कनकाईमा बोक्सी लागेको भन्दै तातो पुन्यूले डाम्ने पक्राउ
भद्रपुर । बोक्सी लागेको भन्दै महिलालाई शारीरिक यातना दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

कनकाई नगरपालिका–२ जामुनबारीकी एक युवतीलाई बोक्सी लागेको भन्दै यातना दिएको आरोपमा सोही ठाउँकी ४० वर्षीया शान्ता बुढाथोकी र २१ वर्षीय दिनेश दर्जीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार २२ वर्षीया बबिता दर्जीलाई बोक्सी लागेको भन्दै बुढाथोकी र दर्जीले तातो पुन्यूले डामेर घाइते बनाएका छन् । उनीहरूले बोक्सी लागेको भन्दै झार फुकको नाममा पित्तलको पुन्यू अगेनामा तताएर बायाँ गाला र दाहिने हातमा डामेका थिए । बबिता सामान्य ज्वरो आएपछि झारफुकका लागि बुढाथोकीको घरमा पुगेकी थिइन् । बुढाथोकीको घरमै यस्तो घटना भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।
बुढाथोकी र दर्जीलाई इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले शुक्रबार राति पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई बोक्सीको आरोप (कसुर र सजाय ) ऐन २०७२ अनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।