सन्दर्भ संविधान दिवस : हिन्दु राष्ट्र र राप्रपाको भ्रम

गणेश पोखरेल

जनताले जनताका लागि बनाएको संविधान कार्यान्वयनको खुशीयालीमा असोज ३ गते मुलुकभर भव्यताका साथ संविधान दिवस मनाइँदै छ । संविधान नेपाली जनताको सहमतिको दस्तावेज बनेको छ । सबै पक्षका सबै माग संविधानमा समेटिन सम्भव थिएन, छैन र कहीँ हुँदैन पनि । नेपालको संविधानसभामा हिजोको व्यवस्थाको प्रतिनिधित्व गर्नेदेखि आमुल परिवर्तनका पक्षधरसम्म सबै भएका कारण सबैका सब विषय सम्वोधन हुने कुरा भएन । यो सत्य हो । तर, त्यो विविधताका वावजुत जुन संविधान लागु भएको छ । त्यसको सफल कार्यान्वयन उत्तिकै चुनौतीपूर्ण हुँदाहुँदै पनि नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको सुझवुझपूर्ण नेतृत्व र पहकदमीबाट यो सम्भव भएको हो ।

यसका लागि संविधान दिवसको पूर्वसन्ध्यामा ओली, प्रचण्ड र कोइरालालाई नेपाली नागरिक हुनुको नाताले हार्दिक अभिनन्दन गर्नै पर्दछ । उहाँहरुको नेतृत्वका पछाडि संविधान निर्माणको सवालमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, अग्नि खरेल, कृष्णप्रसाद सिटौला र रमेश लेखकहरु उत्तिकै सम्मानको योग्य हुनुहुन्छ । यो संविधान दिवसको अवसरमा ज्ञातअज्ञात सबै सहिद, अपाङ र वेपत्ताहरुप्रति हार्दिक सलाम ।
संविधान निर्माण भएपछि एउटा विषयमा नेपाली नागरिकमा थोरै भ्रम पनि रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएको हिन्दु राज्यको सवालले केही नेपाली नागरिकलाई भ्रम पैदा भएको छ । आजको प्रसंगमा त्यसैबारेमा थोरै चर्चा गर्ने जमर्को गरेको छु ।

८० प्रतिशत नागरिक हिन्दुधर्म मान्ने रहेको देशमा धर्म निरपेक्षता भयो, धर्म सापेक्ष हुनुपर्छ र त्यसका लागि जनमत संग्रह गरिनु पर्छ भन्ने राप्रपाको माग छ । तत्कालिन राप्रपा नेपालले यो नाराबाट दोस्रो संविधानसभामा राम्रै संख्यामा समानुपातिक सभाषद संविधानसभामा पठायो पनि । तर, उसको नारा केवल नाराका लागि थियो, त्यसैले मुलुक धर्मनिरपेक्ष भयो । अहिले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यही नारालाई जोडतोडले उठाइरहेको अवस्था छ । तर, संसदीय निर्वाचनसम्म आइपुग्दा नेपाली नागरिकले यथार्थ बुझ्न थालेकाले दोस्रो संविधानसभामा प्राप्त गरेको मतलाई राप्रपाले रक्षा गर्न सकेन । राप्रपाले समानुपातिकमा थे्रसहोल्ड कटाउन सकेन । झापाली कम्युनिष्ट कार्यकर्ताको पार्टी निर्णयमा चित्त नबुझे पनि निर्णय कार्यान्वयमा लाग्ने स्कुुुुलिङका कारण झापाली माननीय राजेन्द्र लिङदेनले बेलाबेला संसदमा ‘भ्रष्टाचार गर्नु र आमाको रगत खानु उस्तै हो’ भनेर बोल्ने मौका पाउनु भएको छ । यसका लागि राप्रपाले झापाली कम्युनिष्ट कार्यकर्ताप्रति कृतज्ञता जनाउनै पर्छ ।

