बैशाख ११, २०८१ मंगलबार

नेपालगञ्ज एअरपोर्टमा शनिबार जे देखियो…

रमा खड्का

सुदूर पश्चिम प्रदेशका पहाडी जिल्लाहरुको रिपोर्टिङ सकेर म शनिबार बेलुका नेपालगञ्ज आइपुगेकी थिएँ । बैतडी, दार्चुला र डडेल्धुरालगायतका रमणीय गाउँपाखाको शीतलता नेपालगञ्ज पुग्दा भङ्ग भैसकेको थियो ।

नेपालगञ्जको प्रचण्ड गर्मी बेलुकी हुँदा केही कम त हुँदै थियो । तर नेपालगञ्ज एअरर्पोटमा भने एकाएक गरम भैदियो । साँझको उडानमा नेपालगञ्जबाट काठमाण्डौ जाने यात्रुहरु समयमै एअरपोर्ट पुगिसकेका थिए । म पनि समयमै एअरपोर्ट पुगिसकेकी थिएँ । टिकटमा फ्लाइट टाइम ६ः१५ लेखिएको थियो । मलाई कुनै हतार थिएन । कुलमान घिसिङको कृपाले राति आकाशबाट झिलीमिली देखिने काठमाण्डौ शहर हेर्नुको मजा बेग्लै हुन्छ ।

नेपालगञ्ज एअरपोर्टमा यात्रुहरु आफ्नो गन्तव्य जान तयार थिए । मैले पनि आफ्नो ब्याग  जाँच गराएर टिकट समातेँ । ६ बजेर ५ मिनेटमा बोर्डिङ पास भयो । यात्रु प्रतीक्षा कक्षमा केहीबेर बसे । एकैछिनमा बुद्ध एअरको जहाज ल्याण्ड गर्यो र यति एअरलाइन्सको जहाज  काठमाण्डौ उड्योे ।

त्यसपछि बुद्ध एअरबाट काठमाण्डौ जात्रे यात्रुहरुलाई जहाजभित्र बस्न लगाइयो । ६ बजेर १५ मिनेटसम्म सबै यात्रु जहाजमा बसिसकेका थिए । जहाजकी परिचारिकाले यात्रुलाई सिटको पेटी राम्रोसँग बाँध्न र यात्रुले पालना गर्नुपर्ने नियमबारे जानकारी गराइसकेकी थिइन् । त्यसपछि चक्लेट बाँडियो र मैले पनि चकलेट समातेँ । 

मलाई जहाजमा दिइने चकलेट खुब मन पर्छ । चकलेट चपाउँदै जहाजको झ्यालबाट बाहिर हेर्न खुब आनन्द आउँछ ।

६ बजेर ३० मिनेट भैसक्योे । तर जहाज अझै उडेन । नेपालगञ्जबाट काठमाण्डौका लागि अन्तिम उडान भएकाले सबैलाई हतार थियो । काठमाण्डौ उत्रिसकेपछि आफू बस्ने ठाउँसम्म पुग्न ढिला हुन्छ भनेर सबैलाई चिन्ता लागिसकेको थियो ।

जहाज किन उडेन भनेर यात्रुहरुले प्रश्न गर्न थालेपछि परिचारिकाले पर्यटनमन्त्रीज्यू धनगढीबाट आइरहेकाले उहाँको प्रतीक्षा गरिरहेको जवाफ दिइन् । 

परिचारिकाको यो कुरा सुन्नेबित्तिकै होहल्ला हुन थाल्यो । ‘के तरिका हो ? को हो त्यो मन्त्री ? यसरी दुःख दिन पाइन्छ ? म पाइलटसँग कुरा गर्छु ।’ यसरी चर्किनेमा उनै ज्ञानेन्द्र शाही रहेछन् ।

उनका चर्काचर्का भाषण युट्युबतिर सुनेको भएर आवाज चिन्न गाह्रो भएन मलाई । त्यसपछि मैले उनीलगायत साथका रहेका दुई तीन जनाको भिडियो  खिच्न थालेँ।मन्त्रीका कारण जहाज उड्नमा ढिला भएको थाहा पाएपछि जहाजभित्रको वातावरण नै बेग्लै भयो । चर्काचर्का आवाज अनि गालीसँगै अपशब्दका फोहरा !

