श्रावण ३१, २०७९ मंगलबार

बिर्तामोडका फुटपाथ व्यवसाय हटाइने

बिर्तामोड । बिर्तामोड बजार क्षेत्रभित्र सडक पेटीमा सञ्चालन हुँदै आएको फुटपाथ व्यवसाय हटाइने भएको छ । बिर्तामोड नगरपालिकाको कार्यालयमा आज बसेको सर्वदलीय बैठकले फुटपाथ व्यवसाय हटाउने निर्णय गरेको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको बैठकले बिर्तामोडमा फुटपाथ व्यवसायका कारण पार्किङको समस्या र सडक दुर्घटनाको जोखिम बढेको भन्दै फुटपाथ हटाउने निर्णय गरेको हो ।

बैठकले बजारक्षेत्र भित्र सटर लिएर व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुले पनि व्यवसाय फुटपाथसम्म विस्तार गरेको पाइएकाले यस प्रकारको कार्यलाई पनि हटाउने निर्णय गरेको छ । फुटपाथ व्यवसाय हटाउनका लागि नगरपालिकाले ७ दिनको म्याद राखेर सूचना सार्वजनिक गर्ने नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए ।

सर्वदलीय बैठकले फुटपाथ खाली भए नभएको र स्थानीय वस्तुस्थितीको अध्ययन, अनुगमन, समन्वय तथा सुझावका लागि नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको संयोजकत्वमा १६ सदस्यीय कार्यदल समेत गठन गरेको छ ।
बिर्तामोडको भद्रपुर रोड, शनिश्चरे रोड, कृषिथोक बजार वरिपरी र बजार क्षेत्रभित्र पर्ने पूूर्व पश्चिम राजमार्गको पेटीमा आधिकारिक रुपमा दर्ता नभइ मापदण्ड विपरित फुटपाथ व्यवसाय सञ्चालन हुँदै आएका कारण बिर्तामोड बजार अस्तव्यस्त बन्दै आएको छ ।

सर्वदलीय बैठकमा नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नेकपा एमाले बिर्तामोड नगरकमिटी अध्यक्ष सुवास भट्टराई, नेकपा माओवादी केन्द्रका बिर्तामोड नगरकमिटी अध्यक्ष मोहन सुव्वा, राप्रपा नगरसमिति उपाध्यक्ष किरण प्रसाद पौड्याल, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष श्रीप्रसाद सिटौला, लोकतान्त्रिक समाजवादी पार्टीका नगरअध्यक्ष लखनलाल राजवंशी, वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ४ का वडाध्यक्ष राहुलकुमार शर्मा, वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाई, वडा नम्बर ७ का वडाध्यक्ष कृष्ण प्रसाद खरेल, बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, उद्योग वाणिज्य संघका उपाध्यक्ष संजिव घिमिरे, नैनकला भट्टराई, राधिका चुडाल हुमागाई, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख रुगमबहादुर कुवर लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार  ६ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास