जेष्ठ ५, २०८१ शनिबार

द्रुतमार्ग निर्माणपछि बिर्तामोडको दुरी ४७ किमि मात्रै

फिक्कल– इलामबाट मेची राजमार्ग हुँदै बिर्तामोड पुग्न ८३ किलोमिटर दूरी पार गर्नु पर्ने हुन्छ तर, यहाँ हाल निर्माण भइरहेको दु्रत मार्ग सम्पन्न भएपछि ४७ किलोमिटरको यात्रामै बिर्तामोड पुग्न सकिन्छ ।

पहाडी जिल्ला इलाम सुगम जिल्लाकै रुपमा परिचित छ । स्वास्थ्य क्षेत्रमा अत्यन्तै पछाडि परेको इलामवासीलाई द्रुत मार्ग निर्माणले ठूलो आशा जगाइदिएको छ । खाद्यान्न र निर्माण सामग्रीको ढुवानी र स्वास्थ्योपचारका लागि अझै पनि इलामले तराईमाथि भर पर्नु परिरहेको छ । द्रुत मार्गको निर्माणले यस्तो स्थितिको अन्त्य गरिदिने छ । महङ्गोमा ढुवानी गर्न नपरे पछि सामान सस्तिने इलामका उपभोक्ता तथा व्यापारीहरुको भनाइ छ ।

इलाम बजारका व्यापारी सुमन सुवेदी ढुवानी भाडामा मात्र हैन समय पनि बचत हुने बताउनुहुन्छ । इलाम बजार मात्र हैन, इलाम–मंगलबारे बजार जोड्ने द्रुत मार्ग निर्माण भइरहेको छ । यहाँबाट हिउँदका दिन सहज रुपमा गाडी वारपार भइरहेका छन् । बर्खा याममा साना गाडी गुड्छन् । मंगलबारे बजारबाट बिर्तामोड पुग्न १२० किलोमिटर पार गर्नुपर्छ तर, द्रुत मार्गबाट ५३ किलोमिटर दूरीमै बिर्तामोड पुग्न सकिन्छ ।

राज्य पुनःसंरचनापछि स्थानीय तहबाट नै गाउँ गाउँमा काम हुन थालेपछि सदरमुकामसमेत रहेको इलाम बजार सुनसान बन्दै गएको धेरैको गुनासो अब भने हट्ने भएको छ । इलाम बजार र मंगलबारेबाट तराई पुग्न अब आधा दूरी घट्ने भएको छ । इलाम नगरपालिका–९ को भञ्ज्याङ, राकसे हँुदै बेलासे पुग्ने दश किलोमिटर लामो नयाँ ट्र्याक खुलेसँगै इलाम बजारबाट झापा पुग्न आधा दूरी घट्ने भएको हो ।

हाल इलामबाट बिर्तामोड पुग्न मेची राजमार्गबाट ८३ किलोमिटर दूरी पार गर्नुपर्छ तर, यो दु्रत मार्ग खुलेपछि ४७ किलोमिटरमै बिर्तामोड पुग्न सकिने भएको छ । मेची राजमार्गबाट बिर्तामोड पुग्न तीन घण्टा समय लाग्नेमा अब आधा कम समयमै बिर्तामोड पुगिने भएपछि स्थानीयवासी खुशी छन् । बिरामी हुँदा पनि चाँडो तराई पुग्न सकिने भएपछि यहाँका स्थानीय बासिन्दामा खुशी छाएको छ ।

त्यस्तै, मंगलबारे बजारबाट गाग्रेभञ्ज्याङ जितपुर, सिद्धिथुम्का, सोयाक हुँदै दानाबारीबाट बिर्तामोड पुग्न सकिन्छ । मंगलबारेबाट मेची राजमार्गको नेपालटार निस्किएर इलाम बजार हुँदै बिर्तामोड पुग्न साढे चार घण्टा समय लाग्ने गरेको छ तर, निर्माणाधीन दु्रत मार्गबाट दुई घण्टामै बिर्तामोड पुग्न सकिने भएपछि मंगलबारेवासी पनि हर्षित छन् । इलाम बजारबाट झापा जाने सडकको थालनी भने विसं २०७४ मै भएको थियो । तत्कालीन निर्वाचन पूर्वाधार विकास कार्यक्रममार्फत प्राप्त रु १४ लाख ५५ हजार र तत्कालीन जिल्ला विकास समितिबाट प्राप्त रु दुई लाख ५० हजारले नयाँ ट्र्याक खोल्न शुरु गरिएको बताइएको छ ।

चालु वर्षमा इलाम नगरपालिकाको १५ लाख र १ नं प्रदेशबाट पाँच लाखको लागतमा उक्त सडक खण्डको ट्र्याक खुलेको हो । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष तारादेवी कटुवालले १५ लाखले आठ मिटर चौडा भएको सडक एक हजार ७०० मिटर कटिङ गरिएको र पाँच लाखले थप सात सय मिटर कटिङ गरिएको जानकारी दिनुभयो । उहाँले घोर्लेभिर भन्ने स्थानसम्म सडक फराकिलो पार्ने काम भए पनि त्यहाँदेखि बेलासेको सोयाक–चिसापानीसम्मको सडक अmझै साँघुरो रहेको बताउनुभयो ।