जहाजभित्रै होहल्ला भएपछि डर र भयको मुद्रामा परिचारिकाले हल्ला नगर्न आग्रह गरिन् । ज्ञानेन्द्र शाही ‘म तपाईँको पाइलटसँग कुरा गर्छु’, भन्दै बाहिर निस्के । उनी बाहिर निस्केपछि उनका समर्थक र अरु यात्रु पनि बाध्य भएर जहाजबाट बाहिर निस्किए । केही बेरपछि म पनि बाहिर निस्किएँ । 

मसँगै मेरो सिटमा बसेका एक जना पुरुष र छेउमै बच्चा बोकेकी महिलालगायत आधाभन्दा धेरै यात्रु मोबाइल चलाएर भित्र बसिरहेका थिए । 

जहाजबाट बाहिर निस्केका शाही र उनका समर्थकले करिब १५ मिनेट जति विमानका कर्मचारीसँग चर्को–चर्को स्वरमा विवाद गरे । जहाज उडाउनुपर्छ भन्दै नाराबाजी गरे ।

उनीहरु कहिले विमानका कर्मचारीहरुलाई थर्काउँथे भने कहिले आफै बोलेको भिडियो मोबाइलको फ्ल्याश बालेर खिच्थे । म अलि परबाट यो सबै दृश्य नियालिरहेको थिएँ ।

मन्त्रीका कारण उडान ढिला भएकोमा मेरो मनमा पनि धेरै प्रश्नहरु उब्जिएका थिए । तर, त्यहाँ कराएर हुनेवाला केही थिएन । मन्त्रीले यतै बसेर बिहानको उडानमा काठमाण्डौमा फर्के पनि त हुन्थ्यो नि, किन बेकारमा नागरिकलाई दुःख ? यस्तै कुराहरु मनमा पक्कै थिए मेरा । 

समय ढल्किँदै थियो, ज्ञानेन्द्र शाही र उनका समर्थकहरुको आक्रोश खपिसक्नु थिएन । शाहीले ‘…त्यसका बाउको प्लेन हो ?’ भन्नसम्म भ्याए । अनि उनको साथमा रहेका दुई चार जना अरु यात्रु पनि थपडी बजाउँदै उफ्रँदै थिए । म उनीहरुको भिडियो खिच्दै थिएँ ।  

जहाजभित्र बसेका केही यात्रुलाई भने खासै वास्ता थिएन । मोबाइल खेलाएर बसिरहेका थिए । बाहिर अँध्यारो नै थियो । ज्ञानेन्द्र शाही र उनका समर्थक चर्को स्वरमा ‘उ हेलिकोप्टरमा आउँछ, जहाज उडाउनुस’ भन्दै कड्किँदै  थिए ।

सेतो टिसर्ट लगाएका एक जनाले विमानका कर्मचारीलाई थर्काउँदै ‘म पत्रकार हो, क्म्यामराको अगाडि भन्नुस्’ भन्दै थिए । आपूmलाई पत्रकार भन्ने ती व्यक्तिले ज्ञानेन्द्र शाही कराउँदै गरेको भिडियो खिचिरहेका थिए । त्यसपछि ६ बजेर ५७ मिनेटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई निकै हतास मुद्रामा विमान छेउ पुग्नुभयो ।

मन्त्रीको साथमा रहेका व्यक्तिले ढिला भएकोमा हात जोड्दै ‘सरी’ भन्दै थिए । तर ज्ञानेन्द्र शाही र उनका समर्थकले मन्त्री जहाजको भर्याङमा चढ्दै गर्दा पछाडिबाट धकेल्दै ‘एक–एक घण्टा प्लेन रोक्ने ? यतिबेलासम्म कहाँ हुनुहुन्थ्यो ?’ भनेर कराउन थाले ।

‘म पत्रकार हुँ’ भन्ने अघिको मान्छेले मन्त्री भट्टराईलाई निकै चर्को स्वरमा ‘हु यार यू ? यतिबेलासम्म कहाँ हुनुहुन्थ्यो ?’ भन्दै प्रश्न गर्न थाले । तर, मन्त्रीले भने एक शब्द पनि फर्काउनुभएन । गल्ती गरेको भावमा जहाजको सिटमा बस्नुभयो । बुद्ध एयरका कर्मचारीलगायत परिचारिकाले ढिला भएकोमा यात्रुसँग क्षमा मागे । 