 संविधान वेद होइन, जो परिवर्तन गर्न नसकियोस् । प्रतिप्रर्धाबाट श्रेष्ठता हाँसिल गरेर जहिले पनि परिवर्तन गर्न सकिन्छ । संविधान मान्दै मान्दैनौं भन्ने राष्ट्रिय जनता पार्टीदेखि राजा र हिन्दु राज्य चाहियो भन्ने राप्रपाहरु पनि यही संविधान अनुसार संसदमा उपस्थित छन् । त्यसैले यो संविधान सर्वस्वीकार्य हो । केही तलमाथि भएका विषय थपघट गर्न कुनै आइतबार पर्खिनु पर्दैन, त्यसैले यो संविधानको विपक्षमा कोही नेपाली लाग्नुपर्छ भन्ने मैले ठानेको छैन ।
पहिले माधवकुमार नेपालले नेकपा एमालेको नेतृत्व गर्दा ‘नेकपा एमाले, न पोथी न भाले’ भनेर मिडियामा धेरैले लेखेको हेरेर कम्युनिष्ट कार्यकर्तालाई असिम पीडा हुन्थ्यो । कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको अध्यक्ष भएर पार्टी सम्हालेपछि नेकपा एमाले भाले भयो ।

र, ‘हामी नदीका दुई किनारा, हाम्रो मिलन कहाँ सम्भव छ र’ भन्ने गीत जसरी नै अगाडि बढेका तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र जस्ता दुई ठुला कम्युनिष्ट पार्टी एक भएका छन् । यो एकताले सच्चा कम्युनिष्ट कार्यकर्ता बाहेक सबैलाई टाउको दुखाई भएको छ । अध्यक्ष कमरेड प्रचण्डको भाषामा भन्ने हो भने २०२८ सालदेखिको कम्युनिष्ट कार्यकर्ताको आकांक्षा पूरा भएको छ । यो अवस्थामा कम्युनिष्ट कार्यकर्ताको जिम्मेवारी यो संविधानलाई सफलतापूर्वक कार्यान्वयन गरी समाजवाद हुँदै साम्यवादतर्फ जानु नै हो । तर, कम्युनिष्ट कार्यकर्ता पनि अहिले सिद्धान्त र आदर्शलाई एकातिर थन्क्याएर नेता नारायण काजीको भनाई उद्धृत गर्दा ‘पैसा, पावर र पोजिसन’का पछाडि कुदेका छन् । त्यसलाई निस्तेज गर्न जरुरी छ ।

सानो टोल कमिटीको अध्यक्षदेखि केन्द्रीय कमिटीको सदस्यसम्म राज्यले बनाएको योजनामा भागबण्डा खोज्दै दगुरेका छन् । सानो संख्याका लोभीपापी सक्रिय बन्दा ठुलो संख्याका आदर्श कार्यकर्तालाई पीडा बोध भएको छ । त्यसबाट मुक्तिका लागि नेकपाले पार्टीभित्र नै सुद्धिकरण चलाउन आवश्यक छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले खाइखेली गरेको गाउँ झापा विर्तामोड नगरको गरामनीको गोलधापमा भुटानी शरणार्थी बसेका थिए । उनीहरु तेस्रो देश गएपछि खाली भएको ठाउँमा सहिद नेत्र पार्क बनाउने भनेर पार्टीका नेता कार्यकर्ता जुर्मुराए । काम अगाडि बढ्दै थियो । तर, जमिनको माटो निकालेर इँटा बेचेको खाडीमा माछा हालेर बनाएको पार्क पुग्नेगरी सबैतिरबाट बाटो बनाउन विर्तामोड नगरको करिव १० करोड रुपैयाँ खर्च गरिँदैछ । त्यहाँको आम्दानी एक जना व्यक्तिको हो । गरामनीमा त्यति पैसा लगाएको भए त्यो राज्यको सम्पत्ति बन्थ्यो ।