इलाम भञ्ज्याङबाट नयाँ ट्र्याक खुलेपछि राकसे हँुदै माइ नगरपालिकाको दानाबारी र झापाको खुदुनाबारीसम्म यातायात सञ्चालन भएमा भाडासँगै सामग्री ढुवानी र पर्यटन क्षेत्रमा सम्भावनाका थप ढोकाहरु खुल्ने स्थानीयवासीले बताएका छन् । उक्त सडक खुलेसँगै यात्रा छोटिएर श्रम र स्रोत समेत बचत हुनेछ । दु्रत मार्गमा पुवाखोला तर्ने पक्की पुल निर्माण र सडक स्तरोन्नति हुन बाँकी रहेकाले हिउँदमा मात्र साना सवारी साधन चलाउन सकिन्छ । उक्त सडकका लागि हाल रणनीतिक सडक योजनाअन्तर्गत एक करोड बजेट छुट्याएको छ । यस रकमबाट सडक डिभिजनले थप काम अगाडि बढाउने इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतले जानकारी दिनुभयो ।

इलामदेखि बिर्तामोड पुग्न सडकका बीचमा विभिन्न खोला तर्नुपर्ने भएपनि केही पुल निर्माण भइसकेका छन् । पुवाखोलामा पुल बन्न बाँकी रहे पनि माईखोलाको बेलासेमा पुल बनिसकेको छ भने लोदिया खोलामा पुल निर्माणको ठेक्का लागिसकेको छ । दानाबारी गरुवा खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । यस्तै, उक्त सडकमा पर्ने बुढी सुखानी र टाङटीडको पुल बनिसकेको छ ।

मेची राजमार्गबाट झापा जोड्न करीव तीन घण्टाको सडक यात्रा तय गर्नुपर्ने बाध्यता रहेकामा अब भञ्ज्याङ बेलासे दानाबारी सडक स्तरोन्नति भएमा एक घण्टामै झापासम्म सजिलै पुग्न सकिने भएको छ । प्रदेश सरकारले यस सडकलाई पक्की बनाउन काम अगाडि बढाउने बताइएको छ । साँघुरो मेची राजमार्गले हाल इलामसहित ताप्लेजुङ, पाँचथर ते¥हथुम लगायतका जिल्लाहरुमा जाने साना ठूला सवारीको भार थाम्न बाध्य छ । यो सडक निर्माणमा चासो दिए मेची राजमार्गमा पर्दै आएको सवारीको चाप समेत कम हुनेछ ।

साँघुरो सडक भएकै कारण बढी दुर्घटना र बिरामी हुँदा अस्पताल पुग्न धेरै समय लाग्ने भइरहेको छ । यता, मंगलबारे–जितपुर–बिर्तामोड सडकबाट भने दैनिक सवारी सञ्चालन हुन थालेपछि मंगलबारे क्षेत्रका बासिन्दा इलाम बजार नटेकी झापा पुग्न थालेका छन् । यस सडकले ढुवानी खर्च मात्र घटाएको हैन समयको समेत बचत भएको स्थानीयवासी निर्मल आचार्यले बताउनुभयो । उहाँ इलाम बजारबाट झापा पुग्न भन्दा दानाबारीबाट झापा झर्दा आधा भन्दा कम दूरी र समय लाग्ने बताउनुहुन्छ ।

मंगलबारेका व्यापारीहरुले पनि यस सडकमार्फत ढुवानी भएका सामानमा एक÷दुई रुपैयाँ सस्तोमा सामान बेच्ने गरेको बताउँदै आएका छन् । सडक कच्ची भए पनि उन्नति परियोजनाले ग्राभेल गरिदिएकाले गाडी गुड्छ । यस सडकको स्तरोन्नति गर्न स्थानीयवासीले माग गर्दै आएका छन् । यस सडकलाई देउमाई नगरपालिकाले आफ्नो गौरवको आयोजनाका रुपमा लिएर काम अगाडि बढाइरहेको छ । नगरपालिकाले राँके, तपेवा, सावजुङ हुँदै मंगलबारे बजारबाट दानाबारी र बिर्तामोड सडकअन्तर्गतका नगरभित्रको सडकलाई गौरवको आयोजनाका रुपमा काम अघि बढाउँदैआएको नगरपालिका प्रमुख सूर्य प्रसाद पोख्रेलले बताउनुभयो ।

प्रदेश सांसद राम रानाले यस सडकको स्तरोन्नति गर्न सङ्घीय सरकारले काम थालेको बताउनुभयो । यस सडकलाई पक्की गर्न डिपिआर सर्वे भइसकेको छ ।

प्रकाशित मिति : भाद्र २५, २०७६ बुधबार  ११ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]