बैशाख १४, २०८१ शुक्रबार

सडकमा भड्कीएका आत्माहरु

बद्री भट्टराई

भौतिकवादले माथिको शीर्षकलाई निषेध गर्दछ । नेपाली समाज अलि बढी अध्यात्मवादमा विश्वास गर्दछ । सोही अनुरुप यो पंतिकारले अध्यात्मवादी शीर्षक चयन गर्ने कोशिष गरेको छ । माफ गर्नु होला पंतिकार आफै भौतिकवादमा विश्वास गर्दछ । भनिन्छ, कसैले सहज मृत्यु वरण गर्न नसक्दा उ प्रेत हुन्छ रे ! जागित्र हुन्छ रे ! चुडेल चुडेल्नी हुन्छ रे ! पञ्चायति व्यवस्था समाप्त भएको पनि ३० वर्ष विति सकेछ । राजतन्त्र समाप्त भएको त १२ वर्ष भईसकेको छ । पञ्चायति प्रेतले आज पनि तर्साइरहेको छ , बेला बेला । त्यस्ता तर्साउने प्रेत, जागित्रहरुलाई आ आफ्नो संस्कार अनुसार कसैले पुराण लगाएर मोक्ष गरिदिन्छन् त कसैले जागित्र भगाउन फेदाङमा बोलाएर धामी बसाएर, नाना थरी फलाकेर, अनेकौ बक्साएर मोक्ष गर्ने चलन रही आएको छ ।

श्री मद भागवत गीताका अनुसार कुनै बेला यस धर्तीमा धन्धुकारी भन्ने पात्र थियो रे । उसले चार वटी धन्धुलीहरु भेला गरेको रहेछ । नामै त धन्धुकारी, उसले धन्धुलीहरुलाई खुबै दुःख दिएछ । शुरु शुरुमा त धन्धुलीहरु एक आपसमा झगडा गर्थे । धन्धुकारी आफ्नो बनाउन दौड धुप गर्थे । आखिर धन्धुकारीले सबै धन्धुलीहरुलाई असाधै दुःख दिएको चारै जनाले महशुस गरेछन् । अन्त्यमा, धन्धुलीहरुको एक स्वर भएछ । धन्धुकारी साच्ची कै धन्धुकारी हो ।

सामान्य भनसुन र चेतावनीले टेर्दै टेर्दैन । धन्धुकारीलाई धन्धुलीहरु मिलेर पिड्दा पिड्दा गरेछन् । आखिर धन्धुकारीले त्यो पिटाइबाट मृत्यु वरण गरेछ । बाहिरका जनले थाहा पाउछन् भनेर धन्धुकारीको लास घरकै चुलोको चौका भएकै ठाउँमा संस्कार गरिएछ । त्यहाँ पुरेपछि चुलो जस्ताको त्यस्तै बनाइयो । जिउदै हुँदा त्यति धेरै दुःख दिने धन्धुकारीको स्वर्ग गमन भएनछ । उ त्यतै तिर प्रेत जागित्र बनेर धुमिरह्यो । धन्धुलीहरुलाई तर्साउनसम्म तर्सायो । सर्व साधारणको त कुरै छाडौ । मरेपछि पनि धन्धुकारीले दुःख दिएरै छाड्यो ।

ठिक यसरी नै ६५ सालमा समाप्त भएको राजतन्त्र अनेकौ बहाना बनाएर टाउको उठाउने दुश्प्रयत्न गरिरहेको छ । राजतन्त्र रही रहेकै बेला त्यसको बासी भात खाएका मण्डलेहरुले कहीले गाई बोकेर त कहिले हिन्दु धर्म, कहिले रवि त कहिले ज्ञानेन्द्र शाही बोकेर जनतालाई दुःख दिइरहेकै छन् । राजतन्त्र अन्त्य हुनु पूर्व खुबै दुःख र सास्ती दिने धन्धुकारी राजतन्त्र, समाप्ती पछि पनि उ प्रेत बनेर घुमिरहेको छ । जनतालाई सास्ती दिइरहेको छ । हुँदाहुँदा सयौंको वलिदान, तपस्याबाट प्राप्त गणतन्त्र माथि धावा बोल्ने दुस्प्रयत्न गरिरहेको छ ।

जनताले आफूलाई दुःख दिने धन्धुकारी राम्ररी नै चिनेका छन् । उसले कति दुःख दिएको थियो , नमिता–सुमिता हत्या काण्ड, छिन्ताङ, पिस्कर हत्या काण्ड , सुखानी हत्या काण्ड जस्ता काण्डै काण्ड मच्चाएको आज पनि झलझली संझिरहेको छन्, जनताले । मुलुकमा भएका पुरातात्विक क्षेत्र, मन्दिरका मूर्तिहरु जस्ता ऐतिहासिक वस्तुहरु चोर्ने, जनताको नासो खत्तम पार्ने, चोर डाकाहरु पनि राम्ररी चिनेका छन्, जनताहरुले । विकास प्रेमी राजा र राज परिवार समाप्त पार्ने हत्याराहरु पनि सायद जनताकै पहिचान मै होलान् ।

त्यति विधि दुःख दिने धन्धुकारीलाई सही सलामत विदा गर्दा पनि अझै धर पाएनन्, जनताले । अकालमै मृत्युवरण गरेको राजतन्त्र त्यसका मसिहाहरु प्रेत र जागित्र बनेर पुनः दुःख दिन थालेका छन् । कही नभएको भ्रष्टचार विरोधी भएर नौटकी गरेर जनतालाई थाहा छैन र ? सबभन्दा धेरै मूलुक बर्वाद गर्ने को हुन भनेर ?


