बैशाख २०, २०८१ बिहीबार

आखिर को हुन्, मुक्तिचोकमा साँझ–विहान ध्यान गर्ने व्यक्ति ?

बिर्तामोड । झापाको बिर्तामोडस्थित मुक्तिचोकमा हरेक साँझ र विहान एक जना वृद्ध ध्यान गरिरहेको भेटिन्छन् । एक महिनादेखि देखिएको यो दृष्यमा सबैको नजर परिरहेको छ । ध्यानमग्न बस्ने बृद्धमाथि सबैको जिज्ञासा छ, आखिर को हुन्, उनी ।

बिहान मुक्तिचोकको स्तम्भमुनी र साँझ चोककै सडकपेटीमा एक–एक घण्टा ध्यान गरेर फर्किने बृद्धका बारेमा इजलासले खोजी गरेको छ । सबैको चासोमा परेका बृद्ध हुन्, ७० वर्षीय मातृका भेटवाल । जो नेपाल टेलिकमका रिटायर्ड कर्मचारी समेत हुन् ।

बिर्तामोड –४ घर भएका भेटवालको सारा समय ध्यान मै वित्ने गरेका छन् । बिर्तामोडमा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित बृद्धाश्रममा वर्षौ देखि सेवकका रुपमा कार्यरत भेटवालको दैनिकी अनौठो छ । हरेक दिन राती ९ बजे सुत्ने र १२ बजे उठेर ध्यानको कर्म शुरु गर्ने भेटवालमा ध्यानको नसा पाइयो । १२ बजे उठेर १ घण्टा घरमै ध्यान गर्ने उनी फेरि १ घण्टा सुत्छन् । फेरि ३ बजे उठेर नजिकैको पिपलको रुखमुनी एक घण्टा ध्यान गर्छन् । र, नृत्यकर्म सेकर उनी ओमशान्ति केन्द्र पुग्छन् । त्यहाँ एक घण्टाको मुरली कक्षामा सहभागी भएर फेरि बृद्धाश्रम पुग्छन् । केहि वेर आश्रममा सहयोग गरेर उनी मुक्तिचोक पुग्छन् । मुक्तिचोक पुग्दा झण्डै साढे सात देखि पौने आठ हुने गर्छ । त्यसपछि फेरि आश्रमतिर लाग्छन् ।

बृद्ध भेट्वालका अनुसार ध्यान गर्ने समयबाहेक सबै समय आश्रममा वित्ने गरेको छ । आश्रममा आश्रित बृद्धबुद्धालाई स्याहारसुसार गर्ने, नुहाइदिने , विरामी हुँदा अस्पताल पुराउने देखि दिसापिसाव सार्नेसम्मको काममा सरिक हुने गरेको आश्रमका अन्य स्वयम्सेवक बताउँछन् । आश्रममा लामो समयदेखि सेवा गर्दै आएका भेटवाल बृद्धबुद्धाका लागि मुठ्ठी दान संकलनमा पनि सहयोग गरिरहेको स्वयम्सेवक रञ्जना थापाले जानकारी दिइन् ।

आफ्नो पिता पुर्खादेखिको प्रेरणाले ध्यान गर्न थालेको उनको भनाई छ । उनले भने – ‘ म समय हेर्दिन, तर, समयको पालनामा कतै पनि कमजोरी हुदैन । सबै ठाउँ ठिक समयमा पुगेको हुन्छु । त्यो मेरो ध्यानको उपज हो ।’
तामासी भोजन (माछामासु, लसुन, प्याज बाहेक) गर्ने उनी एक समय मात्रै खाना खाने गरेको सुनाउछन् । एक समय रोटी ग्रहण गर्ने भेट्वाल सुगरको रोगी भएपछि ध्यानलाई झनै कडाइका साथ लागु गरेको बताउँछन् । व्यवस्थित दैनिकी हुँदा पनि रोगले च्यापेछ, उनले थपे – ध्यान गरेर र पेट पिटेर रोग निको पारे ।

२७ वर्षदेखि ओमशान्तिमा लागेका भेटवालले एक पटक सबै धर्ममा लागेको सुनाए । सबै धर्म बुझ्ने अवसर पाएको सुनाउदै उनले यतिबेला ब्रम्हाचारीमा आफुलाई समाहित गरेको बताए । ओम शान्ति केन्द्र बिर्तामोडमा विहानको एक घण्टा योगा गर्छु, उनले भने – योगा सिक्न चहानेहरुलाई सिकाइ पनि दिन्छु । दिउँसोको समय उनले बिर्तामोडको विएण्डसी अस्पतालमा योगा पनि सिकाइरहेका छन् ।

टेलिकमको जागिरे हुँदा पनि उनको दैनिकी साधुभेषमा हुने गथ्र्यौ । त्यो बेला पनि रातभर जसो ध्यान गर्थे । रातभर ध्यान , दिनभर काम गर्थे । उनले भने, मेरो कारण परिवारले धेरै सास्ती भोग्नुपरेको छ । अहिले पनि घर मै ध्यान गरेर बसे हुन्थ्यो भन्ने परिवारको चहाना छ ।

ध्यान गर्न ३-४ घण्टासम्म पद्मासनमा बस्न सक्ने उनले बिर्तामोडको मुक्तीचोकमा एउटा अनौठो व्यवहार पनि व्यहोरेका छन् । ध्यानमा बसिरहेको बेला केहि थाहा नपाउने उनलाई प्रहरीले बिर्तासिटी अस्पताल नै पुराएका रहेछन् । मुक्तिचोकको स्तम्भ मुनी ध्यान गरेर बसिरहेको बेलामा प्रहरीले बोलाउनु भएछ, उनले भने – मैले थाहा नपाएपछि मलाई त विरामी भनेर अस्पताल पो पुराउनु भएछ । मैले ध्यानबाट ब्युँझिदा अस्पतलाको बेडमा आफुलाई पाए । पछि आश्रमका मान्छेसँग सम्पर्क गरेर अस्पतालबाट डिस्चार्ज गरियो । अनायासै ४२ सय खर्च पनि गरेछन् ।

भेट्वालले योगा, ध्यानका बारेमा लिखित २५ हजार पर्चा बाँढ्दै मेची–महाकाली साइकल यात्रा गरिसकेका छन् । ०७१ सालमा साइकल यात्रा गरेका भेटवालले २२ दिनमा महाकालीको यात्रा पुरा गरेका थिए ।

ध्यान त सुनसान, एकान्त ठाउँमा बसेर गर्ने होइनर भन्ने जिज्ञासाको उनले भने , मुक्तिचोकमा बसेर ध्यान गर्दा सबैलाई ध्यान गर्ने प्रेरणा मिलोस् भन्ने चहाना हो । म सबैलाई ध्यानका लागि सकारात्मक सन्देश दिन चहान्छु । अन्त्यमा उनले थपे, मान्छेमा धेरै कुराहरुको कमजोरी भइरहेको छ । अब हामीले हरेक दिन आफुलाई जाँच लिन जरुरी छ ।

प्रकाशित मिति : श्रावण ९, २०७९ सोमबार  १० : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]