जेष्ठ ४, २०८१ शुक्रबार

झापा प्रहरीको चिन्ता : लागुऔषधले ध्वस्त बन्दैछ समाज

बिर्तामोड । खुला सीमाका कारण झापा लागुऔषधको मुख्य ट्रान्जिट पोइन्ट बनिरहेको छ । हरेक वर्षको तथ्याङकमा झापा जिल्लामा लागुऔषध कारोवार गर्नेहरुको संख्या बढ्दै गइरहेको देखिएको छ । लागुऔषधका कारण परिवार र समाज नै ध्वस्त भइरहेको प्रहरीको धारणा छ ।

लागुऔषध नियन्त्रणमा प्रहरीको एकल प्रयास भइरहे पनि अपेक्षाकृत सफलता हासिल गरेको पाइदैन । छिटपुट बाहेक पक्राउ पर्ने कारोवारीहरु सामान्य धरौटीमा छुट्ने गरेका छन् । प्रहरीसँग कुनै प्रविधि पनि छैन, सीमामा कार्यरत एक प्रहरी अधिकारी भन्छन्– शंकाको भरमा समाउनुपर्छ ।

झापाका प्रहरी प्रवक्ता डीएसपी बसन्त पाठकले आर्थिक वर्ष ०७८-७९ मा लागुऔषध कारोवार गर्ने ३०७ जनालाई पक्राउ गरिएको छ । त्यसमा महिला र पुरुष दुवै छन् । सो आवमा २ सय वटा मुद्दा मात्रै दर्ता भएका छन् । कारागारमा पछिल्लो वर्ष कैद भुक्तान गर्न जानेहरुमा लागुऔषध कारोवारी र प्रयोगकर्ता मात्रै छन् । प्रवक्ता पाठक भन्छन्, लागुऔषध कारोवार गम्भीर प्रकारको अपराध हो । यसको नियन्त्रण र नियमनमा सबैको सहकार्यको खाँचो छ ।

गएको आर्थिक वर्षमा मात्रै झापा प्रहरीले ठुलो परिणाममा लागुऔषध बरामत गरेको छ । झापा प्रहरीका अनुसार डाइजापाम ४८० एम्पुल, लुपिजेसिक ६९० एम्पुल, फेनारगन ६०७ एम्पुल, नाइट्रोसन-नाइट्रोभेट १५५४-१३७९ चक्की, ब्राउन सुगर १.४१ किलोग्राम , गाँजा ४१.२५ किलोग्राम, स्कुफ ७५ बोटल, ११ ग्राम अफिम, ६ ग्राम चरेश लगायत नामक लागुऔषध प्रहरीले बरामत गरि नष्ट गरेको छ ।

मुद्दा संख्यालाई आधार मान्ने हो भने मेचीनगरमा सबैभन्दा धेरै पक्राउ परेको देखिन्छ, प्रवक्ता पाठकले भने – जिल्लाका सबै भागहरुमा लागुऔषधको कारोवार र प्रयोग बढिरहेको छ । उनले केहि स्थानीय तहहरुले बाहेक लागुऔषध नियन्त्रणमा चासो नदेखाएको बताए । पालिका र समुदायस्तरबाट लागुऔषध नियन्त्रणमा चासो दिइए नियन्त्रणमा ठुलो योगदान हुन सक्ने उनको भनाई छ ।

गाडिसहित २ पक्राउ
झापामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा झापा र सप्तरी जिल्लाका छन् । प्रहरीका अनुसार बाह्रदशी गाउँपालिका ६ बिहीबारे निवासी ३० वर्षीय पूरण राई र सप्तरी बोदे बर्साइन घर भई हाल बिर्तामोड नगरपालिका १ स्थित भगवान चौकमा डेरा गरी बस्ने ३५ वर्षीय नागेन्द्रकुमार यादव रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरूलाई मेचीनगर नगरपालिका– ६ स्थित काँकडभिट्टाको पुरानो मेची पुलबाट पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरु सवार प्र.३–०१–०२४ च ८००० नम्बरको गाडीलाई शङ्का लागि चेकजाँच गर्दा उनीहरूको साथबाट २ ग्राम ८०० मिलिग्राम ब्राउन फेला परेको थियो । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित मिति : श्रावण १५, २०७९ आईतबार  ७ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]