हे ! प्रेत बनेर भड्कीएका आत्माहरु ! जागित्रहरु ! धेरै फट्याक फुटुक्क नगर । जनताले श्री मद भागावत गीताको पुराण लाउनु नपरोस । धन्धुकारी राजतन्त्रलाई मोक्ष गर्न अर्थात समान्तवादको अवशेषलाई समाप्त गर्न सात आँखा भएको बाँस गाड्नु परोस । फेदाङमाले चिन्ता गर्नु नपरोस । श्री मद भागवत पुराण लगाउनु परेको पहिलो दिनमा धन्धुकारी पुराण स्थलमा गाडिएको बाँसको एक आँखा फुटाएर अर्को माथिल्लो आँखा तिर जानेछ ।

क्रमशः सात दिने पुराण लगाई सक्दा एवं रितले दोस्रो , तेस्रो हुदै सातै आँखा पार गरेर मोक्ष हुनेछ । अर्थात जनताले पुराण लगाउन थालिसकेका छन् । ४६ सालमा एउटा पुराण लगाए एक आँखा फुट्यो । ६२÷६३ सालमा अर्कै आँखा पार गर्यो । ०६५ सालमा तेस्रो तथा महत्वपूर्ण आँखा पार गर्यो । नारायणहिटीबाट निस्कदा चौथो आँखा पार गर्यो । बढ्ता फट्याक्क फुटुक्क गरेका कारण शितल निवासबाट नागार्जुन तिर निकाला हुँदा पाचौ आँखा छिचोल्यो ।

अब दुईवटा आँखा मात्र रहेछन् त्यो धन्धुकारी रुपी बाँसका । छैटौ आँखा पार गर्न अहिले फट्याक फुटुक्क गर्दै छ ऊ । अझ बढी हुन थाल्यो भने , जनताले पुराण लगाईरहकै छन् है । तिमीले नै लोकतन्त्रवादीहरुलाई , गणतन्त्रवादीहरुलाई सडाउन बनाएका जेलहरु छदै छन् त । छैटौ आँखा छिचोल्दा तिमी जेलमा बस्न मञ्जुर हुनु पर्दछ । त्यतिखेर तिम्रा धन्धुलीहरु सबै मुर्छित हुने छन् । बाल बच्चा ( पूर्व मण्डलेहरु) टुहुरा हुनेछन् । अझै तिम्रा बासी भातेहरुलाई फट्याक्क फुटुक्क गराउने हो भने , हे ! धन्धुकारी तिमी रुपी बाँसको सातौ आँखा पनि फुटेर तिमी नेपाली लोकमा बस्नै सक्ने छैनौ । परलोक (भारत वा स्वीजरलैण्ड ) देश निकाला हुने छौ । नेपाली लोकबाट मोक्ष हुने छौ । आखिर आत्मा त भड्कीरहन्छ होला नि । हरेक गणतन्त्र दिवसमा तिमीलाई पिण्ड चडाइरहने छन् ।

बुझौ धन्धुकारी अब त ? बुझौ धन्धुलीहरु हौ ? अझै अनेक बाहानामा नतर्साउ जनतालाई । पुराणको अन्तिम दिन निम्त्याउने कि ! ननिम्त्याउने ? यदि निम्त्याउने हो भने पनि ठिकै छ । बाँसको छैटौ र सातौ आँखा जनताको शक्तिको प्रभावले जवर जस्ती फुटालिने छ । सर्वभौम सत्ताका मालिक जनता स्वयमले छैटौ आँखा फटाल्न चर्काइ सकेका छन् किनकी राजावादी दल आज जमाना जफ्त भई सकेको छ । त्यान्द्रा तुन्द्री समात्दै नहिडे कै वेस । ठूलै लठारो त चुडाइसके जनताले भने त्यान्द्रा तुन्द्रीमा आत्मातुष्टि गरीरहेकोमा भड्कीएका आत्माहरु खुशी होलान् सायद ।

तर त्यो खुशी निमेष भर रहने छैन । त्यान्द्रालाई थाग्रो लगाएर आफू थाग्रोको मालिक भएको गर्व नगरे हुन्छ । त्यान्द्राले थाग्रोको मालिक मै हुँ भनि सक्यो । विचरा धन्धुकारी र धन्धुलीहरु हैरान मात्र । जनताहरु तिमीलाई मोक्ष गर्न चाहिरहेका छैनन सायद । यतै कतै तिम्रो आत्मा भड्कीरहेको हेर्न मज्जा लाग्छ सायद उनीहरुलाई । के तिनीहरु मोक्ष हुन ताउर माउर गरिरहने हो त ? यदि हो भने तिमीहरुलाई अलविदा गर्न तयार नै होला है जनता । कठै बरा ! हात नलम्काएस, आँखा नचम्काएस , बढ्दा फटयाक्क फुटुक्क नगरेस, जय लोकतान्त्रिक गणतन्त्र !

प्रकाशित मिति : भाद्र २१, २०७६ शनिबार  ७ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]