झापामा मिटरव्याजी विरुद्ध २४ उजुरी दर्ता
बिर्तामोड । झापामा मिटरव्याजीबाट पीडित भएकाहरुले जिल्ला प्रशासन कार्यालय भद्रपुरमा उजुरी दिएका छन् । जिल्ला प्रशासन कार्यालय झापाले उजुरीका लागि आव्हान गरेपछि पीडितहरु उजुरी गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय झापाका प्रशाकीय अधिकारी सुरेन्द्र भट्टराईका अनुसार २४ जनाले उजुरी दर्ता गराइसकेका छन् । इलाका प्रशासन कार्यालय दमकबाट ८ जना र जिल्ला प्रशासन कार्यालय भद्रपुरबाट १६ जनाले उजुरी दर्ता गराएको भट्टराईले जानकारी दिए ।
मिटरव्याजीको धन्दा गर्नेहरुबाट पीडितलाई भदौ ६ गतेसम्म उजुरीका लागि सूचना जारी गरिएको थियो । पीडितलाई मिटरव्याजीले गरेको अपराध र शोषण बारे खुलाएर उजुरी दिन भनेको थियो । जिल्ला प्रशासन, इलाका प्रशासन दमक र जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिनु आव्हान गरिएको थियो । जिल्लामा मिटरव्याजीहरुको ठुलै धन्दा भएपनि उल्लेख्य मात्रामा उजुरी परेको छैन ।
सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी रुद्र प्रसाद न्यौपानेले जिल्लामा अनौपचारिक रुपमा भएको कारोवारमा धेरै समस्या रहेको जानकारी दिए । विश्वासले गरेका कारोवारपछि विश्वास टुट्दा समस्या बढेर गएको देखिन्छ, उनले भने । उजुरी दिएकामध्ये कतिपयले प्रमाण पेश नगरेको उनको भनाई छ ।