बैशाख १२, २०८१ बुधबार

नागरिकता विधेयक अनागरिकलाई नागरिक बनाउने सत्ताको खेल : पालुङवा

झापा । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले नागरिकता विधेयक अनागरिकलाई नागरिक बनाउने सत्ताधारी खेल भएको आरोप लगाएका छन् ।

उनले पछिल्लो समयमा नेपाली राजनीतिमा मुख्य विषय बन्दै आएको नागरिकता विधेयक चुनावी एजेन्डा मात्र भएको बताउँदै क्षणिक स्वार्थ र सत्तालोभका कारण ठूला दलहरुले नाटक गरेको बताए ।

‘आफ्ना नागरिकलाई नागरिकताका वितरण गर्नका लागि कुनै विधेयक आवश्यक छैन’ अध्यक्ष पालुङ्वाले भने, ‘एउटा नेपाली नागरिकले नागरिकता पाउनुपर्छ, नागरिकता पाउने उसको अधिकार हो, कानुन अनुसार नागरिकता दिए भइगयो नि !’
इलाम बजारमा बिहीबार आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष पालुङ्वाले अभाव, प्रभाव र दबाबमा विदेशीएका नेपाली नागरिकलाई चाहिं गैर आवासीय नेपाली भनेर पन्छ्याउने र अनागरिकलाई नागरिक बनाउने खेलमा नलाग्न ठूला दललाई चेतावनी दिए ।

उनले विभिन्न कारणले विदेशीका नेपालीहरुप्रति ठूला दलहरु उदासीन रहेको बताउँदै नोट चल्ने भोट नचल्ने प्रवृत्तिमा रहेको बताए । सभामा बोल्दै अध्यक्ष पालुङ्वाले विदेशमा रहेका नेपालीहरुको नागरिकता निरन्तरता पाउनुपर्ने जनमुक्तिको माग रहेको बताए ।

त्यस्तै देश हाँक्ने राजनीतिक दलका नेताहरु चरम भ्रष्टाचारमा फस्दै गएका कारण मुलुक गम्भीर समस्यामा फस्दै गएको बताएका छन् । अध्यक्ष पालुङ्वाले अहिलेका दलहरुले यो संकटबाट देशलाई निकास दिन नसक्ने बताउँदै राष्ट्रिय जनमुक्ति पार्टी चुनावी सभा मार्फत जनतालाई सजग गर्न इलाम प्रवेश गरेको बताए ।

उनले इतिहास रच्न सफल इलामको चिया कमिशनतन्त्रबाट गाँजीएको बताउँदै अधिकांश फ्याक्ट्री भारतीय नागरिकलाई सुम्पिसकेको बताए । उनले त्यहाँ काम गर्ने मजदुरहरुको समस्यामा ठूला दलको ध्यान नगएको पनि बताए । अध्यक्ष पालुङ्वाले क्षणिक लाभ र स्वार्थको प्रलोभनमा ठूला दलहरुले एमसीसी जस्ता राष्ट्रघाती विषयलाई समर्थन गरेर नेपाल भूराजनीतिक थलो बनाउन लागेको आरोप लगाउँदै त्यसको विरोध जनमुक्तिले गर्ने बताए ।

आगामी मंसिर ४ मा हुने निर्वाचनमा पालुङवाले इलामको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि पूर्व सभामुख एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङसँग प्रतिस्पर्धा गर्ने जनाइसकेका छन् । उनले अबको निर्वाचनमा देश र जिल्लाको अवस्था हेरेर मतदान गर्न आग्रह गरे ।

सभामा पार्टीका उपाध्यक्षविधु प्रकाश कायस्थले विदेशी ऋणको भारले मूलुक श्रीलंका पथमा जान लागेको टिप्पणी गरे । उनले यसअघिदलहरुले जनमतको सम्मान गर्न नसकेकाले यो अवस्था आएको बताए । उनले देश बचाउन संविधानको रक्षा गर्न अबको निर्वाचनमा सोंचेर मात्र मतदान गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा उपमहासचिव विष्णु थाङ्देन, केन्द्रीय सचिव गजेन्द्र आङ्बोहाङ, संघीय सदस्य तथा महिला नेतृ मीना पन्धाकलगायतले जनमुक्तिको मुद्दा नेपाली माटो सुहाउँदो भएको हुँदा नेपाली जनतालाई मुक्ति दिलाउनको लागि बलियो अस्त्रभएको बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य लोक आङ्ला, प्रदेश अध्यक्ष पर्शुराम मगर, माङ्सेबुङ वडा नं. ५ का अध्यक्ष नगेन्द्र राई लगायत नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

टुडिखेलबाट सुरु भएको र्यालीमा एमसीसी खारेज गर, भ्रष्टाचारी दलहरु होसियार जस्ता नारा लगाएर लाकुरी चोकमा सभाको आयोजना गरिएको थियो भने सभामा विभिन्न राजनीतिक दल परित्याग गरि ४० भन्दाबढी कार्यकर्ता जनमुक्तिमा प्रवेश गरेको पार्टीका युवा नेता राजखम्बूले बताए ।

प्रकाशित मिति : आश्विन ८, २०७९ शनिबार  ७ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]