अहिले निर्वाचित र स्रोतमाथि पहुँच भएका केही जनप्रतिनिधिलाई जनताले दिएको पद ‘अंश र दाइजो’ जस्तो लाग्न थालेको अवस्था छ । कम्युनिष्ट कार्यकर्ता ‘सत्रु’ र प्रशंसक शासक मित्रलाग्न थालेका छन् । क्रिटिकल भएर हेर्नु पर्ने जमात फाइदाका लागि गलत कामको भजनमण्डली हुन थालेको छ । यो अवस्थाको अन्त्य हुन पार्टीको जिल्ला अधिवेशनसम्म पर्खनु पर्ने अवस्था छ । त्यो बेलासम्म अवस्था नघर्कियोस् भनेर शीर्ष तहबाट नै आवश्यक पहल हुन जरुरी छ । प्रशंग हिन्दु धर्मको हो, संविधानमा के लेखेको छ, त्यो राम्रो कि नराम्रो भन्ने जनतालाई खासै मतलव छैन भने पनि हुन्छ । अहिलेका जनप्रतिनिधिको व्यवहारलाई जाँचेर जनताले कम्युनिष्ट पार्टीप्रति आफ्नो धारणा बनाउने हो, त्यसैले सचेत हुन जरुरी छ ।

डाक्टर बाबुराम भट्टराईले हिन्दु धर्मले खुट्टाबाट जन्मिएको भनेर दलितलाई अपमान गर्यो । तपाईंहरु धर्म परिवर्तन गर्नुहोस् भनेर एउटा कार्यक्रममा भन्नु भएछ । हिन्दुको पहिलो र मुल ग्रन्थ वेदमा ‘जन्मना जायते सुद्र, कर्मणा द्वीज उच्च ते, वेद पाठी भवेद विप्र, ब्रम्ह जानानि व्राम्हण’ भनेको छ । डाक्टर भट्टराई जत्तिको विद्वानले पछि तयार गरिएका र धर्मका ठेकेदारहरुले भनेका कुराभन्दा धर्मकै विश्वास गर्ने भए वेदलाई मानेको भए हुन्थ्यो नि । त्यसैले राप्रपाले उठाएको धर्मको कुरा पनि भन्दा के भन्छन् भनेर होइन, राप्रपाका नेता कार्यकर्ता के गर्दैछन् भन्ने कसीबाट जनताले हेर्न थालिसकेका छन् ।

राप्रपाका अध्यक्ष कमल थापा सरकारले धर्म परिवर्तन गरायो भनेर कहिले गाई, कहिले मन्दिरका गजुर र आकृति बोकेर देश दौडाहामा निष्कनुहुन्छ । झापाको विर्तामोड र दमकमा मैले थुप्रै पटक देखेको र सुनेको छु, ती रमाइला र्याली र उहाँका सम्वोधन पनि । मलाई पनि मनमा धर्म निरपेक्षको सट्टा सापेक्ष नै भएको भए पनि के हुन्थ्यो होला र ? भन्ने नलागेको होइन । तर, म झापाको विर्तामोडमा रेडियो भिजन एफएममा काम गर्छु । रेडियोको प्रशारण क्षेत्रमा लिम्वु जातिको बाक्लो बसोबास छ । हरेक विहान ९ वजे लिम्वु भाषाबाट खबर प्रशारण गर्ने व्यवस्था मिलाएको छु । रेडियोमा एक दिन क्रिश्चियन धर्म मान्ने मित्र आएर कार्यक्रम गर्छु समय बेच भन्नुभयो । मैले हिन्दुकोे कार्यक्रम पनि राखेको छैन ।

