बैशाख १४, २०८१ शुक्रबार

दमकबाट अनलाइन बेटिङ खेलाएर लाखौं ठगी गर्ने चार जना पक्राउ

बिर्तामोड । अनधिकृत रूपमा अनलाइन गेमिङमार्फत लाखौंको कारोबार गर्ने गिरोह पक्राउ परेको छ । झापाको दमक नगरपालिका तथा आसपासका क्षेत्रमा सो कार्यमा संलग्न चार जना पक्राउ परेका हुन् ।

प्रहरीले दमक नगरपालिका–८ का २५ वर्षीय सतप्रकाश साह, दमक–७ का २७ वर्षीय राजु श्रेष्ठ, झापाको कमल गाउँपालिका–२ का ३० वर्षीय अरुण कार्की र दमक–८ का ३३ वर्षीय राजु लिम्बुलाई पक्राउ गरेको हो ।

उनीहरूलाई सोमबार दिँउसो इलाका प्रहरी कार्यालय दमकले पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । उनीहरूलाई गोप्य सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर आरआइटी शाखा, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।

झापा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार नेपालमा प्रतिबन्धित वान एक्स बेट एप्लिकेसनमा पैसाको हारजित हुनेगरी खेल खेल्ने र उक्त खेल खेलाउन अनाधिकृत रूपमा अन्य व्यक्तिहरूको नागरिकताबाट सिम झिकेर सट्टाबाजीको लागि आवश्यक रकम पाउन इसेवा खाता खोली लाखौंको कारोबार गर्ने गरेको पाइएको छ ।

त्यबाहेक कन्सल्टेन्सीमा आउने विध्यार्थीहरूको प्रयोगको लागि विभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरूको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र र एसइईको प्राप्तांकसमेत परिवर्तन गर्ने गरिएको खुलेको उनले बताए ।
पक्राउ पर्नेमध्ये साह पद्मा इन्टरनेसनल कन्सल्टेन्सीका सञ्चालक हुन्। उनले वान एक्स एप्लिकेसनमार्फत सट्टेबाजी गर्ने र त्यसका लागस अनधिकृत रूपमा अन्य व्यक्तिहरूको नागरिकताबाट एनसेल सिम झिक्ने र सो सिमबाट सट्टाबाजीको लागि आवश्यक पर्ने रकम पाउन इसेवा खाता खोलेर लाखौंको कारोबार गर्ने खुलेको थियो ।

उनको इसेवा खातामा ८० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डिएसपी पाठकले जनाए । उनलाई शुक्रबार दमक नगरपालिका–८ बाट पक्राउ गरिएको उनको भनाइ छ । उनीबाट प्रहरीले प्रयोगमा ल्याइएका दुई सय ४४ थान एनसेलका सिमहरू, विभिन्न कम्पनीका नौ थान मोबाइल र दुई थान ल्यापटप बरामद गरेको थियो ।
यस्तै, सोही कन्सलटेन्सीका अर्का सञ्चालक श्रेष्ठलाई प्रहरीले शुक्रबार दमक–८ बाटै पक्राउ गरेको हो। उनले वान एक्स बेटमा सट्टाबाजी खेलाउन कन्सल्टेन्सीमा आउने विद्यार्थीहरूको प्रयोगको लागि विभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरूको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र तयार गरेको आरोपमा पक्राउ गरिएको डिएसपी पाठकले बताए ।

उनका साथबाट प्रहरीले प्रयोगमा ल्याइएका ३५ थान एनसेलका सिमहरू, प्रयोगमा नल्याइएका ४५ थान एनसेलका सिमहरू, एक थान आइफोन, एक थान सिपियू र एक थान ल्यापटप बरामद गरेको थियो । त्यसबाहेक दमक–२ का वडाध्यक्ष प्रजापति सापकोटा लेखिएको एक थान स्ट्याम्प, प्रधानाध्यापक लेखिएको एक थान स्ट्याम्प, डिकबहादुर गुरुङ लेखिएको स्ट्याम्प र मादी नगरपालिका–३ को वडा कार्यालय लेखिएको एक थान स्ट्याम्पसमेत बरामद भएको थियो ।

सोही आरोपमा कमल गाउँपालिका–२ स्थित योर्स कम्युनिकेसन एन्ड फोटो स्टुडियो सञ्चालक अरुण कार्कीलाई पक्राउ गरिएको उनले जनाए । उनका साथबाट विभिन्न कम्पनीका नौ थान मोबाइल, एक थान ल्यापटप, नेपाल सरकार शिक्षा मन्त्रालय लेखिएको एक थान स्ट्याम्प, नेपालको निशान छाप भएको स्ट्याम्प एक थान, नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड लेखिएको एक थान स्ट्याम्प, ग्लोबल इजुकेसनल एकेडेमी लेखिएको एक थान स्ट्याम्प र नेपाल आर्मी तथ्यांक कार्यालय लेखिएको एक थान स्ट्याम्प बरामद भएको छ ।

दमक–८ स्थित ब्रिटिश आर्मी ट्रेनिङ सेन्टरका सञ्चालक राजु लिम्बू भने वान एक्स बेट खेलाउनका लागि कागजात बनाउने भूमिकामा थिए। उनले विद्यार्थीहरूको एसइईको प्राप्त ग्रेड परिवर्तन गर्न लगाउने गरेका थिए ।

उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका कसुर र परिच्छेद २५ को लिखत सम्बन्धित कसुरअन्तर्गत जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी पाठकले जनाए ।

प्रकाशित मिति : भाद्र ६, २०७९ सोमबार  ४ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]