु ।’

फेरि थपी, ‘बास्ने कविता र कुन्ता शर्माबीचमा के साइनो पर्छ मिष्टर…? र, तिमी यो शीर्षकमा मलाई अलमल्याइरहेका छौ ? मलाई यस्ता थोत्रा विचारको सीमारेखामा बस्नु छैन । त्यो ब्याकडेटेड थट् हो ।’

‘त्यो तिम्रो सोच मात्र हो । आज पनि नेपाली महिलाहरू यही सोचमा बाँचिरहेका छन् । तिमीलाई के थाहा छ ?’, मेरो यो भनाइले उसलाई केही सोच्न विवश बनाएछ । भनी, ‘ठीक छ, महोदय… आजलाई मैले हारें । तर, कुनै दिन यस्तो नआओस् कि मैले जितेको होस् । कुनै रात यस्तो नहोस् कि म तिमीभन्दा माथि परेको हुँ ।’

‘यो त सबै समयको खेल हो मैया… । न त्यस्तो दिन आउनेछ, न त्यस्तो रात । जसका कारण मैले दिनमा तिमीबाट हार्नु परोस् वा त्यस्तो रातको पनि मैले कल्पना गरेको छैन कि मभन्दा तिमी माथि हुनु परोस्’, नबोली बस्दा हेपिने डर, त्यसैले पनि मैले यो डाइलग ठोकें । त्यसपछि मात्र ऊ मत्थर देखिई ।

०००

उसको त्यो रहर मरेकै रहेनछ । फेरि उपक्रम दोहोरिन्छ । आज उसले कुरा पक्डी ।

मैले भनेको थिएँ, ‘शायद त्यो तस्वीर खिच्ने त्यो सपना पूरा गर्नु मेरै कर्तव्यभित्र पर्नेछ ।’

उसले त्यही सोच अघि सारी र भनि, ‘जाऊँ न अब, के तिमी मेरा लागि यत्ति पनि गर्न सक्दैनौ ?’

‘शायद मैले मेरो वचन भुलेको छैन,’ मैले मनमनै भनें । उसले सुनिन क्यार तर पनि सुनेझैं गरी भनी,

‘उसो’भा केको ढिलाइ… ?’

सम्भवतः यसरी अरुको अव्यक्त भाव बुझ्ने कला मसँग मात्र छ भन्ने लाग्थ्यो मलाई । तर, उसले आज मलाई नै चकित पारी । र, फेरि भनी, ‘किन मैले नसुन्ने गरी बोल्या ?’

‘के…?’ मैले नजानेझैं गरें ।

‘उही मनोनेट अर्थात् मनले अभिव्यक्त गर्न नसकेको कुरा’, उसले भनी ।

लाग्यो, ऊ अहिलेसम्म उही हालतमा छे । उसको उन्मुक्त हुने चाहना अझै मरेको छैन । उसले पहिलो भेटमा भनेको सम्झन्छु, लोग्ने मान्छेहरूका बारेमा । कतै कसैले लेखेको स्टाटस, जसले उसको धारणा बदलिदिएको रहेछ ।

उसले भनेकी थिई, ‘हरेक पुरुषको सफलताका पछाडि महिलाको हात हुन्छ भन्छन् । तर, मलाई त्यस्तो लाग्दैन । पुरुषहरू नै महिलाको हातखुट्टा तान्न पछि लाग्छन् ।’

त्यो बेला मलाई उसको यो तर्कमा बितर्क गर्नु त्यति उचित लागेको थिएन । तर आज म बोल्दैछु ।

मैले भनें, ‘शायद महिलाहरू पनि त्यति निर्दयी नभइदिएको भए… विचरा पुरुषहरूले किन विष पिउँथे र ?’ यो तर्क सुने पनि उसले प्रतिवाद गर्न चाहिनँ । कारण, थाहा छैन । तर, बिनाकारण तर्क गरेर सकस निम्त्याउने पक्षमा ऊ देखिइन । तैपनि मैले कुरा झिक्न चोहें र भनें, ‘तिम्रो सफलतामा चाहिँ कसको हात छ त मैयाँ…?’

उसले भनी, ‘म आजसम्म असफल नै छु । खासमा म ह्याक हुन चाहन्छु । जसरी एउटा ह्याकरले आफ्नो सफलताको कसीमा आफूलाई नाप्दा सफल रूपमा ह्याक गरेर पुष्टि गर्छ । हो, म त्यसरी नै कसैले मेरो जिन्दगीमा ह्याक गरोस् । तब मात्र मेरो जिन्दगीले सार्थकता पाउनेछ र म सफल बन्नेछु …।’

‘जसरी एउटा ह्याकरले कुनै हत्कडीको पर्वाह गर्दैन । जसरी उसले आफ्नो बाँकी जिन्दगीको वास्ता नगरी ह्याक गर्छ । हो… त्यसरी नै म ह्याक हुन चाहन्छु ।’

म आज बिहानै चार जना चिनियाँ नागरिक बैंकको एटीएम ह्याक गरेका कारण पक्राउ परे भन्ने समाचार पढिरहेको छु । ठीक ऊ त्यस्तै तर्क गरिरहेकी छ । के यो संयोग मात्र हो कि ? मैले सोच्न सकिरहेको छैन । किन आज ऊ यस्तो कुरा गरिरहेकी छे ?

त्यसरी नै भर्खरै अमेजनको जंगलमा आगो लागेको समाचारले उच्च प्राथमिकता पाइरहेको छ । म त्यो समाचार टीभीमा हेरेर चित्त बुझाउछु । ऊ त्यसरी नै त्यही जंगलमा आरामसँग सुतेको सिंहलाई ब्युँताइरहेकी छे । अघाएको सिंहले अर्को शिकार गर्दैन । चाहे जति नै बलियो र मीठो शिकार उसको अगाडि किन नहोस्, जसरी गुलियो खाएर अघाएको मान्छेले मीठो परिकारको आशा गर्दैन ।

तर, आज उसले जिती ।

यसअघि कुनै पनि दिन मैले उसलाई जितेर माथि पर्न दिइनँ । आज उसले मलाई नै तल पारी । उही लोकेशन, उही पोज र उही तस्वीर…।

उसको त्यो एउटा सपना खुला आकाशमा अनुहार उँभो फर्काएर दुवै हातले संसार थामेजस्तो गरी फोटो खिच्ने रहर पूरा गरी । ऊ आज उन्मुक्त भई ।

लगत्तै फेसबुक अन गरी । त्यो फोटो पोष्ट गरी र क्याप्सन लेखी, ‘म ह्याक हुन चाहन्छु ।’

प्रकाशित मिति : भाद्र २१, २०७६ शनिबार  १ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]