शाही र उनका समर्थक तीन, चार जना बाहेक अरु यात्रुले मन्त्री र जहाजका कर्मचारीसँग अभद्र व्यवहार र चर्को स्वर गरेनन् । मलाई लाग्छ त्यो उडानमा अरु सबै यात्रु भद्र थिए । उनीहरुलाई थाहा थियो यसरी जहाजभित्र हुलहुज्जत, होहल्ला, चर्को स्वर गर्नु नियमविपरीत हो भनेर  । तर, ज्ञानेन्द्र शाही र उनका समर्थकलाई त्यसको प्रवाह थिएन ।

उनीहरुको हर्कत देख्दा लाग्थ्यो, यो जहाज नभएर कुनै विवाहको गाडी हो, जहाँ जाँड खाएका यात्रुहरु होहल्ला गर्दैछन् । मन्त्री सिटमा बसिसकेपछि पनि ज्ञानेन्द्र शाही र उनका समर्थकले होहल्ला गर्न छाडेनन् । उनीहरु मन्त्री बसेको छेउमै पुगेर थर्काउँदै थिए । ज्ञानेन्द्रले मन्त्रीलाई प्रश्न गर्दै थिए, ‘मन्त्रीज्यू, यतिबेलासम्म कहाँ हुनुहुन्थ्यो ? एक–एक घण्टासम्म प्लेन रोकाउने ? कहाँ मोजमस्ती गर्दै हुनुहुन्थ्यो ? लाज लाग्दैन ?’

जहाजभित्र बसिसकेपछि पनि ज्ञानेन्द्र र उनका समर्थकले ५ मिनेटसम्म होहल्ला गरिरहे । मन्त्री भट्टराई चुप लागेर बस्नुभयो । त्यसपछि ७ बजेर ४ मिनेटमा जहाज नेपालगञ्जबाट काठमाण्डौका लागि उड्यो ।

जहाजले जमिन छोडिसक्दा पनि हल्ला कम भएको थिएन । त्यसरी चर्को स्वरमा जहाजभित्र बोल्न नपाउने नियम छ । तर ज्ञानेन्द्र शाही र उनका समर्थकले नियमको वास्तै गरेनन् ।

जहाज सकुशल काठमाण्डौ विमानस्थलमा अवतरण भयो । मन्त्री आफ्नो गाडीमा क्वाटरतर्फ हिँड्नुभयो, यात्रुहरु आ–आफ्नो घरतर्फ लागे । 

कामको सिलसिलामा यसरी जहाजको यात्रा भैरहन्छ । तर यसपटक भने यात्रा ऐतिहासिक र भयपूर्ण बन्यो । जहाजभित्र होहल्ला हुँदा पाइलटको मानसिकता कस्तो भइरहेको थियो होला, म सोच्दै थिएँ, जहाजभित्र । उडानको नियम अनुसार पाइलट तनावबाट पूर्ण मुक्त र स्वस्थ हुनुपर्छ । तर जहाज उड्नु र उडिसकेपछि भएका क्रियाकलापले पाइलटलाई निकै तनाव भएको थियो होला ।

मन्त्री भट्टराईले जहाज आफ्नो लागि कुराउनु गलत थियो नै । कारण जेसुकै भए पनि सर्वसाधारणका लागि त्यसले महत्व राख्दैन । सबैका आ–आफ्नै बाध्यता र समस्याहरु हुन्छन् ।

अर्को कुरा, विमानस्थल र जहाज जस्तो संवेदनशील ठाउँमा मन्त्रीसँग त्यसरी प्रस्तुत हुनु, अपशब्द बोल्नु, होहल्ला गर्नु त आपत्तिजनक र गैरकानुनी कुरा हो । 

पछिल्ला केही घटनाक्रम र सामाजिक सञ्जालको गलत प्रयोग हेर्दा लाग्छ, नेपालमा लोकतन्त्र र वाक स्वतन्त्रता अलि बढी नै भयो । नैतिकता, इज्जत, सम्मान र कर्तव्यको मूल्य यति सस्तो किन भएको होला ? 

उज्यालोबाट

प्रकाशित मिति : भाद्र ३०, २०७६ सोमबार  १० : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]