तपाईंहरुको पनि राख्न सक्तिन भनेँ, उहाँ फर्कनुभयो । राप्रपाको पत्रकार संगठन मिडिया नेपालका केन्द्रीय अध्यक्ष हुनुहुन्छ, झापाली मित्र गोपाल पौडेल । उहाँले स्टार एफएम भन्ने मिडिया चलाउनुहुन्छ । झापाको दमकमा उहाँको स्टार एफएम छ । एकदिन शनिबार विहान ७ वजे दमक पुगेको समयमा उहाँको एफएममा क्रिश्चियन धर्मको प्रचार हुँदै गरेको सुनेँ । झापा मुलुकमै सबैभन्दा धेरै राप्रपाका जनप्रतिनिधि भएको जिल्ला, पार्टीको पत्रकार संगठनका केन्द्रीय अध्यक्षको लागानीमा चलेको मिडिया अनि कार्यक्रम चाहिँ क्रिश्चियनको धर्म प्रचार । यस्तो देखेपछि मलाई लागेको छ, हात्तीको जस्तै देखाउने र चपाउने दाँत बेग्लै भनेको यही होला । भन्न त मैले साथी नै भएकाले गोपालजीलाई यति भनँे ।

राप्रपाका नेताहरु बरमझियाको वाजेको पेडा जस्तै असली राष्ट्रवादी भएको दाबी पनि गर्नुहुन्छ । झापाको विर्तामोड नगरपालिका वडा नम्वर ८ मा अजय कार्कीलाई वडा अध्यक्ष पनि जिताउनुभयो । वडा अध्यक्ष भएपछि अजयजीले गरैनेपालीलाई नागरिकता दिलाएपछि अहिले अदालतले पक्राउ गर्न प्रहरीलाई आदेश दिएको छ । नागरिकता प्रकरणमा संलग्न ५२ जनामध्ये ५ जना पक्राउ परेका छन् । १६ वटा नागरिकता बेच्नेमध्ये अध्यक्ष अजय कार्कीसहित ४७ जना फरार छन् । विऊ पुँजीकै यो हालत छ भने धरै भए के–के हुन्थ्यो होला ? अनि जनताले सांसद राजेन्द्र लिङदेन र अध्यक्ष कमल थापाहरुका कुरा कसरी पत्याउँछन् होला र ? यस्ता प्रकरणमा सत्तारुढ नेकपाका पनि स्थानीय नेता कार्यकर्ता संलग्न छन् उनीहरुलाई नसियत पार्टीले दिनु पर्छ कि पर्दैन ? नागरिकता प्रकरणका नेकपा कार्यकर्ताबारे झापा पार्टी बोल्नु पर्छ कि पर्दैन ? भद्रपुर ९ का नेकपा कार्यकर्ता तथा वडा अध्यक्ष सनिलाल राजवंशीलाई नेकपाले के कार्वाही गर्यो ? जिल्ला नेतृत्वमा विवेक नभएपछि कसको के लाग्दो रहेछ र ? स्थानीय निकायमा भएका नीतिगत भष्ट्राचार हेरेर मुल्यांकन कसले गर्ने ? आज यस्ता सवाल अकरिलो बनेका छन् ।

जनताले त मसिनो गरी मुल्यांकन गर्छन् । जनताले भन्ने ठाउँ त पाँच वर्षपछि मतपत्र नै हो । यो सबैका हकमा लागु हुन्छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताका हकमा नलाग्ने होइन । यो संविधान दिवसमा आफ्नो भनाई र गराईमा तादम्यता मिलाउने बुद्धि सबैमा आउन जरुरी छ । संविधानमा खतरा संविधानका यो–यो विषय मान्दैनौं भन्नेहरुबाट छैन । संविधान नमान्नेहरु सबै आदर्शबाट होइन, स्वार्थको पोकोपुन्तुरो बोकेर हिँडेका छन् । थोरै व्यक्तिगत लाभ भए सबै त्याग्न तयार छन् । फाइदाका लागि नागरिकलाई केही क्षण स्वार्थ लुकाएर भ्रममा पार्न सक्छन् । तर, असली चरित्र त बाहिर आइहाल्छ नि । केवल पर्खन सक्नु पर्छ । बोकेको कुकुरले कहाँ मिर्ग मारेको छ र ?

प्रतिक्रिया दिनुहोस्

इजलास डट.कम

बिर्तामोड,झापा
सूचना तथा प्रशारण विभाग दर्ता नं.
टाइम्स मिडिया नेटवर्क प्रा लि