आश्विन १९, २०७९ बुधबार

लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न हुँदैन : अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न नहुने बताउनु भएको छ ।

संविधान दिवसका अवसरमा एमालेले आज यहाँ आयोजना गरेको पदयात्रा (वाकथन) मा उहाँले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देश, जनता, लोकतन्त्र, संविधान, भ्रष्टाचार विरोधी अभियान, सुशासनको प्रयास र विकासको अभियानलाई हार्न नदिने बताउनुभयो ।

उहाँले संविधान जारी गरेपछि सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा असाधारण प्रगति हासिल गरेको बताउनुभयो । उहाँले संविधान दिवसलाई जनताको दिवस मनाउनुपर्ने भन्दै लोकतन्त्र, राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा एमालेले देशलाई अगाडि बढाउने बताउनुभयो ।

सङ्घर्ष र बलिदानबाट लामो यात्रा पार गरेर संविधान कार्यान्वयन भइरहेको उल्लेख गर्दै नेपालमा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास गरिएको आरोप लगाउनुभयो । “नेपालमा साम्प्रदायिक विद्वेष भड्काउने प्रयास भए । नेपाललाई द्वन्द्वमा फसाउने कुचेष्टा, लोकतान्त्रिक बाटोमा जान नदिने चेष्टालाई हामीले पराजित गरेर देशलाई लोकतन्त्रको बाटोमा अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले नेपाल अरु कसैले चलाउने होइन नेपाली जनताले चलाउने हो भन्नुभयो । “नेपाल, हामी नेपालीको हो भन्ने भावनाका साथ हामी अगाडि बढेका छौँ”, उहाँले भन्नुभयो ।

सो पदयात्रा बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट निस्केको थियो । पदयात्रामा एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत शीर्षनेताको सहभागी रहेको थियो ।

प्रकाशित मिति : आश्विन १, २०७९ शनिबार  ५ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास